 
																			२४ असोज, दोधारा चाँदनी । डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् ।
डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै महेन्द्रनगर पुगेका देव धामीले चाडपर्वको बेलासमेत खसीबोका बिक्री नभएपछि आफूहरू निराश भएको बताए । ‘खसीबोका बिक्रीबाट आएको आम्दानीले चाडपर्व मान्ने र यसैबाट वर्षभरि जीविकोपार्जन हुने गरेको थियो’, उनले भने, ‘महेन्द्रनगर पुगेको दुइदिन भयो यसपटक बिक्री भएको छैन।’
दशैंको बेला हरेक वर्ष खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुग्ने गरे पनि विगतको तुलनामा यस वर्ष अवस्था उत्साहजनक नरहेको धामीको भनाइ छ । ‘हामी सात÷आठ जनाको समूह बनाएर हरेक वर्ष दशैंका बेला खसीबोका लिएर यहाँ आउने गरेका छौँ, हालसम्म राम्रो सङ्केत छैन । हेरौँ बाँकी दिन केही हुन्छ कि!’, उनले अगाडि भने।
जोगबुढाकै गोरे धामीले बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएकामा यसपटक सोचेअनुसार व्यापार नहुँदा निराश बनाएको बताए । ‘आम्दानीको स्रोत भनेकै यहीँ बाख्रापालन हो । चाडपर्वमा पनि बिक्री भएन भने घरखर्च चलाउनै मुस्किल पर्छ’, उनले भने, ‘घरबाट यहाँ पुग्दासम्म खसिबोकाको तौलसमेत घट्छ बिक्री नहुँदा झनै घाटा हुने भो।’ उनले दुई दिन हिँडेर ५० वटा खसीबोका महेन्द्रनगर पुर्याएका थिए ।
जोगबुढाकै दिलिम राम लोहारको समस्या पनि यस्तै छ । महेन्द्रनगर आएको तीन दिनसम्म पनि विगतका जस्तो व्यापार नभएको उनले दुःखेसो पोखे । ‘जोगबुढाबाट समूह बनाएर खसिबोका बिक्रीका लागि महेन्द्रनगर आएका हौँ। यहाँ आएको तीन दिन भइसक्यो दुईवटा मात्रै खसी बिक्री भएका छन्। खै ! बाँकी दिनमा पनि के पो हुने हो !’ उनले चिन्ता व्यक्त गरे ।
धनगढीमा चुरेका खसीबोका
कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाका व्यापारी पनि खसीबोका बिक्रीका लागि धनगढी झरेका छन् । चुरे गाउँपालिका–१ का खसीबोका व्यवसायी जीवन थापा मगरले दशैंका लागि कैलालीको पहाडी क्षेत्र चुरेस्थित साईल र बबैनाबाट खसीबोका बिक्रीका लागि धनगढी ल्याएको बताए ।
हरेक वर्ष दशैंको मौकामा कैलालीको पहाडी क्षेत्रबाट खसीबोका यहाँ ल्याउने गरे पनि यस वर्ष भने पहिलेको तुलानमा कमै मात्र आएको उनले जानकारी दिए । ‘करिब २२ वर्षदेखि चुरेको निगाली, खैराला, काले खोलालगायत स्थानबाट करिब सात सय बढी खसीबोका दशैंका लागि धनगढी ल्याएर बिक्री गरेर फर्किन्थ्यौँ तर यसपटक करिब ६० खसीबोका मात्र यहाँ ल्याएका छौँ, त्यसमा पनि सोचेको जस्तो व्यापार छैन’, थापाले भने, ‘पहिले ग्राहक थेग्न नसक्ने अवस्था हुन्थ्यो, हिजोआज दिनभर कुर्दा पनि मुस्किलले १०/ १२ वटा पनि बिक्री हुन मुस्किल परेको छ।’
हाल तराईका गाउँमा पनि घर–घरमा दुईचार वटा बाख्रा पाल्ने र पहिलेको तुलनामा बलि दिने परम्परामा कमी हुँदै गएकाले आफूहरूको व्यापार राम्रो नभएको कैलालीको चुरेगाउपालिका–५ का दुर्गा अर्खालीको बुझाइ छ ।
स्थानीय अगुवा शेरबहादुर विष्ट पनि परिवारका सदस्य पढाइ, जागीर र वैदेशीक रोजगारीलगायत कारणले सँगै नहुने, पशु हत्या गर्नु हुँदैन भन्ने भावना विकास हुँदै गएकाले खासीबोकाको व्यापारमा कमी भएको हुनसक्ने बताउँछन् ।
आफ्नो घर नजिकैको कालिका मन्दिरमा केही समय पहिले दशैंको अष्ठमी र नवमीका दिनमा हजारभन्दा बढी खसीबोकाको बलि दिने गरेको र पछिल्ला वर्षमा त्यो सङ्ख्या निकै कम हुँदै गएको उनले बताए ।
यहाँ जिउँदो खसीबोका प्रतिकिलोग्राम पाच सय ५० रुपैयाका दरले बिक्री भइरहेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4