+
+

प्रधानमन्त्रीको चीन भ्रमण : मन्त्रिपरिषद्‌बाट सम्झौतापत्र स्वीकृत

मन्त्रिपरिषद् बैठकले २० मिलियन डलर बराबर अनुदान लिनेसम्बन्धी सम्झौताको मस्यौदा र नेपालमा ‘भोलिन्टियर चाइनिज ल्यांग्वेज टिचर्स प्रोग्राम’ चलाउने प्रस्ताव स्वीकृत गरेको छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ मंसिर १६ गते २२:२३

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारबाट सुरु गर्ने चीन भ्रमणका क्रममा विभिन्न सम्झौता तथा समझदारी पत्रहरुमा हस्ताक्षर हुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीनसँग हुने विभिन्न समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार नेपाल र चीनबीच नेपालमा ‘भोलिन्टियर चाइनिज ल्यांग्वेज टिचर्स प्रोग्राम’ चलाउनेबारेको समझदारीपत्र स्वीकृत भएको छ । उक्त समझदारीमा हस्ताक्षर गर्न शिक्षा विज्ञान ताथ प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यसैगरी बैठकले २० मिलियन डलर बराबरको अनुदान लिनेसम्बन्धी सम्झौताको मस्यौदा स्वीकृत गरेको छ । यसमा हस्ताक्षर गर्नका लागि अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियारी दिइएको छ ।

यस्तै बैठकले संलग्न प्रस्तावित ३०० मिलियन आरएमबी (युआन) आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौतापत्र पनि स्वीकृत गरेको छ । यसमा अर्थ सचिव घिमिरेले नै हस्ताक्षर गर्नेछन् ।

यस्तै चीनसँग हुने ‘संलग्न विकास योजना २०२५–२०२९’बारेको समझदारीको मस्यौदा पनि स्वीकृत भएको छ । ‘फ्रेमवर्क कोअपरेसन अफ बीआरआई’ पनि भ्रमणको एजेन्डा छ ।

‘बीआरआईमा जे जति कुरा भएको छ, त्यसमा कसरी गर्ने भनेर एउटा प्रोग्राम बन्छ,’ उनले भने, ‘त्यहाँ कन्स्ट्रक्सनका काम हुन्छ, ती आयोजना कुन मोडालिटीमा बनाउने भन्ने कार्यान्वयनकै क्रममा छलफल हुन्छ ।’

‘बीआरआई के कसरी गर्ने भनेर प्रोग्राम बन्छ,’ उनले भने, ‘कुन आयोजना कार्यान्वयनमा कुन मोडल भनेर त्यही बेला छलफल हुन्छ ।’

यस्तै नेपाल टेलिभिजन तथा रेडियो नेपाल (सार्वजनिक सेवा प्रसारण संस्था) र चाइना मिडिया ग्रुप (सीएमजी)बीच हुने सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

अगस्ट २०२४मा निर्माण लागि सहमति भइसकेका विभिन्न विषयमा पनि चीन भ्रमणका क्रममा छलफल हुनेछ । सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीको भ्रमणका क्रममा चक्रपथको दोस्रो खण्ड विस्तारका लागि समझदारी हुने बताए । अरनिको राजमार्गको स्तरोन्नति परियोजनाबारे पनि भ्रमणका क्रममा समझदारी हुनेछ ।

चीनसँगको नाका मुस्ताङको कोरालामा एकीकृत भन्सार चौकी (आईसीपी) बनाउन समेत भ्रमणका क्रममा समझदारी हुनेछ । काठमाडौंको टोखा र नुवाकोटको छहरे सुरुङमार्गको निर्माणबारे पनि भ्रमणमा समझदारी हुने सरकार प्रवक्ता गुरुङले बताए । ‘अहिले २ घण्टाको यो बाटो अब ३ मिनेटमा पार गर्न सकिने गरी बन्छ,’ उनले भने ।

जिलोङ–केरुङ–काठमाडौं अन्तरदेशीयको फिजिबिलीटी स्टडी (सम्भाव्यता अध्ययन) सक्नेबारे पनि भ्रमणका क्रममा समझदारी हुनेछ । खाँदबारी–किमाथांका सडकमा अरुण नदीमाथि मितेरी पुल बनाउने अर्को समझदारी पनि गर्ने योजना छ ।

चोभारमा प्रस्तावित ‘मल्टी फंगसलन एग्रिकल्चरल पार्क’ र कोरला नाकाका बन्ने औद्योगिक पार्कबारे पनि समझदारी गर्ने तयारी छ । बीपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोणको काम सुरु गर्ने समझदारी पनि हुनेछ ।

यसैगरी चीन सरकारले दिने सरकारलाई १०० वटा विद्युतीय कारसहित ५०–५० वटा पुलिस तथा स्कुल भ्यान र ५० वटा एम्बुलेन्स लिनेबारे पनि समझदारी हुनेछ । नेपाल र चीनबीच परम्परागत औषधिको उपयोगबारे समझदारी गर्ने तयारी छ ।

‘केपी शर्मा ओली नेतृत्वमा हुने चीन भ्रमणबारे कन्फ्युजन सिर्जना गर्ने प्रयत्नलाई परास्त गर्दै साझा निष्कर्षमा पुगको छौं,’ सञ्चारमन्त्री गुरुङले भने, ‘मूलधारका राजनीतिक दलहरुबीचमा देशको हितमा कसरी परराष्ट्र सम्बन्ध कसरी व्यस्थापन गर्ने भन्नेबारे राष्ट्रिय एकताको सहमति भएको छ, यो कोशेढुंगा हुन्छ ।’

उनले प्रधानमन्त्रीसँग ८६ जनाको टोली भ्रमणमा जाने बताए । ९ जना सांसदहरु समेत टोलीमा सहभागी हुने उनको भनाइ छ । ‘भ्रमण फलदायी हुन्छ । यसले दुई देशको सम्बन्ध थप सुमधुर बन्ने र यो नेपालको हितमा हुने छ,’ सञ्चारमन्त्री गुरुङले भने ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?