+

लगातार जित निकाल्ने दाउमा काठमाडौं र सुदूरपश्चिम

२०८१ मंसिर  २० गते ६:३१ २०८१ मंसिर २० गते ६:३१
लगातार जित निकाल्ने दाउमा काठमाडौं र सुदूरपश्चिम

२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

काठमाण्डु करण केसीको तथा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छन् । दुवै टोली पछिल्लो खेल जितेर आएका टोली हुन् ।

काठमाण्डुले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले एक खेल खेल्दा जितेको छ । दुवै टिममा राष्ट्रिय टिमका अनुभवी खेलाडी देखि विदेशी खेलाडीहरु पनि राम्रा छन् ।

काठमान्डु टिममा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमको अनुभव भएका स्पीनर शाहब आलमदेखि मिडियम पेस बलिङ अलराउण्डर रासिद खान पनि छन् । करणले बुधबारको खेलमा राम्रो प्रदर्शन गर्दै टिमको जितमा अहम भूमिका खेलेका थिए ।

यसैगरी उमेर समूहबाट आएका युवा स्पीनर दिपेश कँडेल पनि छन् । यसबाहेक घरेलु क्रिकेटमा नियमित खेलिरहेका शंकर राना, सुमित महर्जन र कृष्ण कार्की पनि छन् । सुमित महर्जन बुधबार कर्णाली याक्ससँगको खेलमा म्यान अफ दि म्याच भएका थिए ।

विदेशी खेलाडीमा नामिबियाका कप्तान जेरार्ड एरासमस र नेदरल्याण्ड्सका माइकल लेभिट छन् भने इंग्ल्याण्डका स्टफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर छन् । बुधबारको खेलमा सोटरलाई मौका दिएको सुदूरपश्चिमले उनैलाई निरन्तरता दिन सक्ने छ ।

उता सुदूरपश्चिममा कप्तान र मुख्य प्रशिक्षकदेखि धेरै खेलाडी आफ्नै क्षेत्रका छन् । नेपालका सफल प्रशिक्षक जगत टमाटा प्रशिक्षक रहेको टिममा कप्तान दीपेन्द्रबाहेक विनोद भण्डारी, नरेन साउद, भोजराज भट्ट, हाल क्यानडामा बसेर उतै क्रिकेट खेल्ने नरेश बुढाएर, खडग बोहरा र बसन्त खत्री छन् ।

यस बाहेक सुदूरपश्चिम बाहिरका आरिफ शेख, अर्जुन कुमाल अमित श्रेष्ठ इशान पाण्डे जस्ता खेलाडी छन् । यू१९ एसिया कप खेल्न युएईमा गएका अर्जुन कुमाल र नरेन साउद फर्किसकेका छन् । उनीहरू खेलका लागि उपलब्ध हुनेछन् ।

सुदूरको विदेशी खेलाडीमा चर्चित रोहन मुस्ताफा, न्युजिल्याण्डका स्कट कुगेलेइन, स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन र इंग्ल्याण्डका सैफ अली जैब छन् । उनीहरू चारैजना आज खेल्ने छन् ।

काठमाण्डुको टप अर्डरले अझै पनि सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन । त्यसमा सुधार गर्नुपर्ने हुन्छ । यता सुदूरले पहिलो खेलमा राम्रो ब्याटिङँगै शानदार बलिङ गरेको थियो । आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा हुनेछ ।

खेल : काठमान्डु गुर्खाज भर्सेस सुदूरपश्चिम रोएल्स

मिति र समय : २० मंसिर, दिउँसो १ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

काठमान्डु गुर्खाज सम्भावित ११ : माइकल लेभिट, स्टेफेन इस्किनाजी, सुमित महर्जन, जेरार्ड एरासमस, भिम शार्की, शंकर राना, नाथन सोटर, करण केसी, रासिद खान, शाहब आलम, दिपेश कँडेल

सुदूरपश्चिम रोएल्स सम्भावित ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहन मुस्तफा, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, भोजराज भट्ट

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय