 
																			१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी/जनजाति महिला क्लस्टरबाट सांसद बनेकी थिइन् ।
निर्वाचनका बेला कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी/जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि अब पाँचौ नम्बरमा रहेकी स्याङ्जा चापाकोटकी थापा प्रदेशसभा सदस्य बन्ने भएकी हुन् ।
आदिवासी/जनजाति महिलातर्फबाट म्याग्दीकी गौचनसहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ क्रमसंख्याअनुसार सामानुपातिक सांसद बनेर प्रदेश सभा छिरेका थिए । गौचनको निधन भएसँगै क्रमसंख्याअनुसार स्याङ्जाकी सुनिताले प्रदेश सभा सदस्य बन्ने अवसर पाउने नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए ।
‘निर्वाचन आयोगले हामीलाई मृत्यु भएपछि पद खाली भएको पत्र पठाउँछ र क्रमसंख्या अनुसार सुनिताको नाम रहेकाले उहाँकै नाम सिफारिस हुन्छ,’ लामिछानेले अनलाइनखबरसँग भने, ‘आयोगले छिट्टै पत्र पठाउला ।’
सांसद गौचनको गत २८ गते निधन भएर गण्डकी प्रदेश सभामा श्रद्धाञ्जली अर्पण भएपछि शनिबार म्याग्दी पुर्याएर अन्तेष्टि गरिएको छ । स्याङ्जा चापाकोट नगरपालिका- ९ मा जन्मिएकी सुनिता अपांगता भएका व्यक्तिहरुको हकहितमा काम गर्दे आएकी छन् ।
अहिले कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी सुनिताले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर एक्कासी श्रवण शक्ति गुमाएकी थिइन् ।
आफूले नसुन्ने तर नेपाली, अंग्रेजी प्रस्टसँग बोल्न र आफ्नो भनाइ राख्न सक्ने सुनिताले विभिन्न गैरसरकारी संस्थामा काम गर्दै राजनीतिमा पनि सक्रिय बनेकी नेपाली कांग्रेस गण्डकीका उपसभापति तथा पूर्वमन्त्री मेखलाल श्रेष्ठले बताए ।
२०४९ सालमा जन्मिएकी सुनिताले स्नातकसम्मको अध्ययन गरेकी छन् भने विभिन्न अपांगता भएकाहरुको क्षेत्रमा अभियन्ताका रुपमा सक्रिय छिन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4