 
																						१५ असोज, काठमाडौं । दशैं लक्षित गरी काटिएका अग्रिम टिकट कायमै रहने भएका छन् । अब नयाँ अग्रिम टिकट भने बाटोको सुनिश्चितता हेरेर मात्र काट्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ ।
मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले धेरै यात्रुले टिकट लिइसकेका कारण अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता साथ गन्तव्य पुर्याउने सुनिश्चितता गर्ने निर्णय गरेको छ ।
थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद् सम्बन्धी सूचना समेत आधार मानेर बाटोको सुनिश्चितता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीलाई बैठकले अनुरोध गरेको छ ।
बैठकले काठमाडौंबाट छुट्ने यात्रुवाहक बसले सार्वजनिक यातायातबाट सेवा दिँदा अहिले जोखिमयुक्त रहेको काठमाडौं–नारायणगढसम्मको सडक खण्डको अवस्था मध्यनजर गर्दै काठमाडौंबाट सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारीसाधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको छ । सुरक्षा निकायले सोही अनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय समेत भएको छ ।
मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथमिक उपचार सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेरमात्र सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गरिएको छ ।
वैकल्पिक मार्ग पहिचान गरी ठूला सवारी चल्ने र साना सवारी चल्ने प्राथिमकताका बाटो छनोट गरी सञ्चालन गर्ने र वैकल्पिक मार्गको जानकारी यातायात व्यवस्था विभागले सार्वजनिक गर्ने निर्णय समेत गरिएको छ ।
अत्यधिक वर्षाका कारण रेडजोनमा परेका सडक खण्ड तथा सडकमा हेभी इक्विपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध समेत गरिएको छ ।
वर्षातका कारण अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले आफूसँग भएका हेभी उपकरण प्रयोग गरी बाटो खुलाउन सहयोग गर्न अनुरोध समेत बैठकले गरेको छ ।
देशभरिको विपद् सम्बन्धी र बाटोको अवस्थाबारे आवश्यक सूचना नेपाल प्रहरीले नियमित रूपमा फेसबुक पेजमा राख्ने निर्णय समेत भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4