+
+

स्वास्थ्य सम्मेलनको पूर्वसन्ध्यामा युरोपका स्वास्थ्यकर्मीले सुझाव संकलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १९:१३

१४, मंसिर, बार्सिलोना । नेपाल स्वास्थ्य सम्मेलन २०२४ को पूर्वसन्ध्यामा प्रवासमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई एकजुट गर्न र सम्मेलनलाई थप प्रभावकारी बनाउनका लागि प्रि-कन्क्लेभ मिट आयोजना हुने भएको छ।

कार्यक्रम सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स् इन युरोपको पहलमा डिसेम्बर ८, आईतबार भर्चुअल जूम प्लेटफर्ममा हुनेछ। कन्क्लेभलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सम्बोधन गर्नेछन् । विशेष बैठकमा प्रवासी नेपाली स्वास्थ्यकर्मीहरूले आफ्नो अनुभव र सुझाव साझा गर्दै नेपालका स्वास्थ्य क्षेत्रमा सुधारका लागि उपयुक्त रणनीतिहरू प्रस्तुत गर्नेछन् ।

यसका माध्यमबाट सम्मेलनको समग्र प्रभाव र व्यावसायिक दृष्टिकोणलाई थप सशक्त बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स् इन युरोपका अध्यक्ष डा. विनयकुमार श्रेष्ठका अनुसार, प्रि-कन्क्लेभ मिटले स्वास्थ्य सम्मेलनलाई थप सशक्त र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ । ‘यो कार्यक्रमले प्रवासी स्वास्थ्यकर्मीहरूको अन्तर्राष्ट्रिय अभ्यास र सफल मोडलहरूको विश्लेषण गरी नेपालका लागि उपयुक्त समाधानहरूको खोजी गर्न मद्दत गर्नेछ,’ उनले भने ।

डा श्रेष्ठले कार्यक्रम अर्थपूर्ण रहेकाले युरोपमा रहेका स्वास्थ्यकर्मीहरुलाई भर्चुअल माध्यमबाट जोडिन समेत अनुरोध गरेका छन् । प्रि-कन्क्लेभ मिटमा प्रमुख वक्ताहरूमा प्रा. डा. दीपक सापकोटा (नर्वे), प्रा. डा. कौशल किशोर तिवारी (इटाली), डा. दीपराज थापा (स्विडेन), डा. राजु श्रीवास्तव (बेल्जियम), डा. सागर धिताल (जर्मनी), डा. कृष्णप्रसाद खनाल (अमेरिका), र डा.बच्छु कैलाश कैनी (बेलायत) जस्ता स्वास्थ्य विशेषज्ञहरू समावेश छन् ।

यस प्रि-कन्क्लेभ मिटको माध्यमबाट,नेपालका स्वास्थ्य क्षेत्रका नीतिहरूमा सुधार, प्रविधिको प्रयोग र प्रवासी स्वास्थ्यकर्मीहरूको साझेदारीलाई प्रवर्द्धन गर्ने अवसर प्राप्त हुने आयोजकले जनाएको छ।यसले सम्मेलनमा सहभागी हुने स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, र सरोकारवालाहरूलाई प्रेरित गर्दै भविष्यका योजना र परियोजनामा सक्रिय भूमिकामा संलग्न गराउने बताईएको छ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पौष ११ र १२ गते (डिसेम्बर २६ र २७) काठमाडौंमा ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४’ आयोजना गर्न तयारी गरिरहेको छ। यस सम्मेलनको मुख्य उद्देश्य नेपालका स्वास्थ्य क्षेत्रको सुधारमा प्रवासी नेपालीहरूको योगदानलाई मूल्यांकन र सक्रिय बनाउने रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?