२ कात्तिक, कात्तिक, काठमाडौं । दशैंको सार्वजनिक बिदा सकिएको ३ दिन बितिसक्यो, आज चौंथो दिन लागिसक्दा पनि सरकारी कार्यालयहरुमा कर्मचारी र सेवग्राहीको उपस्थिति न्युन छ ।
काठमाडौंका सिंहदरबारसहित विभिन्न स्थानमा रहेका सरकारी कार्यालयहरुका धेरै कर्मचारी अझै काममा फर्किएका छैनन् । दशैंमा काज बिदा लिएर घर हिंडेका कर्मचारीहरु काठमाडौं फर्किन ढिलाइ गर्दा सरकारी कार्यालयहरु सुनसान बन्न पुगेका छन् ।
धेरै कर्मचारीले काज बिदाको भ्रमण आदेश स्वीकृत गरेर हिंड्दा कतिपय कार्यालयमा दैनिक कामकाज र सेवा प्रवाह प्रभावित छ । दशैंको सार्वजनिक बिदा २४ असोजदेखि सुरु भएको थियो भने २८ असोजसम्म मात्रै बिदा कायम थियो ।
आजसम्म पनि बिदामा हिंडेका धेरै कर्मचारीहरु कार्यालयमा हाजिर नहुँदा सरकारी पक्षले अनुगमन गर्न चासो दिएको छैन । सतर्कता केन्द्र समेत यस्तो अनुगमन गर्न रुचि देखाइरहेको छैन ।
विभिन्न मन्त्रालय/आयोग/विभागहरू र प्राधिकरण/सार्वजनिक संस्थानमा दशैंको बिदा सुरु हुनुभन्दा एक हप्ताअघि र बिदा सकिने दिनभन्दा एक हप्तापछि सम्मको काज स्वीकृत गरेर हिंड्ने गरेका छन् ।
यसरी धेरै कर्मचारीले काज स्वीकृत गर्दा सरकारी कार्यालयहरुका कार्यकक्षहरु नै सुनसान देखिन पुगेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । ‘दशैंमा धेरै कर्मचारीले काजका लागि भ्रमण आदेश स्वीकृत गराउने विकृति छ । यसो गर्दा उनीहरुले काज अवधिभर कार्यालयको सवारीसाधन प्रयोग गर्न पाउँछन्, ‘उनले भने, ‘अब आइतबारदेखि सरकारी कार्यालयमा भीडभाड बढ्न सक्छ, कर्मचरीहरु पनि धेरैजसो आइपुग्छन् ।’
काजको क्रममा कर्मचारीको श्रेणीअनुसार भ्रमण भत्ता समेत बुझ्न पाउँछन् । गाडी र विमानबाट यात्रा गर्दा सोको खर्च पनि सरकारी कोषबाटै व्यहोरिने भएकाले पहुँचवाला कर्मचारीहरुले सकेसम्म दशैंमा लामो काज स्वीकृत गराएर हिंड्ने गरेका छन् ।
सचिवको काज मुख्यसचिवले काज स्वीकृत गर्छन् भने सम्बन्धित मन्त्रालय र निकायका सचिव तथा महाशाखा प्रमुख (सहसचिव) तथा अन्य कार्यालयमा कार्यालय प्रमुखबाट भ्रमण आदेश स्वीकृत गराइन्छ ।
विशेषगरी दुर्गम क्षेत्रमा जाने कर्मचारीको लामो समय बाटोमै बित्ने भएकाले उनीहरुलाई यस्तो काज लिनु कर्मचारीतन्त्रमा सामान्य मानिन्छ । तर, अहिले काठमाडौं आसपासका सुगम र तराईका जिल्लाका कर्मचारीहरुले समेत काज सुविधा लिएर हिँड्ने क्रम बढ्दो छ ।
नियमअनुसार भ्रमण आदेश स्वीकृत भएपनि कर्मचारी काममा हुनुपर्ने हो । तर, धेरैले अनुगमन लगायतका नाममा भ्रमण आदेशबाट आफ्नो कार्यालयको कामकाज मात्रै छल्दैनन्, सरकारी ढुकुटी दोहन समेत गर्ने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
पूर्वसचिव विमल वाग्ले दशैं बिदामा घर जाँदा पनि सरकारी खर्चकै प्रयोग गर्न यस्तो काज लिने विकृति झन् मौलाएको बताउँछन् । ‘दशैंमा घर जानु छ, आफ्नो खर्चमा किन जाने भन्ने मानसिकताले यस्तो भएको हो,’ उनी भन्छन्, ‘दशैंका बेला बन्द भएका कार्यालय र र काम नभएका आयोजनाहरुको अनुगमन गर्नुपर्ने हुन्छ र ?’
साँच्चिकै काजकै लागि जाने हो भने पनि त्यसको औचित्य र सयम अनुसारको वितरण मिलेको हुुनपर्ने उनको भनाइ छ । ‘दशैंको समयमै ठ्याक्कै काज पार्दा कर्मचारीलाई अतिरिक्त लाभ छ, सरकारी सवारी र दैनिक भ्रमण भत्ता दुवै पाइन्छ,’ उनी भन्छन्, ‘आफ्नो गाउँघरमा सरकारी गाडी लगेर शानका साथ जान पाइने भएकाले नै दशैंमा काज बढेको हो ।’
विगतमा आफूले पनि यस्तै काजको सुविधा लिएको हुनाले कार्यालय प्रमुखहरुले पनि कर्मचारीले मागेको काज नरोकी धामधम स्वीकृत गर्ने गरेको वाग्लेको भनाइ छ । ‘पहिले पनि यो विकृति नभएको हैन, अलि बढी सतर्क हुन्थे,’ उनी भन्छन्, ‘अहिले त यो सामान्य बन्न पुग्यो ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4