+
+

प्युठानको दम्ती सबस्टेसन सञ्चालन, विद्युत् आपूर्ति सुधार हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १५ गते ६:५१

१५ कात्तिक, प्युठान । नेपाल विद्युत् प्राधिकरणले प्युठानको दम्तीमा निर्माण गरेको सबस्टेसन सञ्चालनमा आएको छ ।

आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन यही कात्तिक १४ गतेदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए ।

दासका अनुसार सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत जिल्लामा विद्युत् आपूर्ति गरिएको छ । यसबाट करिब ३२ हजार घरधुरी लाभान्वित हुने उनको भनाइ छ ।

उहाँले भने, ‘अब जुम्रीबाट ३३ केभीबाट दम्ती सबस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने छ ।’

प्राधिकरण र त्रिपुरेश्वर जय दुर्गे जेभीबीच ५ करोड ३६ लाख ६० हजार ६८२ रुपैयाँमा २०७४ जेठ १७ गते सबस्टेसन निर्माणको लागि ठेक्का सम्झौता भएको थियो ।

तर, ‘स्थानीयले काममा अवरोध गरेको’ भन्दै निर्माण कम्पनीले काम रोकेपछि सबस्टेसनको काम अलपत्र परेको थियो । प्राधिकरणले निर्माण कम्पनीसँग सम्झौता तोडेर काम अघि बढाएपछि सबस्टेसन सञ्चालनमा आएको हो ।

जिल्लाका ९ वटा स्थानीय तहका ६४ वडामध्ये नौबहिनी–१ को स्याउलीबाङ र गौमुखी–३ को खराबाहेक सबै स्थानमा विद्युत् लाइन पुगेको प्राधिकरणले जनाएको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये ४४ हजार घरधुरीमा विद्युत् पुगेको छ । आउँदो पुस महिनाभित्र प्युठान जिल्लाका सबै घरमा बिजुली पुग्ने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?