News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले ५ लघुवित्त वित्तीय संस्थाको पूँजीकोष नियामकीय सीमाभन्दा कम रहेको जनाएको छ।
- लघुवित्तले न्यून पूँजीकोषका कारण व्यवसाय विस्तार र कर्जा लगानी गर्न सक्दैनन्।
- पूँजीकोष अनुपात कायम नगर्ने संस्थालाई केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गर्नेछ।
३ वैशाख, काठमाडौं । सञ्चालनमा रहेका ५ लघुवित्त वित्तीय संस्थाको पूँजीकोष नियामकीय सीमाभन्दा न्यून रहेको पाइएको छ । लघुवित्त वित्तीय संस्थाले आफ्नो पूँजीगत क्षमता भन्दा धेरै कर्जा लगानी गरेकाले पूँजीकोष अनुपात सीमा भन्दा तल झरेको हो ।
पूँजीकोष अनुपात कमजोर हुँदा संस्थाको पूँजीले लगानीको जोखिम क्षमता पूर्ण रुपमा वहन गर्न सक्दैन । वित्तीय क्षेत्रको लगानी र उक्त लगानीबाट आउन सक्ने सम्भावित जोखिम नियन्त्रण क्षमतामा पूँजी तथा पुरक पूँजीको अनुपातलाई यसैबाट हेर्ने गरिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा ४ वटा लघुवित्तको पूँजीकोष अनुपात तोकिएको सीमाभन्दा कम छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा पूँजीकोष अनुपात तोकिएअनुसार कायम गर्न नसक्ने संस्थाको संख्या ११ थियो ।
चालु आवको पुससम्ममा केन्द्रीय बैंकले समस्याग्रस्त घोषण गरेको सञ्जिवनी लघुवित्त वित्तीय संस्थाले समेत पूँजीकोष ३० प्रतिशत कायम गरेको छ । त्यसैगरी शीघ्र सुधारात्मक कारबाही चलिरहेको अभियान लघुवित्तको ८ प्रतिशत भन्दा माथि पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
लघुवित्त वित्तीय संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । तर फरवार्ड लघुवित्त वित्तीय संस्थाको ६.७७ प्रतिशत पूँजीकोष अनुपात रहेको केन्द्रीय बैंकले जनाएको छ । संस्थाको प्राथमिक पूँजीकोष भने ५.१२ प्रतिशत छ ।
त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्थाको पूँजीकोष ६.२७ प्रतिशत रहेको छ भने प्राथमिक पूँजीकोष ४.६२ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार नाडेप लघुवित्त वित्तीय संस्थाको पूँजीकोष अनुपात ७.७० प्रतिशत तथा प्राथमिक पूँजीकोष ७.७९ प्रतिशत छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पनि पूँजीकोष अनुपात तोकिएको सीमा भन्दा न्यून रहेको छ । संस्थाको पूँजीकोष ७.३५ प्रतिशत छ ।
चालु आवको पुससम्ममा संस्थाको प्राथमिक पूँजीकोष अनुपात ६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । मातृभुमी लघुवित्त वित्तीय संस्थाको पनि पूँजीकोष अनुपात ४.७८ प्रतिशत मात्र रहेको छ । संस्थाको प्राथमिक पूँजीकोष ३.०९ प्रतिशत रहेको छ । बाँकी ४६ वटा लघुवित्तमा पूँजीकोष अनुपात तोकिएको सीमामै छ ।
पूँजीकोष अनुपात कायम गर्न नसक्ने संस्थाले व्यवसाय विस्तार गर्न सक्दैन । त्यस्तो अवस्थामा चाहेर पनि संस्थाले कर्जा लगानी गर्न सक्दैन । लगानी बढाउनका लागि पूँजी नै बढाउनु पर्ने हुन्छ । त्यसका साथै नउठेको कर्जा असुल गरेर पनि पूँजीकोष सुधार गर्ने विकल्प रहन्छ ।
केन्द्रीय बैंकले पूँजीकोष तोकिए अनुसार कायम नगर्ने संस्थालाई कारबाही पनि गर्छ । लघुवित्तलाई जारी एकीकृत निर्देशन अनुसार पूँजीकोष सम्बन्धी निर्देशनको पालना नगरेमा शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही हुन्छ ।
त्यसैगरी कुनै आर्थिक वर्षको बीचमा तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम गर्न नसकेमा र सोही आर्थिक वर्षको अन्त्यमा मात्रै पूँजीकोष कायम भएमा राष्ट्र बैंकले नगद लाभांश वा बोनस सेयर घोषणा/वितरण गर्न रोक लगाउँछ ।
केन्द्रीय बैंकले आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक साधारणसभाको स्वीकृति लिने अवधिमा शीघ्र सुधारात्मक कारबाही फुकुवा नभएको अवस्थामा लघुवित्त वित्तीय संस्थालाई नगद लाभांश तथा बोनस सेयर घोषणा/वितरण गर्न रोक लगाएको छ ।
प्रतिक्रिया 4