+
+

कांग्रेस-एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भयो : पुन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते २०:४३

१८ मंसिर, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पछिल्लो उपचुनावबाट आफ्नो दलको पक्षमा जनमत बढेको दाबी गरेका छन् ।

रोल्पाको गंगादेव गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरूलाई जनमतले अनुमोदन गरेको जिकिर गरे ।

कांग्रेस र एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले अहिलेको चुनावले खारेज गरिदिएको पनि ठोकुवा गरेका छन् ।

‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौं भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई खारेज गरेका छौं । उपचुनावको परिणमबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौं ।’

विगतका केही निर्वाचनमा तालमेल गर्दा कांग्रेस र एमालेले आफूहरुको मत लिएपनि उनीहरूले नदिएको पुष्टि पनि यही निर्वाचनबाट भएको दाबी गरे ।

जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोस्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो ।

‘अब त्यो सम्भव छैन । बहुदलीय प्रतिस्पर्धा हुन्छ । माओवादीलाई माइनस गरेर जान तपाईंहरूले सक्नुहुन्न’, पुनले भने ।

जनताले एक्लै निर्वाचनमा जाँदा आफूहरुलाई विश्वास गरेको भन्दै उनले पार्टी केन्द्रीय समितिबाट आगामी दिनमा स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय यसअघि नै भएको स्मरण गराए ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार, बेथिति, बिचौलियातन्त्र र राज्य दोहनविरुद्ध काम गरेका कारण पनि जनता आफूहरुतिर आकर्षित भएको उनको भनाइ थियो ।

‘तपाईंहरुको विचार, व्यवहार, शैली र प्रवृत्ति मिल्छ । तपाईंहरु मिलेरै सरकार चलाइराख्नुस्’, पुनले भने, ‘हामीलाई सरकार चाहिएको छैन । अहिले जसरी नै भ्रष्टाचारी, बिचौलिया, दलालहरुको सेवा गरिराख्नुभयो भने तपाईंहरुलाई कुनै दिन जनताले सडकबाट गलहत्याउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?