१३ कात्तिक, काठमाडौं । ‘हाम्रो टिम बन्डिङ राम्रो छ । भोलि जित्नुपर्छ,’ बंगलादेशसँग बुधबार साफ च्याम्पियनसिप फाइनल खेल्नु अघिल्लो दिन कप्तान एन्जिला तुम्बापोले आफ्नो टिमप्रतिको विश्वास दर्शाइन् ।
उनले अगाडि भनिन्, ‘अहिले जितेनौं भने अर्को टिम बन्न ५–१० वर्ष पर्खनुपर्छ । हामी गर्छौं, हामी जित्छौं ।’
हरि खड्का जतिबेला महिला टिमको मुख्य प्रशिक्षक थिए, उनले हामी सक्छौं, हामी जित्छौं भन्ने नारा दिएका थिए । नेपाली टोली ५ पटकसम्म साफ वुमन्स च्याम्पियनसिपको फाइनल पनि पुग्यो । तर च्याम्पियन बन्न सकेन ।
साफ च्याम्पियनसिपमा नेपालको फाइनल इतिहास एकदमै खराब छ । पाँचौं पटक फाइनल पुगिसक्दासमेत प्रत्येक पटक उपविजेतामै सीमित हुनुपरेको नेपालको तितो विगत छ ।
सुरुवाती ४ संस्करणमा फाइनलमा भारत तगारो बन्यो । पछिल्लो पटक सन् २०२२ मा काठमाडौंमा भएको साफमा भारतलाई सेमिफाइनलमा हराएको नेपाल फाइनलमा बंगलादेशसँग स्तब्ध हुनुपर्यो ।
पाँचौं पटक फाइनलमा पुग्दा धेरैले नेपालले इतिहास रच्ने अपेक्षा गरेका थिए । किनकी नेपालले उपाधि दाबेदार भनिएको टिम भारतलाई हराएर फाइनलमा आएको थियो भने बंगलादेशसँग त्यसअघि हारेको इतिहास थिएन ।
त्यसमाथि पटकपटक उपाधि नजिक पुगेर पनि उपविजेतामै सीमित भइरहने नियतिबाट नेपाली टोली पनि मुक्ति चाहन्थ्यो । तर मैदानमा नयाँ प्रतिद्वन्द्वी बंगलादेश सामू नेपाल निरीह बन्न पुग्यो । घरेलु मैदानमै बंगालदेशसँग ३–१ ले नेपाल स्तब्ध बन्यो । आँगनकै ट्रफी बंगलादेशलाई सुम्पिन बाध्य बन्यो ।
दुई वर्षपछि फेरि भारतलाई सेमिफाइनलमा हराएको छ, र उपाधिका लागि बंगलादेशसँग नै खेल्नुपर्ने भएको छ । यसपटक बंगलादेशले आफ्नो अविजित यात्रामा निरन्तरता दिने दाउमा हुनेछ भने नेपाल अघिल्लो पटकको हारको बद्लासँगै पहिलो पटक उपाधि रक्षा गर्ने लक्ष्यमा ।
खेल भोलि बुधबार साँझ दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ । नेपाली टोलीका कप्तान एन्जिला तुम्बापो पटकपटक फाइनल पुगेको चोट बिर्साउने गरी यसपटक जित निकाल्न चाहन्छिन् ।
यतिबेला टिममा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी सावित्रा भण्डारी ‘साम्बा’ लयमा छिन् । रेनुका नगरकोटी, गीता राना, अमृता जैशी, पूजा रानालगायत अनुभवी खेलाडी र प्रिती राई लगायतका युवा खेलाडीहरुको समिश्रणले नेपाली टोली निकै सन्तुलित बनेको छ ।
प्रशिक्षक राजेन्द्र तामाङकै शब्दमा भन्ने हो भने पहिलो खेलमै भुटानले बराबरीमा रोकेर नेपाललाई आफ्नो कमजोरी चिन्ने अवसर दियो । त्यसले बाँकी खेलमा नेपालको प्रदर्शन सुध्रियो ।
सेमिफाइनलमा भारतविरुद्ध १० खेलाडीमा सीमित भएको अवस्थामा पनि नेपालको डिफेन्स लाइनले कुनै गल्ती गरेन । त्यसैले नेपाली खेलाडीहरुमा अहिले नजिता कहिले भन्ने भाव समेत छ ।
कप्तान एन्जिला (२८), पूर्वकप्तानसमेत रहेकी रेनुका नगरकोटी (२८), अमृता जैशी (३०), गीता राना (२८) र सावित्रा भण्डारी ‘साम्बा’ (२८) भइसकेका छन् । लामो अनुभव भएको यो टिमले नजित्ने भने हो अर्को टिम बन्न ५–१० वर्ष पर्खनुपर्ने हुनसक्ने कप्तान एन्जिला बताउँछन् । ‘विगतमा भएका गल्तीलाई सुधारेर खेल्नेछौं’, प्रि म्याच प्रेस कन्फ्रेन्समा कप्तान तुम्बापोले अगाडि भनिन्, ‘हामी नेपाली स्टाइल खेलेर जित्छौं । मलाई विश्वास छ, हामी जित्न सक्छौं ।’
मुख्य प्रशिक्षक तामाङ पनि अघिल्लो संस्करणका गल्ती सुधारेर यसपटक जित निकाल्ने दाबी गर्छन् ।
‘बंगलादेश राम्रो टोली हो । उनीहरु इंग्लिस स्टाइलमा खेल्छन् । इंग्लिस कोच छन्’, तामाङले भने, ‘हामी पनि योजना बनाएर आउँछौं । भोलिको खेल जित्छौं भन्ने आत्मसाथ गरेर खेल्छौं ।’
फाइनल जित्न ट्याक्टिकल पार्टका साथै सेल्फ मोटिभेसन पनि चाहिने भन्दै उनले भने, ‘यसपटक सबै जना मोटिभेट छन् ।’ अघिल्लो खेलमा चोट बोकेका पूजा, सबिता र प्रिती फिट भइसकेका उनले बताए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित फाइनलमा पुगेको बंगलादेशका प्रशिक्षक पिटर बटलरले फाइनलमा धेरैथोकले काम गर्ने बताउँछन् ।
नेपाल बलियो टिम भएकाले सम्मानसाथ खेल्ने बताए । आफ्नो टोलीले अट्याकिङ फुटबल खेल्ने समेत उनले बताए ।
बंगलादेशकी कप्तान सबिना खातुनले पनि फाइनल दुबै टोलीका लागि सहज नहुने बताइन् । ‘दुवै टिमका लागि टफ म्याच हुनेछ । आशा छ यो फाइनल खेल राम्रो हुनेछ’, उनले भनिन् ।
दुवै अपराजित
घरेलु टोली नेपाल र बंगलादेश दुवै अपराजित रहँदै फाइनल पुगेका हुन् । नेपालले समूह चरणमा भुटानसँग पहिलो खेल गोलरहित बराबरी खेलेको थियो । त्यसपछि माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले पराजित गरेको नेपाल भुटानलाई गोल अन्तरमा पछि पार्दै समूह बी को विजेता बनेको थियो ।
त्यसपछि सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग नेपालको भेट भयो । निकै तनावपूर्ण र नाटकीय खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ४–२ ले पराजित गरेर फाइनल पुगेको हो ।
बंगलादेशले भने समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । अन्तिमसम्म एक गोलले पछि परेको बंगलादेशले इन्जुरी टाइममा बराबरी गोल गरेको थियो । दोस्रो खेलमा भारतलाई ३–१ ले हराएर बंगलादेश समूह विजेता बन्यो भने सेमिफाइनलमा भुटानमाथि एकपक्षीय जित निकाल्यो ।
अर्थात दुवै टोली अपराजित छन् । फाइनलसम्म आइपुग्दा नेपालले ११ गोल गर्दा जम्मा १ गोल खाएको छ । बंगलादेशले भने ११ गोल गर्दा ३ गोल खाएको छ । बंगलादेशले सबै खेलमा गोल खाएको छ ।
साम्बालाई कीर्तिमान बनाउने अवसर
गोल मेसिनको उपनाम पाएकी सावित्रा भण्डारी साम्बाको लागि फाइनलमा गोलको कीर्तिमान बनाउने अवसर छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ वुमन्स च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् ।
उनलाई त्यो कीर्तिमान आफ्नो नाममा लेखाउन एक गोल आवश्यक छ । युरोपमा खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर आएकी हुन् । उनले भुटान विरुद्ध समूहको पहिलो खेल गुमाएकी थिइन् । नेपाल आइपुगेर पनि माल्दिभ्स विरुद्ध बेन्चमा बसेकी उनले श्रीलंका विरुद्ध समूहको अन्तिम खेल खेल्दै एक गोल गरिन् ।
साम्बाले नेपालका लागि ४८ खेलमा कीर्तमानी ५५ गोल गरिसकेकी छन् । फाइनलमा बंगलादेशविरुद्ध गोल गरेमा उनको नाममा अर्को कीर्तिमान थपिनेछ । अनुको कीर्तिमान बराबरी गरेपछि साम्बाले आफू कीर्तिमानका लागि नखेल्ने तर खेल्दै जाँदा कीर्तिमान बन्दै जाने बताएकी थिइन् ।
प्रतिक्रिया 4