+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

खराब वित्तीय स्थिति भएका फाइनान्स सेयर बजारमा उचालिँदै

असोज मसान्तसम्म सूचीकृत १५ मध्ये ३ वटा फाइनान्सको मात्रै वितरणयोग्य नाफा धनात्मक छ । बाँकी १२ वटा कम्पनीको ऋणात्मक छ । कतिपय फाइनान्सले त वर्षौंसम्म लाभांश दिन सक्ने छैनन् ।

कमल नेपाल कमल नेपाल
२०८१ कात्तिक १२ गते १४:०५

१२ कात्तिक, काठमाडौं । समृद्धि फाइनान्स, सेयर बजारमा पछिल्लो समय सबैभन्दा आकर्षक बनेको कम्पनी हो । गत साता सबैभन्दा धेरै मूल्य बढ्नेमा यो कम्पनी तेस्रो स्थानमा रह्यो । गत साता ११.५८ प्रतिशत मूल्य बढेको यो कम्पनीको हिजो आइतबार एकैदिन १० प्रतिशत बढ्यो ।

यो कम्पनीको मूल्य हालसम्मकै उच्च प्रतिकित्ता ८२२ रुपैयाँ ३० पैसा पुगेको छ । तर कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण कमजोर मात्रै होइन, खराब छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ८२ लाख नोक्सानी ब्यहोरेको छ । यो नोक्सानी गत वर्षको यहीं अवधिमा ९८ लाख रुपैयाँ मात्रै रहेकोमा अहिले ८४ लाख बढी हो । प्रतिसेयर आम्दानी ऋणात्मक छ भने वितरणयोग्य नाफा असोज मसान्तसम्म ६२ करोड ५४ लाख रुपैयाँ ऋणात्मक छ ।

त्यति मात्रै होइन, खराब कर्जाले कम्पनी थलिएको छ । गत वर्षको असोज मसान्तसम्म जम्मा ४.७९ प्रतिशत निष्क्रिय कर्जा देखाएकोमा यो असोज मसान्तसम्म ४.८ गुणा बढेर २३.४७ प्रतिशत पुगेको छ ।

‘मुलुकमा आर्थिक गतिविधि चलायमान हुन नसक्नु, असोजमा आएको बाढीपहिरोपछि रिकभरमा समस्या हुनु र कुल कर्जा बढ्न नसक्दा  समग्रमा औसत निष्क्रिय कर्जा बढेको देखिन्छ’ नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा आईसीएफसी फाइनानान्सका सीईओ सुनिल पन्तले भने ।

निष्क्रिय कर्जाको अंश कुल कर्जामा हो । यदि समग्रमा कर्जा बढ्दै जाने हो भने त्यसले निष्क्रिय कर्जाको अंश कम देखिने गर्छ, तर अहिले कर्जा बढ्न नसकेको अवस्था रहेकाले पनि केहीको निष्क्रिय कर्जा बढी देखिएको पन्तले बताए । कतिपय फाइनान्स समस्याग्रस्तबाट छुट्टिएर उठ्दै गरेकाले निष्क्रिय कर्जा बढी देखिएको उनको भनाइ छ ।

समृद्धि मात्रै होइन, बजारका एकाधबाहेक अधिकांश फाइनान्सको स्थिति उस्तै छ । बजारको सबैभन्दा महँगो फाइनान्स हो – नेपाल फाइनान्स । आइतबार बजार घटेका दिन पनि यो कम्पनीको मूल्य ६.६८ प्रतिशत बढेर १४०७ रुपैयाँ पुग्यो । गत साउन १२ गते कम्पनीको मूल्य २४१८ रुपैयाँसम्म पुगेको थियो ।

कम्पनीले तीन महिना (साउन, भदौ र असोज)मा २ करोड ४० लाख नोक्सानी ब्यहोरेको छ । यस कम्पनीको नोक्सानी पनि पोहोरभन्दा करिब ३८ लाख रुपैयाँ बढेको हो । कम्पनीको कुल वितरणयोग्य नाफा २५ करोड ७ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ऋणात्मक छ भने कुल कर्जामा निष्क्रिय कर्जाको अंश १०.३६ प्रतिशत छ ।

आइतबार सेयर मूल्य बढेका फाइनान्समा समृद्धि र नेपाल मात्रै होइन । अधिकांश फाइनान्सको मूल्य बढ्यो । जसले गर्दा बजारको परिसूचक नेप्से ०.४३ प्रतिशत घट्दा फाइनान्स समूहको सूचक १.११ प्रतिशत बढ्यो ।

नेप्से परिसूचक एकातिर मोडिँदा पनि फाइनान्सले आफ्नै लय समातिरहेको छ । आइतबार धेरै मूल्य बढेका ‘टप’ १० कम्पनीमा तीन वटा फाइनान्स कम्पनी मात्रै रहे । बजारमा सूचीकृत सबै फाइनान्सको मूल्य ६ सयभन्दा माथि छ ।

तर असोज मसान्तसम्म सूचीकृत १५ मध्ये ३ वटा फाइनान्सको मात्रै वितरणयोग्य नाफा धनात्मक छ । बाँकी १२ वटा कम्पनीको ऋणात्मक छ । कतिपय फाइनान्सले त वर्षौंसम्म लाभांश दिन सक्ने छैनन् ।


चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १५ फाइनान्स कम्पनीको औसत खुद नाफा जम्मा १८ करोड १९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भने औसत नाफा ५ करोड ६० लाख ऋणात्मक थियो । फाइनान्सहरुको औसत नाफा बढेको देखिए पनि औसत निष्क्रिय कर्जा ६.३७ बाट १०.५६ प्रतिशत पुगेको छ ।

यस्तो अवस्थामा पनि सेयर बजारमा सबैभन्दा आकर्षक सेक्टर नै फाइनान्स बनिरहेको छ । फाइनान्सलाई निश्चित व्यक्ति तथा समूहले सहज रुपमा मूल्य घटाउन वा बढाउन सक्छन् । यहीं कारण फाइनान्स सेक्टरमा उतारचढाव बढी हुने गरेको जानकार बताउँछन् ।

‘लो क्याप कम्पनीमा ट्रेड गर्न सक्नेले बजार घट्दा पनि कमाउने गरेका छन्, त्यसकारण बजार बढ्न नसकेका बेला अपरेटरहरु लोक्यापको फाइदा उठाउँदै यस्ता कम्पनीमा लागेको देखिन्छ’ प्राविधिक जानकार तथा लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।

यस्ता कम्पनीको मूल्यलाई वित्तीय विवरणले नभई अपरेटरको भूमिकाले बढी प्रभाव पार्ने उनको भनाइ छ । ‘वित्तीय विवरण कमजोर आए पनि सप्लाइ कम हुने भएकाले अपरेटर लागेपछि मूल्य बढाउँछन्’ उनले भने ।

फाइनान्स कम्पनीहरु लगानीका लागि नभइ कारोबार गर्न सक्नेका लागि मात्रै उपयुक्त रहेको अनुभवी लगानीकर्ताको बुझाइ छ । यद्यपि २/३ वटा फाइनान्स कम्पनी मात्रै लगानीका लागि पनि उपयुक्त देखिन्छन् । त्यस्ता उपयुक्त कम्पनीबाहेक अन्यमा लगानीका हिसावले खरिद गर्नु जोखिम रहेको स्वयम् लगानीकर्ताको भनाइ छ ।

फाइनान्स कम्पनीहरुको सर्वसाधारणमा जारी सेयर संख्या २९ लाखदेखि ६६ लाख २२ हजारसम्म छ । मञ्जुश्री फाइनान्सको सेयर सबैभन्दा धेरै ६६ लाख २२ हजार छ ।

उच्च सेयर संख्या भएकाले उत्कृष्ट वित्तीय विवरणका बाबजुत यस कम्पनीको मूल्य तुलनात्मक रुपमा न्यून छ । नोक्सानमा गएका फाइनान्स कम्पनीहरूको वार्षिक प्रतिसेयर आम्दानी स्वत: ऋणात्मक हुन्छ ।

 

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?