
२५ भदौ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १० रामनगरमा सडकको बीच भागमा रोपिएका बिरुवा एक व्यक्तिले काटिदिएका छन् । बिरुवा काटेर भागेका उनको खोजी भइरहेको छ ।
वडा अध्यक्ष गौराकुमारी अधिकारीले स्थानीय लीला भुसालले पाँच वटा समीका बिरुवा काटिदिएको बताइन् । उनका अनुसार भुसाल फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने बाचा गरेका छन् ।
‘१०–१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएर झ्याङ्ग परेका थिए । पाँचटा बिरुवा काटेर सोत्तर बनाइदिएका छन्’, वडाध्यक्ष अधिकारीले भनिन् ।
गाई बाँध्न नदिएको झोंकमा काटिदिएको आरोप
वडाध्यक्ष अधिकारीका अनुसार लीला भुसालले सडकको बीच भागका ती रूखमा गाई बाँध्ने गर्दथे । सोमबार दिउँसो नगर प्रहरीले गाईको दाम्लो काटिदिएको थियो । त्यसैको झोंकमा भुसालले सोमबार राति रूख काटिदिएको वडाध्यक्ष अधिकारीले बताइन् ।
‘सीसीटीभी फुटेजमा छोराले रुख काटिरहेको र आमाले घरबाट हेरिरहेको देखिन्छ’ उनले भनिन्, ‘गाई बाँध्न नदिएको रिस पोखेछन् ।’
उनले पाँच वटा रूख काटिएको अवस्थामा रहेको र एउटा आरीले काट्दाकाट्दै छोडेको देखिएको जानकारी दिइन् ।
आज बिहान नगरपालिकाका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी र प्रहरीहरुले रूख काटिएको स्थानको अवलोकन गरेका थिए । ‘रूख काट्ने व्यक्ति भाग्नुभयो । घरमा जाँदा उहाँ हुनुहुन्नथ्यो’ वडाध्यक्ष अधिकारीले भनिन्, ‘उहाँको भाइले दाइलाई उपस्थित गराउने भन्नुभएको छ ।’
प्रतिक्रिया 4