
४ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष (आव) पहिलो चौमास (साउन–कात्तिक) मा सरकारको सार्वजनिक ऋण करिब ८४ अर्ब रुपैयाँले बढेको छ । १ साउनमा २४ खर्ब ३४ अर्ब १० करोड रहेको सार्वजनिक ऋण कात्तिक मसान्त आइपुग्दा ८३ अर्ब ९६ करोड बढेर २५ खर्ब १८ अर्ब ६ करोड पुगेको छ ।
सरकारले यस अवधिमा १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ थप सार्वजनिक ऋण लिएको छ । यो अवधिमा सावाँ र ब्याजमा मात्र १ खर्ब ८ अर्ब १४ करोड खर्च गरेको छ ।
चार महिनामा विनिमय दरमा आएको परिवर्तनका कारण ४ अर्ब ५६ करोड रुपैयाँ बराबर वैदेशिक ऋणको दायित्व थप भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चार महिनामा उठाएको रकममध्ये आधाभन्दा धेरै ऋण तिर्नै ठिक्क हुने गरेको देखिन्छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिकसम्म नेपाल सरकारको तिर्न बाँकी ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यो रकम असोज मसान्तसम्मको तिर्न बाँकी ऋणको तुलनामा ४ अर्ब ९८ करोड कम हो ।
असोज मसान्तसम्म सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्म सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४४.१४ प्रतिशत सार्वजनिक ऋण पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । पहिलो चौमासिकसम्म आइपुग्दा खुद सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड थप भएर २५ खर्ब १८ अर्ब ५ करोड पुगेको हो ।
कार्यालयको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब १६ करोड र वाह्य ऋण १२ खर्ब ६५ अर्ब ८९ करोड रहेको छ ।
यसअवधिसम्म सरकारले १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ ऋण लिएको छ । ८६ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको छ । विनिमय दरमा आएको परिवर्तनका कारण चार महिनामा ४ अर्ब ५६ करोड रुपैयाँ ऋण घटेको छ ।
एक वर्षमा साढे ५ खर्ब ऋण लिने लक्ष्य
सरकारले चालु आर्थिक वर्षभरि ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । जसमध्ये कात्तिकसम्म १ खर्ब ६५ अर्ब ७२ करोड ऋण उठाइएको हो । यो कुल लक्ष्यको ३०.३० प्रतिशत हो । यस वर्ष सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिँदैछ । कात्तिक मसान्तसम्म १ खर्ब ४४ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । जुन लक्ष्यको ४३.६४ प्रतिशत हो । यस वर्ष २ खर्ब १७ अर्ब रुपैयाँ वाह्य ऋण उठाउने लक्ष्य छ ।
कात्तिकसम्म २१ अर्ब ७२ करोड ऋण उठाइएको छ । जुन लक्ष्यको १०.०१ प्रतिशत मात्र हो । वाह्य ऋण सामान्यतया विकास खर्चसँग जोडिने गर्छ । विकास खर्चले गति लिने क्रमसँगै ऋण प्राप्तिसमेत बढ्ने कार्यालयको भनाइ छ ।
ऋण तिर्नै ४ खर्बमाथि बजेट
यस वर्ष सरकारले सार्वजनिक ऋण तिर्न मात्र ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ८ अर्ब १४ करोड भुक्तानी गरिएको छ । यो वार्षिक विनियोजित बजेटको आधारमा २६.८४ प्रतिशत हो ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा कात्तिक मसान्तसम्म तिरेको सावाँ ब्याज खर्च १.१० प्रतिशत हाराहारी हो । कात्तिक मसान्तसम्म सराकरले आन्तरिक ऋणको साँवा भुक्तानीमा ७२ अर्ब ७४ करोड खर्च गरेको छ ।
ब्याज भुक्तानीमा १८ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा १३ अर्ब ५७ करोड र ब्याज भुक्तानीमा २ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ ।
यसरी चार महिनामा सार्वजनिक ऋणको सावाँ भुक्तानी ८६ अर्ब ३१ करोड र ब्याज भुक्तानी २१ अर्ब ८२ करोड रुपैयाँ भएको छ ।
प्रतिक्रिया 4