+

‘सिनियर महिला टिम पनि विश्वकपमा छनोट हुन सक्छ’

२०८१ मंसिर  ३ गते २०:०५ २०८१ मंसिर ३ गते २०:०५
‘सिनियर महिला टिम पनि विश्वकपमा छनोट हुन सक्छ’

२ मंसिरकाठमाडौं । महेशप्रसाद रिजाल आफ्नो जमानामा राष्ट्रिय स्तरका खेलाडीसम्म बने । नेपालको प्रतिनिधित्व गरेर खेल्न भने पाएनन् ।

तर उनले प्रशिक्षण दिएको नेपाली यू-१९ महिला क्रिकेट टिम भने विश्वकपमा छनोट भएको छ । नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट हुनुमा उनी पर्दा पछाडिका नायक रहे ।

यसअघि सन् २०२२ मा पनि रिजालकै प्रशिक्षणमा नेपालले यू-१९ महिला विश्वकप छनोट खेलेको थियो । तर विश्वकपमा पुग्न सकेन । रिजाल दोस्रो प्रयासमा सफल भए ।

नेपालमा फ्रेन्चाइज लिगमा क्लबको प्रशिक्षण सम्हालिसकेका रिजाललाई क्यानले दोस्रो पटक यू-१९ को जिम्मेवारी दिँदा उनलाई अवसर र चुनौती दुवै थियो । उनले त्यो विश्वासलाई खेर जान दिएनन् र प्रमाणित गरेर देखाए । उनै रिजालसँग अनलाइनखबरका गोविन्दराज नेपालले गरेको कुराकानी :

नेपाली यु१९ महिला टिम दोस्रो प्रयासमा विश्वकपमा छनोट हुन सफल भयो । गत वर्षको छनोट खेलमा पनि तपाई नै प्रशिक्षक हुनुहुन्थ्यो । यसपटक के कारण नेपाल सफल भयो ?   

अघिल्लो पटक पनि प्रशिक्षक म नै थिएँ । त्यो बेला अपेक्षाकृत  राम्रो प्रदर्शन गर्न सकेनौँ । यस पटक क्यानबाट प्राप्त तयारीको समय, अभ्यास खेलको समय आदि कुराले राम्रो गर्ने आधार तयार हुँदै गयो । प्रशिक्षणमा खेलाडीहरुले गरेको मिहिनेत र दिल्लीको अभ्यास खेलले प्रतियोगितामा राम्रो गर्ने आधार तयार भयो । प्रशिक्षकको रुपमा यो मेरो दोस्रो असाइनमेन्ट भएकाले मेरो लागि पनि नतिजा दिन चुनौतीपूर्ण नै थियो ।

अहिले एक किसिमको रिलिफ पनि महसुस भएको होला ?

नेपाली महिला क्रिकेट खुड्किलो चढ्दै जान आवश्यक थियो । खेलाडीहरुसँग तयारीका क्रममा दाङदेखि नै प्रतियोगिताको महत्व यो हो, हामीले राम्रो गर्‍यौँ भने आउने दिनमा महिला क्रिकेट राम्रो हुँदै जान्छ भनेर पुरुष क्रिकेट टिमको सफलताबारे जानकारी गरायौं ।  त्यो कुराहरु हामीले बन्द प्रशिक्षण शिविरदेखि भन्दै आएका थियौँ । खेलाडीहरु पनि त्यसलाई बुझेर प्रतियोगितामा राम्रो गर्न उत्साही थिए ।

छनोट प्रतियोगिताको लागि करिब दुई महिनाको तयारी भयो । दिल्लीमा अन्तिम समयमा अभ्यास खेलहरु भयो । प्रशिक्षण र अभ्यास खेलमा के कुरा सिक्यौं र विश्वकपमा छनोट भयौं ?

हाम्रो टोलीमा सिनियर टिमबाट खेलिसकेका खेलाडीहरु पनि छन् । प्रदेशस्तरमा खेलेका खेलाडी पनि छन् । केही नयाँ अनुहार पनि छन् । हामीले उनीहरुको पोजिसनको महत्वबारे बुझाउने प्रयास गर्‍यौं र उनीहरुलाई तयार गरेका थियौँ । भैरहवा हुँदा बन्द प्रशिक्षणमा पुरुष यू-१९ टिमसँग अभ्यास खेल खेलेका थियौं ।

दिल्लीकै महिला टिम पनि राम्रो थियो । प्रशिक्षण र अभ्यास खेल हाम्रा खेलाडीहरुका लागि आँखा खोल्ने खालको थियो । दिल्लीमा भएका अभ्यास खेलबाट खेलाडीहरुले कसरी राम्रो क्रिकेट खेल्नुपर्छ भनेर अझ राम्रोसँग बुझे । प्रशिक्षण त हामीले गरेकै थियौँ तर दिल्लीको अभ्यास खेलले फाइन फिनसिङ आयो ।

छनोटमा चार टिम भएपनि नेपाल र युएई दाबेदार थिए । पहिलो खेलमा युएईसँग झिनो अन्तरले हार्‍यौं । एक सातामै ६ खेल खेल्नुपर्ने चुनौती थियो समग्रमा कस्तो भए प्रदर्शन ?

नतिजा राम्रो आएपछि समग्र प्रदर्शन राम्रो नै भयो । तर हामीले खेल्दै जाने क्रममा पहिलो खेलमा युएईसँग खेल्दा पराजित भयौँ । त्यसमा हाम्रो बलिङ युनिटले राम्रो गर्न सकेको थिएन ।

दोस्रो पटक खेल्दा भने हामीले बलिङ युनिटसँग रहेर अभ्यास गरेका थियौँ । बलिङ युनिटलाई युएईसँगको खेलका लागि गेमको आवश्यकता अनुसार खेलाडीलाई थप तयारी गराएका थियौँ र खेलाडीले पनि अन्तिम खेलमा सोचे अनुसार नै बलिङ गरे ।

सुरुदेखि नै युएईका ब्याटरलाई हाम्रो बलरले दबाबमा राखे । जसको नतिजास्वरुप हामीलाई सहज लक्ष्य प्राप्त भयो र नेट रनरेटमा छनोट हुन सक्ने अवस्था बन्यो ।

युएईलाई ८३ रनमा रोकेपछि नेपाली टिमको मनस्थिति कस्तो थियो? ड्रेसिङ रुमको माहोल कस्तो थियो ?

खेलको सुरुदेखि नै हामी के प्रष्ट थियौं भने आजको खेल नेपाली महिला क्रिकेटका लागि निकै महत्वपूर्ण छ । हामीले समग्र गेममा राम्रो गर्नुपर्छ र नतिजा ल्याउनैपर्छ भन्ने कुरामा दुविधा थिएन । त्यसैको परिणामस्वरुप पहिले फिल्डिङबाट नै राम्रो गर्‍यौँ र ८३ रनमा रोक्यौँ ।

हाम्रो ब्याटिङ युनिट पनि उत्तिकै उत्सुक थियो नतिजा आफ्नो पक्षमा ल्याउनका लागि । ८३ रनको लक्ष्य पाउँदा पनि जितकै लागि र छनोट हुनकै लागि खेल्ने हो । त्यो भन्दा बढी हुँदा पनि छनोट हुनकै लागि खेल्ने हो । हामी सबै कुरामा क्लियर नै थियौँ । ८३ रनको लक्ष्य भेट्न अझ सहज भयो । त्यसैले हामी जित्नेमा ढुक्क थियौँ ।

त्यो खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोज्यो, हामीले टस जितेको भए बलिङ नै गर्थ्यौं कि के थियो ?

अन्तिम खेल भएकाले दुवै टिमका लागि महत्वपूर्ण थियो । युएईको टिमलाई पनि दबाब थियो । अलिकति जटिल अवस्थामा जुन टिमले दबाब ह्यान्डल गरेर राम्रो खेल्न सक्छ त्यसले नै जित्ने हो । यसमा चाहिँ हामीहरुले परिस्थितिमा राम्रो गर्दै गयौँ र नतिजा हाम्रो पक्षमा आयो ।

पछिल्लो पटक हामीले खेल्दा युएईसँग जम्मा ८ रनमा अलआउट भएका थियौँ । प्रशिक्षक पनि तपाईँ नै हुनुहुन्थ्यो । अहिले हामीले युएईले एउटामा हारेपनि अर्कोमा ८ विकेटले हरायौँ । यो दुई वर्ष अन्तरमा हाम्रो टिममा के परिवर्तन आयो ?

अहिलेको टिममा सिनियर टिमबाट खेलिसकेका पूजा र सोनीजस्ता केही खेलाडी छन् । उनीहरुको अनुभव टिमले पायो । त्यसले टिमलाई मजबुती प्रदान गर्‍यो र हामीलाई प्रशिक्षणका लागि पनि डेढ-दुई महिनाको समय प्राप्त भयो ।

त्यसपछि दिल्लीमा अभ्यास खेल खेल्न पायौं । पहिलेको तुलनामा अहिलेको हाम्रो टिम अनुभवसहितको बन्यो र टोली पनि राम्रो थियो । तयारीका लागि पाएको अवसरले पनि परिणाम दिन सक्ने भयौं ।

प्रशिक्षकको रुपमा धेरै घरेलु टिम पनि हेर्नुभएको छ । यू-१९ महिला टिमलाई अहिले विश्वकपमै टिम पुर्‍याउनुभयो । यसले तपाईंको व्यक्तिगत करिअरमा कत्तिको अर्थ राख्छ?

प्रशिक्षकको रुपमा सबैको चाहना हुन्छ कि आफूले पनि राष्ट्रलाई केही योगदान गर्न सकुँ । प्रशिक्षकको रुपमा काम गरेको यत्तिका समय भएपछि आफूले राष्ट्रलाई पनि केही दिन सक्ने अवस्था प्राप्त गर्दा स्वभाविक रुपमा सन्तुष्टि प्राप्त हुन्छ । करियर राम्रै हुँदै जान्छ होला ।

अब लगत्तै हामी एसिया कप खेल्दैछौँ र विश्वकप पनि नजिक छ । दुई महिना अब महत्वपूर्ण छ । तपाईं नै प्रशिक्षङ्क रहनुहुन्छ होला । विश्वकपपा ठूला टिमसँग खेल्नेछौँ । त्यसको तयारी कसरी भइरहेको छ ?

अब हामी टेष्ट मान्यताप्राप्त देशबाट खेल्दा पक्कै चुनौती हुन्छ । ब्याटिङमा, बलिङमा सबैमा चुनौती हुन्छ । हामीले त्यहाँ राम्रो गर्नका लगि तयारी पनि त्यही अनुसार गर्दै जानुपर्छ ।

पाएको सफलतालाई निरन्तरता दिँदै जानुपर्ने जिम्मेवारी पनि छ । सम्भवत म नै प्रशिक्षक रहेमा टोलीलाई त्यहाँ गेमको आवश्यकता अनुसार तयार गर्नका लागि आवश्यक कार्यक्रम बनाउनेछौं ।

सिनियर टिमले २००७ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको विश्वकप पुग्न सकेको छैन । जुनियर टिमले विश्वकपमा स्थान बनायो । आउने दिनमा महिला क्रिकेटलाई कसरी अगाडि बढायो भने सिनियर टिमले पनि विश्वकप खेल्न सक्ला ?

पहिला कुरा त मैले बुझेको आफूले आफैंलाई विश्वास गर्ने हो ।  खेलाडीहरुले हामी गर्न सक्छौँ भन्ने विश्वास राखेमा मात्र राम्रो गर्न सक्छौं । पछाडिबाट धकेलेर मात्र अगाडि पुगिन्न ।

विश्वकपमा पुग्नका लागि आफूलाई विश्वास गरेर तयारी गर्नुपर्छ । त्यसो गरेमा नसकिने भन्ने हुँदैन । अहिले यु-१९ टिमले प्रमाणित गरेर देखाएको छ । युवा खेलाडीले गर्न सक्छन् भने उनीहरुका दिदीहरुले पनि गर्न नसक्ने कुरा छैन । त्यो विश्वाससहित आवश्यक तयारी गर्नुपर्छ ।

हेर्नुहोस् भिडियो

तस्वीर र भिडियो : चन्द्रबहादुर आले 

महेश प्रसाद रिजाल यू-१९ महिला राष्ट्रिय क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय