+
+

१५ कात्तिकमा अवकाशमा जाने राणालाई एआईजीमा सिफारिस

सिनियर दुई डीआईजी छुटे

प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । मन्त्रिपरिषद् बैठकले ११ गते नै राणालाई बढुवाको निर्णय गरे पनि उनी जम्मा ४ दिन मात्रै एआईजी हुने पाउनेछिन् । १५ कात्तिकबाट अनिवार्य अवकाश हुने भएकाले उनको १४ कात्तिकमै बिदाइ हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते ११:०४
डीआईजी किरण राणा, बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्द ।

५ कात्तिक, काठमाडौं । १० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले सिनियर दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई पन्छाउँदै आइतबार राणालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

एआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजी) सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले आइतबार सिनियर दुई डीआईजीहरु बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई पछि पार्दै १५ कात्तिकमा अनिवार्य अवकाशमा जान लागेकी राणालाई बढुवाका लागि सिफारिस गरेको हो ।

उनीभन्दा सिनियर गुरुङ अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत छन् भने चन्द गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत छिन् ।

अहिले बढुवाका लागि सिफारिस भएकी राणा भने १५ कात्तिकमा एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन् ।

प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । यसअनुसार १० कात्तिकसम्म राणा बढुवा हुने छैनन् ।

एआईजी बढुवाको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ । मन्त्रिपरिषद् बैठकले ११ गते नै राणालाई बढुवाको निर्णय गरे पनि उनी जम्मा ४ दिन मात्रै एआईजी हुने पाउनेछिन् । १५ कात्तिकबाट अनिवार्य अवकाश हुने भएकाले उनको १४ कात्तिकमै बिदाइ हुनेछ ।

आफू निकटका व्यक्तिहरुलाई खुसी पार्न सरकारले यसअघि १/२ दिनका लागि समेत बढुवा गरेर घर पठाउँदै आएको छ । विशिष्ट श्रेणीको पदमा कोही व्यक्ति खुसी पार्नका लागि बढुवा गर्दा राज्यलाई आर्थिक भार भने पर्दै आएको छ ।

यसअघि २१ असारबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जान लागेका पोषराज पोखरेललाई १० असारमा एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो । त्यतिबेला रवि लामिछाने गृहमन्त्री थिए । यहीबीचमा सरकार परिवर्तन भएपछि सिफारिस भएर पनि पोखरेल एआईजीमा बढुवा भएका थिएनन् । बढुवा हुन नपाएपछि उनी सर्वोच्च अदालत पुगेका थिए । उनको निवेदन सर्वोच्चमा विचाराधीन छ ।

योभन्दा अघि २०७९ जेठमा पनि वसन्तकुमार लामालाई सरकारले दुईदिने एआईजी बनाएको थियो । ७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?