+

लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर राजेश हमाललाई प्रश्न : तपाईंले फ्रेन्चाइज टिम कहिले किन्ने ?

२०८१ कात्तिक  २७ गते १०:३९ २०८१ कात्तिक २७ गते १०:३९
लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर राजेश हमाललाई प्रश्न : तपाईंले फ्रेन्चाइज टिम कहिले किन्ने ?

२७ कात्तिक, काठमाडौं । राजेश हमाल नाम नै काफी छ । नेपाली चलचित्र जगतका एक सदाबहार नाम । झण्डै तीन दशक लामो चलचित्र करियरमा थुप्रै फिल्म खेले । प्रशंसकहरु उनलाई ‘महानायक’को उपाधि नै दिएका छन् ।

उनै राजेश हमाल पछिल्लो समय खेल क्षेत्रसँग पनि जोडिन थालेका छन् । तर खेलाडी वा प्रशिक्षक बनेर भने होइन, ब्राण्ड एम्बासडरका रुपमा ।

फिल्म क्षेत्रका ‘नायक’ राजेश हमाल पछिल्लो समय खेलकुद कार्यक्रममा पनि उपस्थित हुन थालेका छन् । अनि आफू जोडिएको टिमलाई चियर अप गर्न उनी मैदानसम्मै पुग्ने गरेका छन् ।

यसअघि नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स टिमको ब्राण्ड एम्बासडर बनेका राजेश हमाल अहिले भने मंसिर १५ देखि हुने लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की प्लेअर रहेकै टिममा नेपालका महानायक राजेश हमाल जोडिएका हुन् । लुम्बिनी लायन्सले सोमबार औपचारिक कार्यक्रम गर्दै राजेश हमाललाई ब्राण्ड एम्बासडरको रुपमा एक वर्षका लागि अनुबन्ध गरेको जानकारी दिएको थियो ।

पछिल्लो समय नेपाली खेलकुद र नेपाली कला क्षेत्र एक आपसमा नजिकिन थालेको छ । कला क्षेत्रले खेल क्षेत्रलाई समर्थन गर्ने र खेल क्षेत्रले पनि कला क्षेत्रलाई समर्थन गर्ने क्रम बढेको छ । कला क्षेत्रका व्यक्तिहरु खेलकुदमा ब्राण्ड एम्बासडर बनेर भित्रिएका छन् ।

लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर बन्दा हमाल निकै उत्साहित देखिए । ‘लुम्बिनी लायन्ससँग आबद्ध भएको छु । लुम्बिनीसँग एक किसिमले मेरो पनि सम्बन्ध पनि छ । पाल्पामा जन्मेको हो म । त्यही क्षेत्रको टिम भयो’, अनलाइनखबरसँग उनले खुसी बाँडे ।

नेपाली क्रिकेट टिमका कप्तान रोहितले नेतृत्व गरेको टिमसँग जोडिन पाउँदा आफूलाई पनि खुसी लागेको हमालले बताए । ‘ब्राण्ड एम्बासडर भएपछि टिमसँग भावनात्मक सम्बन्ध पनि हुन्छ । टिमलाई सपोर्ट गर्ने देखि धेरै काम हुन्छ । त्यसैले रमाइलो लागिराछ’, उनले भने ।

हमालले लुम्बिनी लायन्सले एनपीएल जित्ने गरी मिहिनेत र तयारी गरिरहेको र अब मैदानमा गर्जिने बताए । ‘लायन्सले जितिहाल्छ,’ लुम्बिनीले उपाधि जित्ला त ? भन्ने प्रश्नमा उनले भने, ‘लायन्सले रोअर (गर्जेर) मैदानमा आउँदा नजित्ने भन्ने कुरा हुन्न । अवश्य जित्छ’, उनले भने, ‘सम्पूर्ण टिम त्यही मनस्थित लिएर अघि बढेका छौँ र त्यही किसिमको गृहकार्य पनि गरिराको छौँ । सबैले मिहिनेत पनि गरिरहनुभएको छ ।’

हमालले नेपाल प्रिमियर लिग क्रिकेट सुरुवात हुनु राम्रो भन्दै यसले दिगो रुप लिने भएकोले उत्साहित रहेको बताए । ‘एनपीएल हुनु भनेको राम्रो कुरा हो । अहिले आम नेपाली क्रिकेटमा अत्यधिक रुचि राख्नुहुन्छ । सम्पूर्ण राष्ट्रको लागि पनि कुनै न कुनै खेल गतिविध हुनु राम्रो हो,’ उनले भने, ‘म त उत्साहित छु । प्रोत्साहन गर्छु । यसले दिगो रुप लिनेछ र लामो समय जानेछ भन्ने लाग्छ ।’

हमालले लुम्बिनी लायन्सका समर्थकदेखि सम्पूर्ण नेपाली समर्थककै लागि एनपीएल हुनु खुशीको विषय भन्दै सबै टिमलाई शुभकामना दिए र समर्थकहरुलाई पनि रुचिपूर्वक हेर्न आग्रह गरे ।

क्रिकेट नै नखेलेका राजेश हमाल नेपालको क्रिकेटसँग भने परिचित छन् । उनी राष्ट्रिय टिमको खेलहरु पनि हेर्छन् । उनले आफ्नो जीवनमा धेरै खेलहरु खेल्न प्रयास गरेको बताए । तर क्रिकेट भने कहिल्यै खेलेनन् । उनलाई मनपर्ने खेलको बारेमा सोध्दा उनले आइस हक्कीसम्म खेलेको बताए । तर क्रिकेट भने नखेलेको सुनाए ।

हमाले भारतको चन्डिगडमा क्रिकेट क्रेज भएको स्कुलमा पढ्दासमेत आफूले क्रिकेट नखेलेको बताए । ‘क्रिकेटमा तब रुचि भयो जब नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न थाले । भारतमा पढ्दा पनि भारतमा क्रिकेट क्रेज हुँदा पनि म अछुतो बनेर बसेको थिएँ तर राष्ट्रिय टिमले खेल्न थालेपछि हेर्न थालेँ’, उनले भने, ”सबै खेल ट्राई गरेको छु । आइस हक्कीजस्तो खेल पनि ट्राई गरेको छु तर क्रिकेट कहिल्यै खेलिनँ ।’

पछिल्लो समय नेपाली खेलकुद र नेपाली कला क्षेत्र एक आपसमा नजिकिन थालेको छ । कला क्षेत्रले खेल क्षेत्रलाई समर्थन गर्ने र खेल क्षेत्रले पनि कला क्षेत्रलाई समर्थन गर्ने क्रम बढेको छ । कला क्षेत्रका व्यक्तिहरु खेलकुदमा ब्राण्ड एम्बासडर बनेर भित्रिएका छन् ।

एनपीएलकै लागि पनि पोखरा एभेन्जर्सले सन्दीप क्षेत्री र कर्णाली याक्सले नायिका स्वस्तिमा खड्कालाई एम्बासडर अनुबन्ध गरेको छ । खेल र कला क्षेत्र जोडिनु राम्रो संकेत भएको राजेश हमालले बताए र यसले अर्थ लाग्ने बताए ।

‘यसले अर्थ राख्छ । किनकी कला क्षेत्र राष्ट्र एउटा गर्व गर्ने क्षेत्र हो । खेलकुल पनि राष्ट्रले गर्व गर्ने क्षेत्र हो,’ हमालले भने, ‘खेलकुद राम्रो भएको खण्डमा त्यो राष्ट्रको बेग्लै किसिमको सम्मान  र स्थान हुन्छ । हामी कला क्षेत्रमा लागेको व्यक्तिको पनि राष्ट्र पति उत्तरदायित्व हुन्छ । सबैले आ-आफ्नो क्षेत्रलाई सपोर्ट गर्नु र हौसला दिनु सम्पूर्ण राष्ट्रको लागि राम्रो हो ।’

तपाईंले कहिले फ्रेन्चाइज टिम किन्ने त ? भन्ने प्रश्नमा उनले भविष्यमा हुन सक्ने बताए । ‘हेर्दै जाम् । यो सुरुवात गरिरहेको छु । भविष्यमा नहोला त भन्न सकिन्न । खेलमा रुचि छ । अहिले आएर चस्का पसिसकेको छ’, उनले भने ।

उनले ब्राण्ड एम्बासडरको भूमिका टिममा जोडिदाँ पनि भावानात्मक सम्बन्ध हुने र टिमको धेरै कुरामा चासो बढ्ने बताए । ‘एउटा कुरा के भने म फुटबलमा हुँदा पनि खाली ब्राण्ड एम्बास्डर मात्रै भनेको छ । तर एक पटक टिममा समावेश भएपछि टिमसँग अपनत्व बेग्लै हुने रहेछ । टिमसँग भावनात्मक सम्बन्ध हुने रहेछ,’ हमालले भने, ‘टिम के भइराछ, टिमले कस्तो प्रदर्शन गरिरहेको छ, यस्ता कुरामा एकदमै चासो हुन्छ ।’

लुम्बिनीका मार्की खेलाडी तथा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले राजेश हमाल लुम्बिनीको मात्र समग्र देशकै एम्बास्डर भएको भन्दै उनी टिममा जोडिँदा खुशी व्यक्त गरे ।

 

एनपीएल नेपाल प्रिमियर लिग ब्रान्ड एम्बासडर राजेश हमाल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय