 
																			१६ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ब्रिक्स देशहरूले अमेरिकी डलरको विकल्प खोज्न लागेको विषयमा कडा चेतावनी दिएका छन्।
ट्रम्पले ब्रिक्स देशहरूका डलरको विकल्प खोजे ती देशका उत्पादनहरूमा १०० प्रतिशत आयात कर लगाउने धम्की दिएका छन्।
भारत र चीन ब्रिक्समा सहभागी प्रमुख उदीयमान अर्थतन्त्रहरू हुन् ।
ट्रम्पले आफ्नो चुनावी अभियानमा अमेरिकी बजारमा चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म भारी कर लगाउने वाचा गरेका थिए। यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार युद्ध चर्किने सम्भावना बढाएको छ।
ट्रम्पले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘डलरबाट टाढिने ब्रिक्स देशहरूको प्रयास अमेरिकाले मूकदर्शक बनेर हेरिरहन्छ, अब यस्तो हुनसक्दैन ।’
उनले अगाडि थपेका छन्, ‘ब्रिक्स देशहरूले डलरको विकल्प खोज्नुपर्ने प्रयासलाई हामी मूकदर्शक भएर हेर्न सक्दैनौं। यस्तो गरेमा तिनले शतप्रतिशत कर (ट्यारिफ) को सामना गर्नुपर्नेछ।’
ट्रम्पले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरलाई चुनौती दिन खोजे अमेरिकी बजारमा ती देशहरूको सामान बेच्ने अवसरमा बन्देज लगाउनुपर्ने तर्क गरेका छन् । ‘ब्रिक्स देशहरूको मुद्राले अन्तर्राष्ट्रिय व्यापारमा डलरको स्थान लिन सम्भव छैन, यदि कोही देश यस्तो प्रयास गर्छ भने, उसले अमेरिका छोड्न तयार हुनुपर्छ,’ ट्रम्पले चेतावनीपूर्वक भनेका छन् ।
केही समय यतादेखि ब्रिक्स सदस्य राष्ट्रहरूबीच आफ्नै साझा मुद्रा निर्माणको सम्भावनाबारे छलफल भएको थियो। यद्यपि हालसम्म यसबारे कुनै ठोस निर्णय भएको छैन ।
बीबीसीका अनुसार ब्रिक्स देशहरूबीच सीमापार भुक्तानीका लागि नयाँ प्रणाली विकास गर्ने बारे छलफल भए पनि अक्टोबरमा रसियाको कजानमा भएको ब्रिक्स सम्मेलनमा यस्तो कुनै निर्णय भएन ।
रूसी राष्ट्रपति पुटिनले स्थानीय मुद्राको प्रयोग द्विपक्षीय व्यापारलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन उपयोगी हुने बताएका थिए । यद्यपि उनले डलरको प्रतिस्थापन नभएर बाध्यताको कारण विकल्प खोजेको स्पष्ट पारेका थिए ।
रूसमाथि लगाइएको पश्चिमी आर्थिक प्रतिबन्धले डलरको प्रयोगमा समस्या थपिएको पनि रूसले नयाँ मुद्रा बारेको छलफलमा नयाँ पहलकदमी लिएको थियो ।
ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4