५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ ।
टेलिकम र रोयल्सबीच बुधबार एक कार्यक्रममार्फत सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षार गरिन् ।
सम्झौतापछि सीईओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिए । खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताए ।
टेलिकमका प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिंदै आएको एवम् नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिएको स्मरण गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताइन् ।
एनपीएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकास क्रमकै महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताउँदै यसमा सुदूरपश्चिम रोयल्सको विशेष भूमिका रहने विश्वास पनि उनले व्यक्त गरिन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । त्यस्तै मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा तथा मेन्टरमा अष्ट्रेलियाका ब्राड हज छन् ।
सूदूरपश्चिमको टोलीमा मार्की दीपेन्द्रसहित आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ छन् भने विदेशी खेलाडीमा ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुग्लेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) छन् ।
प्रतिक्रिया 4