+
+

ग्रामीण विकास लघुवित्तमा कर्मचारी बढुवा विवाद

कांग्रेस, एमाले र माओवादी निकट तीनवटा ट्रेड युनियनले आन्तरिक परीक्षा अन्तर्गत कर्मचारीको कार्य सम्पादन मूल्यांकन (आन्तरिक फाइल बढुवा) को नतिजा प्रकाशन भएपश्चात मात्र आन्तरिक लिखित परीक्षा गर्न माग गर्दै तालाबन्दी सहित हड्तालमा जाने चेतावनी दिएका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८१ मंसिर १५ गते २१:१३

१५ मंसिर, बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.मा कर्मचारी बढुवा प्रकृयामा ट्रेड यूनियन संगठनले असहमति जनाएपछि विवाद बढेको छ ।

लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरूका तीनवटा ट्रेड युनियन संगठनले मंसिर २२ र २३ गते लिन लागिएको बढुवा परीक्षा तत्काल रद्द गरी कर्मचारीहरूको मुल्यांकनको बढुवा गर्न माग गरेका थिए ।
मुल्यांकनको बढुवा नगरी आन्तरिक बढुवा प्रकृयामा गए स्वीकार्य नहुने कर्मचारी संगठनहरूले चेतावनी दिएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र ग्रामीण विकास लघु वित्त कर्मचारी संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी संस्थाले अघि बढाएको कर्मचारी बढुवाका लागि लिखित परीक्षाप्रति असहमति जनाउंदै श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी संस्था र नियामक निकाय नेपाल राष्ट्र बैंक सहित सरोकारवाला कार्यालयहरुमा विरोध पत्र बुझाएका छन् ।

ट्रेड यूनियन संगठनहरूले आफूहरूका माग सम्बोधन नगरी परीक्षा लिन खोजेमा संस्थामा तालाबन्दी गरी हड्ताल गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र लुँइटेलले वित्तीय संस्थाहरूमा विगतदेखिको अभ्यास अनुसार कर्मचारीको कामको मूल्याङकनका आधारमा हुने मूल्याङकन (फाइल) बढुवा पहिले गरेर मात्र आन्तरिक बढुवा प्रकृयामा जानुपर्ने अन्यथा स्वीकार्य नहुने बताए ।

‘विगतका अभ्यासलाई बेवास्ता गरेर ट्रेड युनियनको असहमतिका बीच आन्तरिक बढुवा (सबैको लिखित परीक्षा) गर्न खोजिए कर्मचारीलाई स्वीकार्य हुंदैन’, लुँइटेलले भने, ‘देशभर लघु वित्त संस्थामाथि प्रश्न उठेका बेला ट्रेड यूनियनहरुको मागलाई नजर अन्दाज गरेर जबरजस्ती गर्न खोजे संस्थाले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ, त्यस्तो नहोस् ।’

अध्यक्ष लुँइटेलले संस्थाले अपेक्षाकृत र सन्तोषजनक वित्तीय प्रगति गर्न नसकेको अवस्थामा आर्थिक क्षमताले थेग्न नसक्ने गरी ५ सय बढी नयां कर्मचारी नियुक्तिका लागि विज्ञापन गरेर ठूलो आर्थिक चलखेल गर्न खोजिएको आरोप लगाए ।

‘परीक्षाको नतिजा फेयर निस्कनेमा थुप्रै आशंका देखिएका छन्, आवेदकसँग ठूलो आर्थिक चलखेल शुरु भइसकेको गुनासा आइसकेका छन्’, लुँइटेलले भने, ‘संस्थाको आम्दानीले थेग्न नसक्ने गरी एकसाथ यति ठूलो संख्यामा कर्मचारी नियुक्त गर्न किन खोजिँदैछ भन्ने विषयमा नियामक र सरोकारवाला निकायले सुक्ष्म निगरानी गर्नुपर्ने देखिन्छ ।’

नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष ईश्वरप्रसाद लम्सालले कर्मचारी संगठन र संस्थाबीच भएको मौखिक सहमति अनुसार कार्यसम्पादन मुल्यांकन (आन्तरिक फाइल बढुवा) को नतिजा प्रकाशन भएपछि मात्र आन्तरिक लिखित प्रयोगात्मक परीक्षा सञ्चालन गरिनुपर्ने माग गरे ।

‘संघ र संस्थाबीच भएको सहमति भन्दा बाहिर गएर प्रकाशित सूचनामा वृत्ति विकासको प्रक्रिया अगाडि नबढाइए कड़ा प्रतिरोधका साथ प्रधान कार्यालय घेराउ र सबै काम ठप्प पारिनेछ’, लम्सालले भने, ‘आन्दोलनबाट उत्पन्न हुनसक्ने हानी नोक्सानीको जिम्मेवारी व्यवस्थापन पक्षको हुनेछ ।’

ट्रेड युनियनहरूले आफ्ना मागबारेको ध्यानाकर्षण पत्र नेपाल राष्ट्र बैंकका गभर्नर, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिको संचालक समिति, बैंक तथा वित्तीय संस्था नियमन विभाग, श्रम कार्यालय बुटवल,लघुवित्त सुपरिवेक्षण विभाग बालुवाटार काठमाडौं लगायत ट्रेड युनियनका केन्द्रीय समितिलाई बोधार्थ पठाएका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले राष्ट्र बैंकबाट स्वीकृत विनियामवली अनुसार बढुवा प्रकृया अघि बढ्ने बताए ।

२०७१ सालदेखि कर्मचारीको आन्तरिक बढुवा नभएकाले साविकका ५ वटा ग्रामीण विकास बैंकहरू मर्ज भएर ग्रामीण विकास लघु वित्त वित्तीय संस्था बनेको हो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?