काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजले ‘टीबीसी करिअर फेस्ट– २०२४’ आयोजना गरेको छ ।
थापाथलीस्थित कलेज परिसरमा ‘ग्रोथ सेलर्स’ सँगको सहकार्यमा सोमबार र मंगलबार करिअर फेस्ट सम्पन्न भएको कलेजले जनाएको छ ।
कलेजका विद्यार्थीमात्रै नभई स्थानीय प्रतिभालाई समेत अवसर प्रदान गर्ने उदेश्यले आयोजना भएको कार्यक्रममा ७५ भन्दा बढी प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो ।
सहभागी कम्पनीहरूले १ हजार ७०० भन्दा बढी विद्यार्थीसँग ‘जब इन्टरभ्यु’ लिएका थिए । उनीहरूमध्ये १ हजार १४० जना विद्यार्थी विभिन्न ७४ वटा कलेजका विद्यार्थी रहेका थिए ।
ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले सुरुवात गरेको कार्यक्रममा प्रतिष्ठित कम्पनीका प्रतिनिधिहरूले सहभागीलाई विभिन्न सेसनमार्फत व्यावहारिक जानकारी दिएका थिए ।
कार्यक्रममा एसियन पेन्ट्स नेपालका हेड अफ ह्युमन रिसोर्स श्याम कृष्णनले प्रविधिले रोजगारको क्षेत्रमा पारेको प्रभावबारे आफ्ना धारणाहरु राखेका थिए ।
आईएमई ग्रुपका निर्देशक निशान ढकालले करियर निर्माणका लागि व्यावहारिक सुझाव दिएका थिए ।
कार्यक्रममा प्लान इन्टरनेसनल नेपालको एचआर म्यानेजर प्रशंसा सुवेदीले ‘रोजगारीको पहुँच विस्तार र अवसरलाई नेपालमा कसरी प्रवर्धन गर्ने’ शीर्षकमा आफ्ना प्रस्तुति दिएकी थिइन् ।
‘नेपालमा भविष्यको रोजगार र एआईले रोजगारी ट्रेन्डलाई कसरी आकार दिँदैछ’ भन्ने विषयमा प्यानलगत छलफल गरिएको थियो । प्यानलगत छलफल ग्लोबल आईएमई बैंकका उप–कार्यकारी निर्देशक सुमन पोखरेल, क्लाउड फ्याक्ट्रीका कन्ट्री म्यानेजर प्रशान्त पोखरेल र लोटस होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत अजीत शाह सहभागी थिए ।
ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याक्रुडेनले प्रविधिको सदुपयोग गरेर नेपालमा नै अवसर सिर्जना गर्नुपर्ने कुरामा जोड दिए ।
एआईले मानिसको काम नखोसेको भन्दै उनले एआईको प्रयोगबाट उत्पादन क्षमता बढाउन सकिने उनको धारणा थियो ।
‘टीबीसी करियर फेस्ट– २०२४’ नेपालका उत्कृष्ट प्रतिभाहरू देशमै राख्ने र उनीहरूलाई देशभित्रै वृद्धि र विकासको अवसर प्रदान गर्ने मञ्च भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4