+
+

रविमाथि अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको हो ?

रवि र रास्वपाले एउटै प्रश्न पटक पटक सोधेर हैरान पारेको, नयाँ सोधपुछ नगरेर ढिलाइ गरिरहेको भन्दै प्रहरीसँग रोष पोखिरहेका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ कात्तिक २१ गते २०:१२

२१ कात्तिक, काठमाडौं । सहकारी ठगी आरोपमा २ कात्तिकमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिरहेको छ ।

६ असोजमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीमाथि पनि यीनै अभियोगमा अनुसन्धान भइरहेको छ ।

संगठित अपराधको कसुुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने हदम्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

एउटै मुद्दामा जोडिएका जोशी ६ असोजमा पक्राउ परेकाले ६ असोजदेखि ९० दिन अर्थात ६ पुससम्म अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसक्नुपर्छ ।

तर रास्वपा नेता कार्यकर्ताहरुले भने अनुसन्धान गर्ने विषय बाँकी नहुँदा पनि सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा रविलाई हिरासतमा राखिरहेको आरोप लगाएका छन् ।

८ कात्तिकमा समय माग्न जिल्ला अदालत कास्कीमा पेश गर्दा लामिछानेले इजलासमै भनेका थिए, ‘६ दिन भयो हिरासतमा बसेको, जम्माजम्मी ४ घण्टा भन्दा बयान लिइएको छैन ।’

८ कात्तिकमा दोस्रो पटक लामिछानेविरुद्ध ७ दिनको म्याद थप भएको थियो । त्यति बेला पनि रविले एउटै प्रश्न दोहोर्‍याएर, तेहेर्‍याएर सोधिएको दाबी गरेका थिए ।

‘नयाँ के तथ्य छ ? अनि, कुन चाहिँ प्रश्न लुकेको छ यहाँ ? सर्भर बरामद भएपछि मसँग लिइएको बयान यहिँ छ । सर्भरमा के भेटियो भन्ने बयान पनि भइसकेको छ’ रविले भनेका थिए, ‘एउटा जाँच एउटा मान्छेले एउटै कक्षामा कति पटक दिन्छ श्रीमान् ?’

रास्वपाका नेता कार्यकर्ताले पनि राज्यले प्रतिशोध साँधेको आरोप लगाउँदै अनुसन्धानमा ढिलासुस्ती गरेको, भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था समेत नभएकाले हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै पोखरादेखि काठमाडौंसम्म प्रदर्शन गरिरहेका छन् ।

मंगलबार रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद सोविता गौतमले कांग्रेस–एमालेको सरकारले रास्वपालाई सिध्याउन प्रपञ्च रचेको दाबी गरिन् ।

प्रहरी भने रविलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गर्छ । ‘कानुन अनुसार हुनुपर्ने अनुसन्धान भइरहेको छ । हदम्यादसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान अनुसार अनुसन्धान गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी तथा प्रवक्ता वसन्तकुमार शर्मा भन्छन् ।

उक्त म्याद सकिने बित्तिकै तिहारको बिदा सुरु हुने भएकाले रवि त्यो अवधि पनि हिरासतमै हुने पक्कापक्की थियो ।

तिहारपछि अदालत खुलेपछि मंगलबार मात्रै प्रहरीले रवि र छविसहित यो प्रकरणमा पक्राउ परेका ४ जनालाई १० दिन हिरासतमा राख्न अनुमति लिएको छ । मंगलबार इजलासमा लामिछानेका कानुन व्यवसायीले रविको बयान सकिइसकेको र नयाँ तथ्य पनि अदालतमा पेश नभएको भन्दै अब पनि हिरासतमा राखेर अनुसन्धान गर्न खोज्नु गैरन्यायिक हुने बताएका थिए ।

प्रहरी अधिकारीहरु भने अनुसन्धानमा विभिन्न चरणहरु, विभिन्न तौर तरिकाहरु हुने भएकाले समय लिने दाबी गर्छन् । ‘अनावश्यक रुपमा अनुसन्धानमा ढिलाइ गर्ने हाम्रो मनसाय छैन’ डीएसपी शर्मा भन्छन् ।

अपराध अनुसन्धानमा लामो समय बिताएका नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल्ल ठकुरी अन्य भन्दा आर्थिक अपराधको अनुसन्धान लामो हुने बताउँछन् ।

‘फाइनान्सियल क्राइम अन्य भन्दा अलि जटिल हुन्छ । यसका विभिन्न लेयरहरु हुन्छन् । विभिन्न कागजात डकुमेन्टहरु हेर्नुपर्ने, भेरिफाइ गर्नुपर्ने हुन्छ । यस्ता प्रकृतिका अनुसन्धानले समय लिन्छ’, उनले भने ।

त्यसैगरी एउटै प्रश्न पटक पटक दोहोर्‍याएर, तेहेर्‍याएर सोधिएको भन्नु पनि उपयुक्त नहुने उनको बुझाइ छ । ‘अनुसन्धानका विभिन्न रणनीति हुन्छन् । एकछिन अघि भनिएको कुरा त्यही प्रश्न सोध्दा फेरिएको छ कि छैन भनेर हेर्न पनि दोहोर्‍याइ, तेहेर्‍याइ प्रश्न सोधिन्छ’, मल्लले भने ।

रवि लामिछानेविरुद्ध कास्कीसँगै रुपन्देहीमा पनि अनुसन्धान हुने भएकाले अनुसन्धानमा ढिलासुस्ती भयो भन्नु तकसंगत नहुने उनको भनाइ छ ।

छठपछि रुपन्देही लैजाने तयारी

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पनि लामिछानेमाथि बयान लिने तयारी प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लामिछानेलाई बयानका लागि पठाइदिन जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्राचार गरिसकेको छ ।

चाडपर्व तथा सार्वजनिक बिदा भएकाले रुपन्देही नल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौर बताउँछन् ।

‘बयानका लागि पठाइदिन भन्दै पत्राचार गरेका थियौं । यहीबीचमा सार्वजनिक बिदा परेकाले रोकिएको हो’, उनले अनलाइनखबरसँग भने ।

२२ कात्तिकमा छठको सार्वजनिक बिदा रहेको र त्यसको पर्सिपल्ट शनिबार रहेकाले त्यसअघि लामिछानेलाई रुपन्देही लैजाने तयारी छैन ।
एसपी राठौरका अनुसार आइतबार सोमबारतिर मात्रै लामिछानेलाई बयानका लागि रुपन्देही लगिन्छ ।

के छ रविविरुद्ध रुपन्देहीमा मुद्दा ?

गितेन्द्रबाबु (जीबी) राई जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दा लामिछाने गृहमन्त्री रहेकै बेला ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ । तर त्यतिबेला रवि भने प्रतिवादी थिएनन् ।

संसदीय विशेष छानबिन समितिले सुप्रिम सहकारीको रकम समेत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको भन्दै रविसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै ३१ भदौमा प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनपछि सुप्रिम सहकारीमा पनि पूरक अभियोजन बनाएर मुद्दा लैजाने तयारी रुपन्देही प्रहरीको छ ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको भेटिएको थियो । उक्त रकममध्ये करिब २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको भेटिएको थियो ।

गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।

टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो ।

जीबी र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगञ्ज लगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको थियो ।

जसमध्ये २ करोड रुपैयाँ त रविकै नाममा व्यापार कर्जा स्वीकृत गरेर लगेको भेटिएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको थियो ।

‘संस्थाको बचत सदस्य रवि लामिछानेको नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरिएको छ’ अदालतमा दायर अभियोगपत्रमा भनिएको छ, ‘भौचर सदर गर्ने सागर केसी, रकम जम्मा गर्ने रोशनी गुरुङ ।’

सागर केसी सहकारीका व्यवस्थापक हुन् भने रोशनी लेखा शाखामा काम गर्ने कर्मचारी हुन् ।

५ वैशाख २०७८ मा गोर्खा मिडियाको नाममा १ करोड रुपैयाँ पेश्की निकालेर जम्मा गर्दा रकम जम्मा गर्ने रोशनीसँगै रवि लामिछाने भएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

सहकारीको रकम अपचलनमा प्रत्यक्ष रुपमा लामिछाने नजोडिए पनि अपचलन भएर आएको रकम खर्च गर्ने काममा भने लामिछानेको समेत संलग्नता देखिएको संसदीय समितिले औंल्याएको थियो । सोही विषयमा अनुसन्धान गर्न रविलाई रुपन्देही लैजाने तयारी भएको हो ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?