+
+

राहदानी विभाग परिसरमा फोटो-भिडियो खिच्न सञ्चारमाध्यमलाई रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते २०:४८
तस्वीर : शंकर गिरी/अनलाइनखबर

९ मंसिर, काठमाडौं । राहदानी विभागले विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटो/भिडियो खिच्न निषेध गरेको छ ।

पाँच दिनदेखि सेवा अवरुद्ध भएकोबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई विभागले फोटो/भिडियो खिच्न निषेध गरेको हो ।

यही सूचना पाएपछि आज अनलाइनखबरको टोली पनि त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा पुगेको थियो । अनलाइनखबरकर्मी रविन्द्र घिमिरे र शंकर गिरीलाई प्रहरीहरुले अघिपछि लागेर महानिर्देशक तिर्थराज अर्यालको कार्यकक्षसम्म पुर्‍याएका थिए ।

महानिर्देशक अर्यालले भवनको, कर्मचारीको र मुख्य गेटको फोटो/भिडियो खिच्न निषेध नगरेको तर कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद गर्न नपाइने बताए ।

‘सेवाग्राहीले हाम्रो अनुहार मिडियामा आयो भनेर गुनासो गर्नुहुन्छ, त्यही भएर सेवाग्राही देखिने गरी फोटो/भिडियो खिच्न पाउनुहुन्न,’ उनले भने ।

महानिर्देशक अर्यालले यसो भने पनि त्यसको सूचना भने विभाग परिसरमा कतै पनि टाँस गरिएको देखिएन । सेवाग्राहीहरुले पनि क्यामरा सामु आफ्ना समस्याबारे बोलेका छन् ।

हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?