+
+

सिमेन्ट भाउमा उद्योगीको मिलेमतो, बढाए २० प्रतिशत

यसअघि सिमेन्टको भाउ सरदर प्रतिबोरा ५ सय रुपैयाँ रहेकोमा अहिले ६ सय रुपैयाँ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १३:०७
फाइल तस्वीर

१६ मंसिर, काठमाडौं । उद्योगीले मिलेमतोमा सिमेन्टको भाउ तय गरेका छन् । उनीहरूले सिमेन्टको भाउ बोरामा १ सय रुपैयाँले बढाएको एक व्यवसायीले जानकारी दिए ।

यसअघि सिमेन्टको भाउ सरदर प्रतिबोरा ५ सय रुपैयाँ रहेकोमा अहिले ६ सय पुगेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले बताए ।

सिमेन्ट उत्पादक संघको पहलमा उद्योगीले भाउ बढाएका हुन् । यसरी धेरै उत्पादकले मिलेमतोमा कुनै वस्तुको मूल्य तय गर्ने कार्यलाई ‘कार्टेलिङ’ भनिन्छ ।

खासगरी, क्लिंकर उत्पादक ठूला उद्योगको पहलमा सबै उद्योगले भाउ बढाएको महासंघ पूर्वअध्यक्ष लामिछानेको दाबी छ ।

एक वर्षदेखि सिमेन्ट उद्योगीले भाउ बढाउन प्रयास गरिरहेका थिए । तर, चिनियाँ लगानीका ठूला उद्योग होङ्सी र ह्वासिन सिमेन्ट त्यसमा तयार नभएपछि उनीहरूको प्रयास सफल हुन सकेको थिएन ।

तर, यसपालि होङ्सी र ह्वासिन सिमेन्ट पनि भाउ बढाउन तयार भएपछि सिमेन्टको भाउ बढेको हो ।

‘दुई–चार उद्योगले यसअघि पनि भाउ बढाउने प्रयास गर्दै, पछि हट्दै गरिरहेका थिए । किनभने, होङ्सी र ह्वासिन सिमेन्टकै बजार ठूलो भएको अवस्थामा उनीहरूको प्रयास दिगो हुन सकेको थिएन,’ अर्का एक उद्योगीले भने, ‘यसपालि भने यी दुई उद्योग नै पनि भाउ बढे हुन्थ्यो भन्ने मनस्थितिमा थिए, उनीहरू नै तयार भएपछि भाउ बढेको हो ।’

भाउ बढेपछि ठूलो मात्रामा ऋण भएका उद्योगी ‘ब्रेक इभन’ (खर्च–आम्दानी बराबर) को अवस्थामा पुग्ने ती उद्योगीको दाबी छ ।

‘प्रतिबोरा ६ सय रुपैयाँ भाउ पुग्दा जुन उद्योगको ऋण बाँकी छैन, ती नाफामा जान्छन्, जसको ऋण पनि बाँकी छ, ती ब्रेक इभनमा पुग्छन्,’ उनले भने ।

सिमेन्ट उद्योगीले ‘अस्वस्थ प्रतिस्पर्धा’ गरी विगतमा लागतभन्दा पनि कममा बेचिरहेकोमा त्यसलाई सच्याएको दाबी सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुले गरे ।

‘उद्योगीहरूले घाटामै सिमेन्ट बेचिरहेको अवस्था थियो, पब्लिक कम्पनीहरूको वित्तीय विवरणमा पनि तपाईं त्यो देख्न सक्नुहुन्छ, त्यो अवस्थामा रहेर टिक्न सकिँदैन भनेर केही उद्योगहरूले मूल्य समायोजन गरेका छन्,’ उनले भने ।

अहिले सिमेन्टको सिजन पनि भएकाले यो बेला घाटा कम गर्न सकिन्छ कि भन्ने उद्योगहरूको प्रयास रहेको उनको दाबी छ ।

तर, सिमेन्ट उत्पादक संघले मिलेमतोमा भाउ तय गरेको कुरालाई भने उनले अस्वीकार गरे । ‘एउटाले भाउ बढाउँदा अर्कोले पनि बढायो होला तर त्यसमा उद्योग संघको भूमिका छैन,’ उनले दाबी गरे ।

सिमेन्ट उद्योगहरूले विगतमा घाटामा सिमेन्ट बेच्नु परिरहेकाले केही उद्योगले भाउ बढाएको हुन सक्ने नेपाल उद्योग परिसंघ अध्यक्ष तथा तानसेन सिमेन्टका सञ्चालक राजेशकुमार अग्रवालले बताए ।

‘विगतदेखि नै सिमेन्ट उद्योगहरू घाटामा थिए, विद्युत् कटौती पनि सुरु भएपछि त्यसले लागत थप बढाउने छ, त्यसो हुँदा केही उद्योगले भाउ बढाएको देखिन्छ,’ उनले भने ।

होङ्सी र ह्वासिन सिमेन्टले पनि विगतमा घाटामा नै सिमेन्ट बिक्री गरिरहेको अवस्थामा उनीहरूले पनि बढाएको हुन सक्ने उनको भनाइ ।

तर, सिमेन्ट उद्योगीले कार्टेलिङ गरेको आरोप भने उनले अस्वीकार गरे ।

अहिले नेपाली उद्योगको कुल सिमेन्ट उत्पादन क्षमता प्रतिवर्ष ५० करोड बोरा रहेको संघले जनाएको छ । तर, उद्योगीहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?