१८ चैत, काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङबाट ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार विसं २०७० देखि २०८२ फागुन मसान्तसम्म देशभर तीन हजार ३८६ वटा चट्याङका घटना दर्ता भएका छन् । जसमा कुल एक हजार ७३ जनाको ज्यान गएको छ । तीमध्ये ४६० पुरुष, ३०३ महिला र ३१२ जनाको पहिचान खुल्न सकेको छैन ।
चट्याङबाट तीन हजार ४०८ जना घाइते भएका छन् । तीमध्ये एक हजार ३१७ पुरुष, एक हजार ६३३ महिला छन् । चार हजार २९४ परिवार चट्याङका कारण प्रभावित बनेका केन्द्रले जनाएको छ । साथै एक सय चार घरमा पूर्ण र तीन सय ९० घरमा आंशिक रूपमा क्षति पुगेको छ ।
पूर्वाधारतर्फ ११४ गोठमा क्षति पुगेको छ भने चार हजार ८४९ वटा पशुचौपायामा क्षति पुगेको छ । केन्द्रका अनुसार चट्याङका घटनाबाट कुल ११ करोड ८२ लाख १८ हजार २६० बराबरको अनुमानित आर्थिक क्षति भएको वरिष्ठ हाइड्रोलोजिस्ट शर्माले जानकारी दिए ।
यो अवधिमा मकवानपुरमा सबैभन्दा बढी १८२ वटा चट्याङका घटना दर्ता भएका छन् । जहाँ ४१ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । साथै तीन सय परिवार प्रभावित भएका छन् ।
झापामा ११३ घटना, उदयपुरमा १०४, दैलेखमा १०५ र मोरङमा ९५ वटा घटना दर्ता भएका छन् । मानवीय क्षतिको हिसाबले मकवानपुरमा सबैभन्दा बढी ७५, मोरङमा ४२ र उदयपुरमा ३९ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
पूर्वी पहाडी जिल्लामा पनि चट्याङको प्रभाव उल्लेखनीय देखिएको केन्द्रको भनाइ छ । खोटाङमा ९२, सङ्खुवासभामा ८६, र ओखलढुङ्गामा ७६ वटा घटना दर्ता भएका छन् । यसले यी क्षेत्रमा चट्याङको निरन्तर जोखिम देखाएको छ ।
मधेस प्रदेशअन्तर्गत सप्तरी, सिराहा, धनुषा, पर्सालगायत जिल्लामा दर्जनौँको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ ।
पश्चिम नेपालतर्फ रोल्पामा ९१, गुल्मीमा ७२, प्युठानमा ७२ र अछाममा ७३ वटा घटना दर्ता भइका छन् । आर्थिक क्षतिमा झापामा सबैभन्दा बढी करिब रु एक करोड सात लाखबराबरको क्षति भएको छ भने खोटाङ, उदयपुर र सङ्खुवासभामा पनि बढी नोक्सानी भएको छ ।
यसैबीच, विज्ञहरूले मनसुन र प्रि–मनसुन अवधिमा चट्याङका घटना बढी हुने भएकाले सचेतना अभिवृद्धि र सुरक्षात्मक उपाय अपनाउन आवश्यकमा जोड दिएका छन् ।
वार्षिक औसत ६७ जनाको मृत्यु
पछिल्ला तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा चट्याङबाट वार्षिक औसत रूपमा ६७ जनाको मृत्यु हुने तथ्यांकले देखाएको छ ।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार २०७७ मा २४८ वटा घटना हुँदा ७० जनाको मृत्यु र २४८ जना घाइते भएका थिए । विसं २०७८ मा घटनाको सङ्ख्या २०३ झरेकामा ती घटनामा ५६ जनाको मृत्यु र १७९ जना घाइते भएका थिए ।
वरिष्ठ हाइड्रोलोजिष्ट शर्माका अनुसार विसं २०७९ मा २९० घटना दर्ता हुँदा ८४ जनाको मृत्यु, २३८ जना घाइते, विसं २०८० मा २४७ घटनामा ४४ को मृत्यु र २२८ घाइते, विसं २०८१ मा ४३६ घटना हुँदा वर्ष ७९ जनाको मृत्यु र ३२२ जना घाइते भएका छन् ।
विसं २०८२ को वैशाखदेखि चैत्र १४ गतेसम्मको अवधिमा ४१६ घटना हुँदा ४७ को मृत्यु र ३०७ जना घाइते भएका उनले जानकारी दिए ।
के हो चट्याङ ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकका अनुसार चट्याङ बादलदेखि जमिनमा बग्ने ठूलो मात्राको विद्युतीय करेन्ट हो ।
फरक उचाइमा रहेका र विपरीत चार्ज रहेका बादलहरू नजिक पुगेर एक्कासी विद्युत् प्रवाह हुँदा ठूलो मात्रामा शक्ति उत्पन्न हुँदा चर्को आवाज र आगोसहितको विद्युतीय तरङ्ग पृथ्वीको सतहमा आउँदा चट्याङको जोखिम हुन्छ । बस्ती, वन बुट्यान र भौगोलिक परिवेशले चट्याङका घटना र विपद् जोखिम निर्धारण गर्दछन् तापनि मूलत: यो एक दुर्घटना हो । चट्याङका कारण विशेषगरी खुला क्षेत्रमा काम गर्ने किसान, मजदुर र पशुपालकको ज्यान जाने गरेको छ ।
अग्ला भवन, विद्यालय, अस्पताल, सपिङ मल, विद्युत तथा टेलिफोन लाइनजस्ता भौतिक पूर्वाधार संरचनामा चट्याङ निवारक प्रविधि जडान गरेर जनधनको क्षति कम गर्न सकिन्छ । –रासस
प्रतिक्रिया 4