
काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ । ‘दोहोरी ब्याटल’को शैलीमा गीतको कम्पोज गरिएको छ ।
आशिष अविरलको संगीत, नवराज पन्तको शब्द गीतमा छ । अविरल र मेलिना राईले स्वर दिएका छन् । भिडियोमा प्रमुख कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली प्रस्तुत छन् ।
ब्याटलमा महिला र पुरुषका दुई टिम छन् । ब्याटल महिलाले राखेको सर्तसहित सुरु गरिएको छ । महिला टिमले जिते अञ्जना बराइलीको घरमा विजय बराल हली बस्नुपर्ने र पुरुष टिमले जिते विजयसँग अञ्जनाले बिहे गर्नुपर्ने ब्याटलको सर्त छ ।
सर्तमा दुवै पक्ष मञ्जुर भएपछि सुरु हुने दोहोरी ब्याटलमा युवायुवतीको प्रेम, विवाह, घरजम, सन्तान, परिवार र सुखजस्ता पारिवारिक पक्ष समेटिएको छ । रोधीको पनि छनक यो ब्याटलमा देखिन्छ ।
केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा गन्धर्व समुदायको परम्परागत पेशा, संवेदना र भोग्नुपरेको विभेदको कथा पेश गरिएको छ ।
विजय बराल पहिलोपटक यो फिल्ममा लिड रोलमा देखिएका छन् । यसर्थ पनि ‘पूर्णबहादुरको सारंगी’ उनको लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
सरोज पौडेलको पटकथा र निर्देशन रहेको फिल्ममा प्रकाश सपुत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतका सहायक कलाकार छन् ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मलाई प्याट्रिक सुवेदी र विनोद पौडेलले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
‘पूर्णबहादुरको सारंगी’ कात्तिक १५ गते प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4