काठमाडौं । यतिबेला चलचित्र विकास बोर्ड नेपाली फिल्मका पटकथाको संग्रहालय स्थापनामा जुटेको छ । स्क्रिप्टलाई डिजिटल आर्काइभिङ गरी संग्रहालयमा राख्न बोर्डले निर्माताबाट पटकथा मागिरहेको छ ।
यसको सुरुवात भएको छ, निर्माता तथा निर्देशक रामबाबु गुरुङको फिल्मबाट । गुरुङका व्यावसायिक रुपमा हिट फिल्म कबड्डी सिरिजको पटकथालाई डिजिटल आर्काइभ गरी संग्रहालयमा राखिने भएको छ ।
हालै दक्षिण कोरियामा आयोजित बुसान फिल्म फेस्टिभलमा निर्माता गुरुङसँग यसबारे सहमति जुटेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए । किरात राई यायोक्खाले त्यहाँ आयोजना गरेको सम्मान कार्यक्रमको सिलसिलामा आफूहरुबीच पटकथालाई डिजिटाइज गराउनेबारे समझदारी भएको डिसीले बताए ।
निर्माता तथा निर्देशक गुरुङले पनि यसबारे बोर्ड अध्यक्षसँग समझदारी भएको बताए । अध्यक्ष डिसीका अनुसार बाँसुरी फिल्म्सका ती फिल्मबाट पटकथा संग्रहालयमा राख्ने कार्यको सुरुवात हुनेछ । ‘यो त सुरुवात मात्र हो । अन्य फिल्मका पटकथालाई पनि संग्रहालयमा सुरक्षित राखिनेछ’ डिसीले भने, ‘एकातिर पटकथाको संरक्षण हुने र अर्कोतिर भावी पुस्तालाई अध्ययनका लागि पनि सजिलो हुनेछ । यी पटकथा राज्यका सम्पत्ति पनि बन्नेछन् ।’
असोज २२ गते सूचना जारी गर्दै बोर्डले निर्मातालाई फिल्मको पटकथा उपलब्ध गराउन आग्रह गरेको थियो । आग्रहअनुसार फिल्महरु आउने क्रम जारी रहेको जनाइएको छ ।
प्रतिक्रिया 4