
१२ मंसिर, काठमाडौं । इजरायलले कृषि, निर्माण लगायतका अन्य क्षेत्रमा समेत नेपालीलाई रोजगारी लैजान सकिने बताएको छ । नेपाली कामदारहरूलाई केयरगिभिङ बाहेकका क्षेत्रमा पनि श्रमिकका रुपमा अवसर दिन इजरायल सकारात्मक देखिएको हो ।
बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले भेटवार्ता गर्दै नयाँ क्षेत्रमा नेपालीहरूलाई रोजगारीको अवसर दिन सकिने बताएका हुन् ।
श्रममन्त्री भण्डारीले पनि कामदारको सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण लगायतका क्षेत्रमा सहकार्य गर्दै आगामी दिनमा कृषि, निर्माण लगायतका क्षेत्रमा थप सीपयुक्त जनशक्ति पठाउने सम्बन्धमा सहकार्य गर्नुपर्ने बताएका थिए ।
भेटवार्तामा राजदूत स्मुलिक एरी बासले नेपाली कामदारहरुले केयरगिभिङको क्षेत्रमा उत्कृष्ट काम गरिरहेको भन्दै खुसी प्रकट गरेका थिए । उनले इजरायलमा युद्धविराम समेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरुलाई क्रमशः लैजाने जानकारी पनि दिए । राजदूत बासले केयरगिभरको रुपमा इजरायल जान छनोट भएर पर्खाइमा रहेका नेपाली कामदारहरूलाई यथाशीघ्र पठाउनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए ।
सरकारले इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै त्यहाँ श्रमिक पठाउने बताउँदै आएको छ । जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट केयरगिभरको रुपमा इजरायल जाने १४ असोजमा २ हजार ११२ जना नेपाली श्रमिकलाई चिठ्ठा प्रणालीबाट गरिएको थियो ।
केयर गिभरको काम गर्न इजरायलले गोला प्रथाबाट छनोट गरेका नेपालीमा एक हजार १५६ महिला र पुरुष ९५६ छन् । छनोट भएका श्रमिकलाई पठाउन स्वास्थ्य परीक्षणपछि पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिनुपर्छ । तर, अहिले सरकार यी प्रक्रिया अघि बढाइहाल्ने पक्षमा छैन ।
इजरायल भने अब नेपाली श्रमिक लगिहाल्ने पक्षमा देखिएको छ । भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन गर्ने, कामदारको स्रोत मुलुकको रुपमा नेपाललाई इजारायलले सूचीकृत गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
मन्त्रालयका सहप्रवक्ता बसन्त बोहोराका अनुसार कृषि, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हक अधिकार संरक्षण र सुरक्षा लगायतका विषयमा थप कुटनीतिक पहल अघि बढाउनेबारे पनि छलफल भएको थियो ।
प्रतिक्रिया 4