+
+
WC Series
पोखरा एभेन्जर्स 2025
21/1 (3.4)
VS
९८ बलमा १४५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

युवाहरू ‘कालापहाड’, सुनसान बन्दै गाउँ

पछिल्ला केही वर्षदेखि घरै रित्तो बनाएर भारत जाने क्रम बढेकाले बाजुराका सबैजसो गाउँ रानकाँडाजस्तै सुनसान छन् ।

प्रकाश सिंह प्रकाश सिंह
२०८१ मंसिर १३ गते ११:२६
बाजुराको खप्तड छेडदह गाउँपालिका वडा नं. १ को रानकाँडा गाउँमा भारत जानेहरुलाई बिदाइ गर्नेहरुको भीड ।

१३ मंसिर, बाजुरा । युवाजति धमाधम भारत (कालापहाड) जान थालेपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी गाउँ युवाविहीन बनेका छन् । गाउँमा गरिखाने मेसो नभएको भन्दै युवाहरु भारत जाने क्रम बढेपछि गाउँहरू सुनसान बनेका हुन् । पुरुष मात्र नभइ महिला समेत भारत जानेक्रम बढिरहेको छ ।

बाजुराको खप्तड छेडदह गाउँपालिका वडा नं. १ को रानकाँडा गाउँका अधिकांश घरमा ताल्चा झुन्डिएको देखिन्छ । जुन घरका मूल ढोका खुला छन्, त्यहाँ ज्येष्ठ नागरिक र साना बालबालिकाहरु मात्र देखिन्छन् । लामो समयसम्म मानिस बस्न छाडेकाले केही घरहरु खण्डहर बनेका छन् ।

‘गाउँमा आम्दानीको स्रोत नभेटेपछि गाउँलेलाई घर खाली गरेर मजदुरी गर्न भारत जानुपर्ने बाध्यता छ,’ खप्तड छेडेदह गाउँपालिकाका स्थानीय दान बहादुर रोकाया भन्छन्, ‘युवाजति सबै भारत जाँदा खेतीपातीलगायत कामको बोझ ज्येष्ठ नागरिकले बोक्नुपरेको छ । उनीहरुलाई घर व्यवहार धान्न र वस्तुभाउ स्याहार्न सकस भएको छ ।’

दशैं, तिहार र असार महिनाका केही दिन गाउँबस्ती युवाले भरिभराउ हुन्छ । त्यसपछि युवाहरु रोजगारीका लागि भारत जाने गर्दछन् । भारत कमाउन जाने चलन पुरानै हो । तर पछिल्ला केही वर्षदेखि घरै रित्तो बनाएर भारत जाने क्रम बढेकाले बाजुराका सबैजसो गाउँ रानकाँडाजस्तै सुनसान छन् ।

कालापहाड जान लागेकाहरू र बिदाइ गर्न आएका आफन्तहरू ।

गाउँमा रोजगारी नपाइने भएकाले तन्नेरीदेखि ६० वर्ष उमेर समूहका सबै मजदुरीका लागि भारत गएको खप्तड छेडेदह गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष भक्त बहादुर बुढाले बताए । ग्राजा गाउँमा २ सय परिवार छन्, जसमा ११ जना पुरुष मात्र गाउँमा रहेको अध्यक्ष बुढाले बताए । ‘युवाका लागि गाउँमा रोजगारी मिल्दैन । ठूला योजनाहरुको पालिकाले टेण्डर गरेर ठेक्कामा दिन्छ, ठेकेदारले आफ्ना कामदार लगाउने हुँदा गाउँमा भएका युवाहरु बेरोजगार हुन्छन्,’ वडा अध्यक्ष बुढा भन्छन्, ‘यहीँ बसेर केही व्यवसाय गरौँ भने उनीहरूसँग पुँजी छैन ।’

जिल्लामा प्रधानमन्त्री रोजगार लगायतका कार्यक्रम लागु छ । तर ती कार्यक्रममा दुर्गम भेगका बासिन्दाको पहुँच पुग्न नसकेको स्थानीयको भनाइ छ । ‘हामी गरिबको पहुँच नपुग्दा स्थानीय तहले रोजगार दिँदैन,’ खप्तड छेडेदह गाउँपालिका ३ का कलक रावत भन्छन्, ‘बाध्य भएर चौकीदारी गर्न भारत जान्छौं । रावत जस्तै बाजुराका अधिकांश युवाहरुले भारतको बाटो तय गरिसकेका छन् भने केही युवा गन्तव्यमा पुगेर काम थालिसकेका छन् ।

भारत जानका लागि कञ्चनपुरको महेन्द्रनगरसम्म पुग्ने बस टिकट काट्नेहरुको सदरमुकाम मार्तडी सहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौं, बाम्का लगायतका ठाउँका काउन्टरहरुमा भीड लाग्ने गरेको छ । मार्तडीको बस काउन्टरका एक कर्मचारीले भने, ‘महेन्द्रनगरसम्म पुग्ने बस भारत जाने युवाहरुले भरिभराउ हुन्छ ।’

उसो त सुदूरपश्चिमेलीहरू अहिले मात्रै होइन, बाह्रैमहिना कामको खोजीमा भारत जाने गर्दछन् । स्थानीयस्तरमा भरपर्दो काम नहुँदा उनीहरु भारतमै निर्भर छन् । तर नेपाल सरकारका निकायसँग कति संख्यामा रोजगारीका लागि भारत जान्छन् भन्ने एकिन तथ्यांक छैन । गाउँ नै रित्तिने अवस्था आउँदा पनि त्यसलाई रोक्न सरकारी पहल भएको देखिँदैन ।

नागरिक अगुवा मदन जोशी भन्छन्, ‘नेपालमा राणा शासनदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र हुँदै तीन तहका सरकार भए पनि युवाहरुले रोजगारको सुनिश्चितता नपाउनु दुःखद छ ।’

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?