 
																			५ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको सुधार आफ्नो प्राथमिकता भएको र त्यो मामिलामा कुनै सम्झौता नहुने बताएका छन् ।
न्यायिक मामिलाबारे रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँगको कुराकानीमा प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति जनआस्था बढाउन काम गर्ने बताए ।
‘न्यायपालिकाभित्र पारदर्शिता र जवाफदेहीता मेरो प्रतिवद्धता हो । तदारुकताका साथ न्याय प्रदान गर्ने विषय मेरो प्राथमिकतामा छ’, राउतले भने, ‘न्यायपालिकामा हुने सबै कामको जिम्मा मैले लिन्छ र त्यहाँबाट सुधारको प्रक्रिया अघि बढाउछु । जस्तोसुकै प्रतिकुल परिस्थितीमा पनि न्यायिक सुधारको अभियान रोकिदैन ।’
केही समयअघि न्यायपालिका असहज परिस्थितिबाट गुज्रिएको संकेत गर्दै उनले अहिले पनि कतिपय चुनौती बाँकी रहेको र आफूले सुधारको प्रयास थाल्ने बताए । उनले अदालतभित्रका कतिपय असहज परिस्थितिलाई समाधान गर्ने प्रतिवद्धता जनाउदै भने, ‘जनताको विश्वासको भरमा टिक्ने न्यायपालिकालाई मैले लयमा फर्काउने कोसिस गर्नेछु ।’
उनले हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन प्रतिवेदनका कतिपय प्रावधान कार्यान्वयन हुन बाँकी रहेको औंल्याउदै आफूले सबै न्यायाधीशहरुको साथमा चरणवद्ध रुपमा सुझावहरु कार्यान्वयन गर्ने बताए ।
नागरिकको हक अधिकारका सवालमा सर्वोच्च र मातहतका अदालत प्रतिवद्ध रहेको बताउदै प्रधानन्यायाधीश राउतले नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति पनि न्यायपालिका सचेत रहेको बताए । उनले भने, ‘समग्रमा देश, जनता र संविधानप्रति इमान्दारपूर्वक काम गर्नेछु । नागरिक र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको साथमा छु ।’
सर्वोच्च अदालतमै चारजना न्यायाधीश रिक्त रहेको विषय उल्लेख गर्दै उनले ‘न्यायाधीशबिना न्यायपालिका चल्न नसक्ने’ भएकाले त्यो विषय आफ्नो प्राथमिकतामा परेको बताए । न्यायपरिषदमा रहेका पाँच जना सदस्यहरुको सर्वसम्मतिका आधारमा निर्णय गर्ने प्रयास भइरहेको र त्यसले गर्दा समय लागेको उनको प्रतिक्रिया थियो ।
कतिपयले भागवण्डाको प्रश्न उठाइरहेको भन्दै राउतले बार र बेञ्चमा रहेकाहरुमध्ये ट्रयाक रेकर्डमा अब्बल भएकाहरुले अवसर पाउने बताए । उनले भने, ‘न्यायपालिकामा भागबण्डा भन्ने नै हुँदैन, त्यसको जिम्मेवारी म लिन्छु ।’
अदालतमा विचाराधीन मुद्दामा सार्वजनिक बहस, छलफल एवं प्रदर्शन समेत भइरहेको प्रश्नमा उनले अदालतले प्रतिकुल परिस्थितिमा पनि संयमता नगुमाउने प्रतिक्रिया दिए ।
‘बाह्य वातावरण अदालतको नियन्त्रणमा हुँदैन, तर त्यत्ति कारणले संयमता गुमाउदैनौं’, उनले भने, ‘नियतवशः अदालतको हुर्मत लिने लिएको र अतिरञ्जना गरेको विषय क्षम्य हुँदैन, त्यति हुँदा पनि संयमतामा रहन्छौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4