+
+

एकै पटक १०० वटा र्‍याकको माग आएपछि सूर्यबहादुरलाई भ्याइनभ्याइ

रासस रासस
२०८१ कात्तिक १५ गते १६:३९

१५ कात्तिक, नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् ।

बाबुले २०५२ मा सुरु गरेको व्यवसायलाई उनले निरन्तरता दिएका छन् । लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको र्‍याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका छन् ।

व्यवसायीहरुले एकैपटकमा एक सय बढी सङ्ख्यामा र्‍याकको माग गर्ने भएकाले उनको दिनचर्या र्‍याक बनाउनमै बित्छ ।

‘अहिले र्‍याकको माग धेरै छ, तिहार सुरु हुँदासमेत र्‍याक बनाएर बस्नुपरेको छ’, उनले भने, ‘र्‍याक लिन व्यापारीहरु आफैँ गाडी लिएर आइपुग्छन् ।’

बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उनको भनाइ छ । उनका अनुसार एक दिनमा एकजनाले कम्तीमा आठवटा र्‍याक तयार गर्छन् ।

विभिन्न चार आकारको र्‍याक बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा तीन सय १० देखि पाँच सयसम्ममा बिक्री गर्दै आएको बताए । र्‍याक बिक्रीबाटै खर्च कटाएर उनले हाल मासिक औसतमा ३० हजार रुपैयाँ बचत गर्ने गरेको बताए । कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट र्‍याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ ।

‘र्‍याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ’, उनले भने, ‘छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ ।’र्‍याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उनले बताए ।

सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उनले बताए । सुरुमा १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उनको सुझाव छ । बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर र्‍याक बनाउन सकिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?