काठमाडौं । चिनियाँ मनोरञ्जन उद्योगका लागि दुःखद् खबर छ । अस्करको अन्तर्राष्ट्रिय फिचर विधातर्फ चीनले पठाएको डकुमेन्ट्री फिचर फिल्म अयोग्य ठहरिएको छ । चीनले ‘द सिंकिङ अफ द लिस्बन मारु’ फिल्मलाई अस्करमा पठाएको थियो ।
फिल्म पेश गरेको केही दिनपछि द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस अस्करले मापदण्ड पूरा गर्न उक्त फिल्म अयोग्य रहेको ठहराएको हो । हलिउड सञ्चारमाध्यमका अनुसार यो फिल्मले भाषिक मापदण्ड पूरा गर्न असफल रह्यो ।
नियमअनुसार कुनै पनि फिल्मले यो विधामा प्रतिस्पर्धा गर्न ‘मुख्य रूपमा (५० प्रतिशत भन्दा बढी) गैरअंग्रेजी संवाद समावेश हुनुपर्छ । उक्त चिनियाँ फिल्मले अस्करको यो मापदण्ड पूरा गर्न सकेन ।
अब यो फिल्मलाई अयोग्य मानिएको छ । चीनले यसको ठाउँमा अर्को फिल्म पनि पठाउन सक्नेछैन किनभने अब धेरै ढिलो भइसकेको छ ।
‘द सिंकिङ अफ द लिस्बन मारु’लाई फाङ लीले निर्देशन गरेका हुन् । दोस्रो विश्वयुद्धको क्रममा जापानी सेनाले नियन्त्रण गरेको कार्गो लाइनर ‘मृत्युको जहाज’ शीर्षकको कथा फिल्मले भन्छ । १ अक्टोबर १९४२ मा हङकङ र जापानबीच सैनिक ओसारपोसारमा यो जहाजको प्रयोग भएको थियो ।
३८४ जना ब्रिटिश सेनालाई चिनियाँ मछुवाहरूले उद्धार गरेका थिए । डुबेर वा भाग्ने प्रयास गर्दा र जापानी सैनिकले गोली हान्दा ८२८ जनाको मृत्यु भएको थियो । यो फिल्म अब उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर अस्करको लागि योग्य नभए पनि उत्कृष्ट डकुमेन्ट्री फिचर विधाको लागि भने अझै योग्य छ र त्यो मान्यताको खोजीमा अभियान चलिरहेको छ ।
सन् १९९० को ‘जु डु’ र सन् २००२ को फिल्म ‘हिरो’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनयन प्राप्त गरेका छन् । तर कुनैले पनि अवार्ड जित्न सकेनन् ।
प्रतिक्रिया 4