+
+

स्विडेनकी लैंगिक समानता मन्त्रीलाई केरा फोबिया

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते ८:५४

कतिपय मानिसमा विभिन्न चिजवस्तुबाट डर लाग्ने अनौठो समस्या हुन्छ, जसलाई फोबिया भनिन्छ । कसैलाई पानीदेखि डर लाग्छ त कसैलाई अग्लो ठाउँदेखि अनि कसैलाई बन्द कोठामा रहँदा । उता स्विडेनकी एक महिला मन्त्रीलाई भने केरादेखि डर लाग्छ।

स्विडेनकी लैंगिक समानता तथा कार्यजीवन मन्त्री पाउलिना ब्रान्डबर्गलाई केरा फोबिया छ । जसका कारण उनी त्यो स्वादिष्ट तथा लोकप्रिय फल खान त परै जाओस् नजिकै ल्याउन पनि सक्दिनन् ।

पाउलिनाले आफ्नो केरा फोबियाको बारेमा सन् २०२० मा एक ट्वीटमार्फत् खुलासा गरेकी थिइन् । जुन ट्वीट अहिले उनले डिलिट गरिसकेकी छिन् ।

त्यसयता धेरैको विस्मरणमा पुगिसकेको उनको अनौठो फोबिया अहिले फेरि चर्चाको विषय बनेको छ । द एक्सप्रेस्ड पत्रिकाले यस विषयमा विभिन्न खुलासा सहितका श्रृंखलाबद्ध समाचार प्रकाशित गरेपछि स्विडिस मन्त्रीको केरा फोबिया अन्तर्राष्ट्रिय रुपमै चर्चित बनेको हो ।

समाचार अनुसार मन्त्री पाउलिनाले आफुबाट केरालाई टाढै राख्नका लागि निकै मिहिनेत गरिरहेकी छिन् । सार्वजनिक कार्यक्रम तथा पार्टीहरुमा उपस्थित हुँदा उनले आफ्नी सहयोगी मार्फत् आयोजक तथा अन्य उपस्थित मानिसहरुलाई त्यस विषयमा सूचित गराउने गरेकी छिन् ताकि त्यहाँ कसैले केरा नल्याओस् ।

गत सेप्टेम्बरमा मन्त्री पाउलिनाको सचिवालयबाट स्विडिस सभामुखको कार्यालयमा लेखिएको पत्रमा मन्त्रीलाई केराको कडा एलर्जी रहेको भन्दै कोठामा कत्तिपनि केरा हुन नहुने उल्लेख गरिएको थियो ।

यस फोबियाका विषयमा मन्त्री पाउलिनाले कुनै प्रतिक्रिया नजनाएको तर आफूमा देखिएको उक्त समस्याका विषयमा निकट भविष्यमा डाक्टरलाई देखाउने बताएको समाचारमा उल्लेख गरिएको छ ।

स्मरण रहोस् मानिसमा केरा फोबिया हुनु निकै दुर्लभ कुरा हो । तर यो समस्या भएका मानिसमा केरा सुँघ्दा र हेर्दा समेत एन्जाइटी हुने, वाकवाकी लाग्ने जस्ता समस्या देखा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?