+
+

एमालेले ल्यायो ०८४ मा पहिलो पार्टी बन्ने रोडम्याप

अब ल्याइने पार्टी कार्यक्रमको उद्देश्य आगामी चुनाव ०८४ बाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउनु रहेको प्रस्तावमा भनिएको छ ।

सइन्द्र राई सइन्द्र राई
२०८१ भदौ १८ गते २०:४०

१८ भदौ, काठमाडौं । आगामी चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएर दुई चरणको अभियान सकेको नेकपा एमालेले तेस्रो चरणको कार्यक्रममाथि छलफल थालेको छ ।

केन्द्रीय कार्यालय र सचिवालयबाट पारित भएर तेस्रो चरणको प्रस्तावित कार्यक्रम पोलिटब्यूरोमा पुगेको छ । महासचिव शंकर पोखरेलले मंगलबार केन्द्रीय मूख्यालय च्यासलमा सुरु भएको पोलिटब्यूरो बैठकमा ३३ पृष्ठ लामो वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणः वार्षिक कार्ययोजना’ शीर्षकको उक्त प्रस्ताव ‘मिसन ग्रासरुट’ र ‘मध्य पहाडी संकल्प यात्रा’को अनुभवका आधारमा ल्याइएको उल्लेख गरिएको छ । अब ल्याइने पार्टी कार्यक्रमको उद्देश्य आगामी चुनाव ०८४ बाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउनु रहेको प्रस्तावमा भनिएको छ ।

बुधबार पनि चल्ने पोलिट्ब्यूरो बैठकमा मंगलबार प्रस्तावित कार्यक्रमलाई बुँदागत र विषयगत रुपमा समेटिएको छ ।

१० लाख सदस्यता

आगामी वर्ष २०८२ भित्रै दश लाख पार्टी सदस्य बनाउने लक्ष्य पहिलो प्रस्तावमा छ । दशौं राष्ट्रिय महाधिवेशनपछि जोड दिएर सञ्चालन भइरहेको सदस्यता नवीकरण र नयाँ वितरण अभियानलाई दश लाख बनाउने लक्ष्य लिइएको छ ।

वडामा कुल मतदाताको ३ प्रतिशत र पालिका तथा जिल्लामा कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउँदा १० लाखको योजना पूरा हुने एमालेको योजना छ ।

तर त्यसरी सदस्यता वितरण गरिरहँदा ३३ प्रतिशत महिलाको लक्ष्य पूरा गर्नेदेखि नयाँ सदस्यलाई पार्टीको विचारबाट प्रशिक्षित गरिने कार्यक्रम पनि समावेश गरिएको छ ।

नियमित अधिवेशन

पार्टी बलियो बनाउन पारदर्शी विधिबाट नियमित अधिवेशनमा जोड दिइनुपर्ने प्रस्ताव गरिएको छ । गत वर्षभर ११ वटा बाहेक सबै जिल्लाका अधिवेशन गरेको एमालेले अब गरिने अधिवेशनहरुबारे व्यवस्थित कार्यविधि प्रस्ताव गरेको छ ।

नियमित अधिवेशन गर्दा सकेसम्म सर्वसहमत र नभए निष्पक्ष निर्वाचनबाट नेतृत्व चयन गर्न जोड दिइएको छ ।

भूमिकाविहीनलाई जिम्मेवारी

नियमित अधिवेशन गर्दा नेतृत्वबाट बाहिरिनेहरुलाई आवश्यक जिम्मेवारीको प्रबन्ध गर्नुपर्ने अर्को प्रस्ताव छ ।

‘अधिवेशनबाट बाहिरिएका, विदा भएका र अन्य पार्टीबाट आएकाहरुो व्यवस्थापनका सन्दर्भमा देखिने गरेको उदासिनताले एकप्रकारको अन्यौल छ’, प्रस्तावमा भनिएको छ, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्नका लागि राजनीतिक ध्रुबीकरणलाई अभियानका रुपमा अघि बढाउन प्रवेश गर्नेहरुको व्यवस्थापनमा जोड दिनुपर्छ ।’

पोलिटब्यूरोमा पेश भएको प्रस्तावमा भूमिकाविहीनहरुलाई जिम्मेवारी दिनेबारे बुँदागत सुझावहरु उल्लेख गरिएको छ ।

पदाधिकारीको पनि मूल्याकंन

महासचिव पोखरेलले पार्टी कामको मूल्याकंनलाई नियमित र व्यवस्थित गरिनुपर्ने प्रस्ताव गरेका छन् । नेताहरु र संगठनको मूल्यांकनले मात्र उद्देश्य पूरा गर्न सक्ने पार्टी बन्ने तर्क गरिएको छ ।

जसका लागि हरेक कमिटीका नेताहरुको मूल्याकंन माथिल्लो कमिटीबाट गरिनुपर्ने प्रस्ताव छ । त्यसरी मूल्यांकन गर्दा केन्द्रीय पदाधिकारीको समेत मूल्याकंन हुने उल्लेख छ ।

‘केन्द्रीय कमिटीको हकमा केन्द्रीय सदस्यको कामको मूल्याकंन महासचिवले गर्ने र पार्टी अध्यक्षलाई बुझाउने । केन्द्रीय पदाधिकारीको कामको मूल्याकंन पार्टी अध्यक्षले गर्ने विधिलाई स्थापित गर्ने’, प्रस्तावमा भनिएको छ ।

संस्थागत निर्णय

विधिसम्मत रुपमा पार्टी कमिटीको परिचालन र अन्तरविरोधहरुको हल गर्न संस्थागत निर्णयको संस्कृति निर्माण गर्न प्रस्ताव गरिएको छ ।

सचिवालय वा कमिटीको पूर्ण बैठकबाट संस्थागत निर्णय गर्ने पद्दतिले पार्टीभित्र देखिने अन्तरविरोध हल हुने विश्वास लिइएको छ । संस्थागत निर्णय कसरी लिने भन्नेबारे पनि लामै विकल्पहरु प्रस्ताव गरिएको छ ।

प्रशिक्षित कार्यकर्ता

पार्टीको विचारबाट प्रशिक्षित पंक्ति निर्माण गर्न स्थायी रुपमै चल्ने पार्टी स्कूलको प्रस्ताव गरिएको छ । पार्टीको सदस्यहरु र नवप्रवेशीलाई प्रशिक्षित गर्न तहगत रुपमा स्थायी स्कूलको योजना अगाडि बढाउने प्रस्ताव गरिएको छ ।

जसका लागि तहगत रुपमै पाठ्यक्रम तयार पार्ने र प्रशिक्षकहरु उत्पादन गरी परिचालनको प्रस्ताव अगाडि बढाइएको छ ।

सरकार र जनप्रतिनिधिको परिचालन

मिसन–०८४ को अभियान सफल पार्न एमालेले सरकारमा गएका मन्त्रीहरु र स्थानीय तहका जनप्रतिनिधिहरुको प्रभावकारी परिचालनको प्रस्ताव ल्याएको छ ।

संघमा आफ्नै पार्टी नेतृत्वको सरकारले गरेको कामको प्रचार गर्ने, मन्त्रीहरुलाई जनपक्षीय काम गर्न सहयोग गर्ने र जनप्रतिनिधिहरुलाई पनि प्रभावकारी परिचालनको प्रस्ताव गरिएको छ ।

चुस्त कार्यालय, प्रभावकारी प्रचार

पार्टी कार्यालय र पार्टी कामको प्रचारबारे अलगअलग शीर्षकमा व्यवस्थापनको कार्यक्रम प्रस्ताव गरिएको छ । पार्टी कार्यालय व्यवस्थापनबारे बुँदागत रुपमै सुझावहरु प्रस्तुत गरिएको छ ।

चुस्त कार्यालय हुँदा पार्टीले गरेको कामको प्रचारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रचारबारे पनि व्यवस्थित हुने बुँदाहरु उल्लेख छ ।

नयाँ कामको क्षेत्र खोजी

धेरै भन्दा धेरै मानिससम्म पार्टीलाई पुर्याउने नयाँ कामको क्षेत्र खोजी गर्ने महासचिव पोखरेलको प्रस्ताव छ । जसका लागि एमालेले ‘जहाँ नेपाली, त्यहाँ नेकपा (एमाले)’ को नारा तय गरेको छ ।

बलियो कोष, प्रभावकारी परिचालन

पार्टी संगठन परिचालन अन्तर्गत कोषलाई बलियो बनाउने र प्रभावकारी तरिकाले परिचालन गरिनुपर्ने प्रस्ताव गरिएको छ ।

सदस्यहरुबाट उठ्ने लेबी र सम्भावित आय स्रोतका आधारमा खर्चको कार्यक्रम तयार पार्नुपर्ने सुझाव दिइएको छ । तर त्यस्तो नहुँदा कतिपय कमिटी ऋणमा डुबेको सन्दर्भ उल्लेख गरिएको छ ।

सरल जीवन, उच्च नैतिकता

जनताको विश्वास जित्नका निम्ति पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली, आचरण र व्यवहार महत्वपूर्ण हुने उल्लेख छ ।

जसका निम्ति ‘पार्टी जीवनको शुद्धीकरण’ शीर्षकमा एमालेले सरल र नैतिक नेता–कार्यकर्ता बन्न/बनाउन लाग्नुपर्ने प्रस्ताव गरिएको छ ।

‘जनताले उचित नठान्ने काम कारबाहीबाट हामीहरु जोगिनुपर्छ । .. आफूलाई अरु भन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखा परेको छ’, प्रस्तावमा भनिएको छ, ‘आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किदै छन् ।’

सरल जीवनशैलीलाई बढावा दिने र आर्थिक तथा यौन आचरणका विषयमा कारबाही गरिनुपर्ने प्रस्ताव छ ।

प्राथमिकतामा जनहित

१३ नम्बर बुँदामा एमालेले बोक्नुपर्ने एजेण्डाहरु राखिएका छन् । राजनीतिक क्रान्तिको नेतृत्व एमालेले गरेकाले अब सामाजिक–आर्थिक क्रान्तिको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने प्रस्तावमा छ ।

‘हिजो व्यवस्था परिवर्तनका निम्ति अनुकूल, व्यवस्थाविरोधी आन्दोलनमा नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गर्न सक्ने पार्टी चाहिन्थ्यो’, प्रस्तावमा भनिएको छ, ‘आज जनता र राष्ट्रको हित र कल्याणको पक्षमा खरो ढंगले उत्रिने पार्टी चाहिएको छ । जनसरोकारका काममा केन्द्रीत हुने, सबै प्रकारका विभेद र असमानताको अन्त्य र सामाजिक न्याय एवं समानताको पक्षमा निर्णायक योगदान गर्ने पार्टी चाहिएको छ ।’

यो प्रस्तावमा सामाजिक न्यायका कार्यक्रम समेटिएका छन् ।

प्राथमिकताका ५ क्षेत्र

केन्द्रीय कमिटीको बैठकपछि पारित गर्नेगरी प्रस्ताव गरिएको पार्टी कार्यक्रमको मूल विषय भने १४ नम्बर बुँदामा उल्लेख छ ।

‘बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण’ शीर्षकमा पार्टीले जोड दिनुपर्ने पाँच क्षेत्रबारे चर्चा गरिएको छ । जसमा नेतृत्व विकास योजना, स्थानीय तहसम्म जनसंगठन सुदृढीकरण र विस्तार, नयाँ पुस्तामा पार्टी काम, जनसम्बन्ध विस्तारको काम र प्रवासको पार्टी कामको विस्तार छन् ।

कार्यालय भवनको निर्माण

प्रस्तावको अन्त्यतिर केन्द्रीय कार्यालय भवन निर्माणको प्रस्ताव छ । हरेक सदस्यबाट १०० रुपैयाँ संकलन अभियान चलिरहेको र थप अभियानमार्फत आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने योजना ल्याइएको छ ।

यसबाहेक ७५ औं हिरक महोत्सवका बाँकी कामहरु पूरा गर्ने, पार्टी कामको नियमित रिपोर्टिङ लगायत प्रस्ताव पोलिटब्यूरो बैठकमा राखिएको छ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?