+
+

अख्तियारले वन मन्त्रालयलाई सोध्यो : कोप २९ मा जम्बो टोली किन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते ९:२१

२७ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयमार्फत् नेपालबाट जम्बो टोली अजरबैजानको बाकुमा गएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ ।

आयोगले सोमबार वन मन्त्रालयलाई पत्र लेखेर नेपालबाट तीन जना मात्र जानुपर्नेमा जम्बो टोली किन बाकु पठाएको भनेर प्रश्न गरेको हो ।

मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट ३१ जनाको नेपाली टोली बाकु गएको छ । मन्त्रालयको टोलीमा वन मन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा. दीपक कुमार खरालदेखि प्रशासन महाशाखा प्रमुख एवम् सहसचिव भुपाल बराल र प्रशासन महाशाखाका उपसचिव शोभाकर रेग्मीसमेत टोलीमा छन् ।

‘अख्तियारले चार-पाँच वटा प्रश्नहरुसहित आवश्यकता, औचित्य, त्यहाँको कामको जिम्मेवारी के हो भनेर सोधेको छ, त्यो पत्र सचिवज्युसम्म पनि पुगिसकेको छ,’ वन मन्त्रालय स्रोतले भन्यो, ‘प्रशासन महाशाखा प्रमुख फर्किएपछि जवाफ पठाउने काम हुन्छ ।’

प्रशासन महाशाखा प्रमुख बराल छिट्टै काठमाडौं फर्किने तयारीमा रहेको पनि मन्त्रालय स्रोतले बतायो । ‘सम्मेलनमा सहभागी हुनेहरुको मनोनयन गरेको फाइल प्रशासन महाशाखामा हुन्छ, अहिले महाशाखाका सहसचिव र उपसचिव दुबै बाकु हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘त्यसैले प्रशासन महाशाखा प्रमुख चाँडै फर्किने र जवाफ पठाउने काम हुन्छ ।’ प्रशासन महाशाखा प्रमुख बराल १६ तारिख (मंसिर १ गते) काठमाडौं फर्किने तयारीमा छन् ।

मन्त्री शाहीको भने १८ तारिखको दिन प्रस्थान गरेर १९ तारिखमा काठमाडौं आइपुग्ने टिकट छ ।

राज्यमन्त्री विक दोधारमा

वन राज्यमन्त्री रुपा विक पनि बाकु जाने भनेर भ्रमण स्वीकृत भइसकेको छ । १४ तारिख अर्थात् कात्तिक २९ गतेको टिकट छ ।

तर राज्यमन्त्री विकले भने आफू बाकु नजाने मुडमा रहेको बताइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘कतिपयले नयाँ कुरा सिकिन्छ, बुझिन्छ जानुपर्छ भन्नुहुन्छ, तर मेरो स्वास्थ्य त्यति ठीक छैन । मन्त्रीज्यू, सचिवज्यू गइसकेपछि म किन जानुपर्यो र भन्ने पनि लागिरहेको छ ।’ मिडियाबाट पनि जम्बो टोली गएको भनेर आलोचना भइरहेकोले आफूलाई नमजा लागेको उनले सुनाइन् ।

कोप २९ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । राष्ट्रपति पौडेल ९ सदस्यीय टोलीको नेतृत्व गर्दै गत आइतबार बाकु प्रस्थान गरेका थिए । उनले आज सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?