१३ कात्तिक, बुटवल । रुपन्देही प्रहरीले झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छलेर भित्राइएको सुन ल्याइएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बुटवलको रामनगरमा उक्त बसमा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरुको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।
उनका अनुसार ४९ लाख ५४ हजार बढी मूल्य बराबरको बरामद सुन बिस्कुट आकारमा छ । बरामद सुन र पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4