१३ कात्तिक, काठमाडौं । बाढी–पहिरोका कारण बन्द रहेका उत्तरतर्फका नाका खुल्न थालेका छन् । भन्सार विभागका अनुसार तातोपानी नाकाबाट आइतबार नै सामान नेपाल भित्रिएको छ । रसुवागढी नाकाबाट भने मंगलबार मात्र सामान भित्रिएको विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार ११ असोजदेखि रसुवागढी–केरुङ सडक बन्द थियो ।
कार्यालयका अनुसार मंगलबारदेखि अधिकतम १३ टनसम्मका साना तथा ठूला गाडीहरूको आवतजावत गर्न मिल्ने गरी सडक सुचारु भएको छ ।
कार्यालयका अनुसार स्याफ्रुबेसी–टिमुरे सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा एकतर्फी रूपमा सडक सुचारु थियो । तर, नाका सुचारु नहुँदा आयात–निर्यात हुन सकेको थिएन ।
तातोपानीतर्फ भने सडकको विभिन्न स्थानमा अस्थायी डाइभर्सन राखेर सडक सञ्चालनमा ल्याइएको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार शनिबारदेखि तातोपानी नाका अस्थायी रूपमा सुचारु भएको छ ।
‘दुई–तीन स्थानमा डाइभर्सन र कतै पहिरोको बीचमै अस्थायी सडक बनाएर नाका सुचारु भएको छ,’ उनले भने, ‘थप पानी नपरेसम्म नाका सुचारु हुन्छ ।’
यो नाकाबाट निरन्तर आयात–निर्यात सुचारु राख्न भने स्थायी समाधानमा जानु पर्ने उनले बताए ।
तातोपानी नाका सुचारु भएसँगै क्रमशः चीनबाट चाडपर्वलक्षित गरी भित्र्याइएका सामान आइरहेको उनले जानकारी दिए ।
‘कुनै सामान आइसकेको छ, कुनै जाँचपासको क्रममा छन्,’ उनले भने, ‘यसबीचमा रोकिएका विद्युतीय सवारीसाधनहरू समेत नेपाल भित्रिएका छन् ।’
तातोपानी नाका बन्द हुँदा मात्र राज्यले दैनिक ८ करोड रुपैयाँभन्दा धेरै राजस्व गुमाएको उनले जानकारी दिए ।
बाँकी रहेको अवधिमा यसबीचको क्षति कम गर्ने प्रयास कार्यालयले गर्ने समेत उनको भनाइ छ । फलफूल, मसला, लत्ताकपडाजस्ता वस्तु चीनबाट अहिले नेपाल भित्रिएका छन् ।
तातोपानीमा सडक बन्द रहेको समयमा पनि व्यापारीले तुइन लगाएर, भरिया राखेर सामान भित्र्याएका थिए । जसले गर्दा धेरै सामान बिग्रिन नपाएको उनको भनाइ छ ।
बाढीले भोटेकोसीको बेलिब्रिज र तातोपानी नजिकै लिपिङ खोलाको पुल बगाएको छ । जसले गर्दा नाकासम्म पुग्ने सडक अवरुद्ध बनेको हो । रसुवागढीतर्फ भने चीनको सीमा नजिकै सडक बगेको थियो ।
उत्तरतर्फका नाका बन्द हुँदा चाडबाडको मुखमा आयात समेत उल्लेख्य बढ्न नसकेको देखिएको छ । चालु आवको पहिलो तीन महिना (साउन–असोज) मा रसुवागढी नाकाबाट १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ । नेपालबाट ३९ करोड ३३ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।
तातोपानी नाकाबाट तीन महिनामा १२ अर्ब ३५ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ, निर्यात भने भएको देखिँदैन । यी नाकाबाट चाडबाडमा बढी सामान आउने गर्छ । बाढी–पहिरोले भारततर्फको व्यापार भने प्रभावित बनेको थिएन ।
तस्वीर सौजन्य : सूर्यप्रसाद काफ्ले
प्रतिक्रिया 4