२० मंसिर, काठमाडौं । बहराइनबाट नेपालमा हुने वस्तु आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल आएको छ । त्यसमध्ये बहराइन धेरै वस्तु आयात हुने मुलुकको १३औं स्थानमा छ ।
बहराइनबाट मात्र यस आवमा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार अघिल्लो वर्ष कात्तिकसम्म बहराइनबाट ११ करोड रुपैयाँको मात्र वस्तु आयात भएको थियो । यस अनुसार बहराइनबाट २०६१.५९ प्रतिशतले आयात बढेको देखिन्छ ।
भन्सार विभागका अनुसार यस वर्ष बहराइनबाट चार महिनाकै अवधिमा ३ करोड ६६ लाख १४ हजार ८ सय किलो युरिया मल आयात भएको छ । सोहीकारण यसपालि गत वर्षको सोही अवधिको तुलनामा बहराइनबाट हुने आयात चुलिएको देखिएको हो ।
बहराइनबाट उक्त परिमाणको युरिया मल ल्याउने क्रममा २ अर्ब २० करोड ६४ लाख रुपैयाँ बराबर लागत परेको छ । यस वर्ष बहराइनबाट ठूलो परिमाणमा फर्नेस आयल र मिनरल टर्पेन्टाइन आयल आयात भएको छ ।
यसबाहेक सुन र सुनका गहना समेत बहराइनबाट आयात हुने गरेको देखिएको छ । अन्य वस्तु आयात भने उल्लेख्य छैन । गत वर्ष यसै अवधिमा आल्मुनियम धातु आयात धेरै थियो ।
सुन र गहना आयात समेत यस वर्षको तुलनामा कम भएको देखिएको छ । फर्नेस आयात भने गत वर्षसमेत उल्लेख्य भएको थियो ।
प्रतिक्रिया 4