+
+

पाल्पामा एउटै फार्मबाट दुई लाखको फूल बिक्री

रासस रासस
२०८१ कात्तिक १९ गते १६:५८

१९ कात्तिक, पाल्पा । पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर २ लाख रुपैयाँ बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो ।

फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताए । ३ दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उनले बताए ।

बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन् । बारी भरी लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उनको भनाइ छ । फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाले सुनाए ।

प्रतिकिलो फूल ५ सय र प्रतिमाला १ सय ५० रुपैयाँमा बिक्री भएको थापाले बताए । हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उनको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ ।

स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ । गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ ।

भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् । यहाँ हरेक वर्ष २ लाखदेखि ३ लाख रुपैयाँ बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?