+
+

न्यायाधीशको चासोमा रविको गुनासो- प्रहरीबाटै ज्यादती भयो

‘मादक पदार्थ सेवन गरेका केही प्रहरीले आएर जबर्जस्ती उठाएर राख्न खोज्नुभयो, उहाँले मादक पदार्थ सेवन गर्नुभएको छ भनेँ । तपाईंहरूले मलाई कहाँ लैजाने हो, मेरो परिवार र कानुन व्यवसायीलाई फोन गर्ने अवसर दिनुस् भन्दा पनि सुनिएन र जबर्जस्ती गाडीमा राखियो,’ रविले भनेका थिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ मंसिर २३ गते २०:५५

२३ मंसिर, पोखरा । पछिल्लो पटक काठमाडौं र चितवनमा बयान गराएर शुक्रबार रातारात पोखरा ल्याइएका रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइयो । अदालतले ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यसअघि १५ दिन म्याद थपेर काठमाडौं र चितवनमा बयान गराएर पोखरा ल्याइएपछि आइतबार कास्की अदालतमा प्रहरीले १३ दिनको समय मागेर रविलाई अदालत उपस्थित गराएको थियो ।

न्यायाधीश हिमलाल बेल्वासेको इजलासले रविलाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गर्नुअघि रविलगायतको पछिल्लो अवस्थाबारे चासो राखे ।

इजलासमा आइतबार रविसँगै पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जिबीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी लिला पछाइलगायतले आफ्नो कुरा राखे । रविका तर्फबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, हरि सुवेदी र अधिवक्ता नारायण कँडेलले ‘अन्याय भएको’ भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएका थिए ।

त्यसलगत्तै न्यायाधीश बेल्वासेले पालैपालो रवि, छवि र पछाइको अवस्थाबारे सोधेका थिए ।

रविले आइतबार अदालतमा दुई पटक बोले । एक पटक आफूमाथि प्रहरीले अभद्र व्यवहार गरेको, औषधी खानसमेत नदिएको, बिरामी हुँदा रातारात पोखरा ल्याइएको बताए भने अर्को पटक सहकारी पीडित कृष्ण जैसीले बोलेपछि फेरि समय मागे । रविले केही सहकारी अभियान्ताले आफूमाथि राजनीति गरेको आक्रोश उनले इजलासमै पोखे ।

इजलासमा रविले विशेषगरी राजनीतिक प्रतिशोध साँधेको, कसरी हुन्छ आफूलाई सिध्याउने मानसिकता सरकारले राखेको बताए । राति ११/१२ बजे ‘माथिको आदेश भन्दै मादक पदार्थ सेवन गरेका प्रहरीले झिंगलझ्याँगल पार्दै पोखरा ल्याइएको रविको दाबी थियो ।

‘पोखराबाट ३ दिन काठमाडौं लगियो । काठमाडौंमा हिरासतको चिसो कोठामा सुत्न सकिरहेको थिइनँ, निद्रा परेको थिएन । त्यहाँबाट लगत्तै चितवन ल्याइयो । ८/९ घन्टाको बयानमा मैले सहयोग गरेकै थिएँ । मेरो बिहानैदेखि टाउको दुखेको थियो,’ रविले अदालतमा न्यायाधीशसँग भने, ‘मलाई गाह्रो भएको छ । अस्पताल लगिदिनुस् भनेर पटक पटक आग्रह गरेँ । बयान सकिएपछि सुत्नका लागि तयार हुँदै थिएँ । त्यहाँका एसपीले आएर तपाईं पोखरा जानुपर्ने भयो भन्नुभयो ।’

भोलिपल्ट बिहान बरू ७ बजे नै जाऔंला आज आराम गर्न दिनुस् भनेर आफूले पटक पटक आग्रह गरेको रविको भनाइ थियो । पोखरा होइन, आफूलाई अस्पताल लगिदिन आग्रह गरेको रविले बताए ।

‘मादक पदार्थ सेवन गरेका केही प्रहरीले आएर जबर्जस्ती उठाएर राख्न खोज्नुभयो, उहाँले मादक पदार्थ सेवन गर्नुभएको छ भनेँ । तपाईंहरूले मलाई कहाँ लैजाने हो, मेरो परिवार र कानुन व्यवसायीलाई फोन गर्ने अवसरमा दिन माग गर्न पनि सुनिएन र जबर्जस्ती गाडीमा राखियो,’ रविले भनेका थिए ।

पोखरा आउनेबित्तिकै अस्पताल गएको र प्रेसर बढेको देखिएको भन्दै कागजातसमेत रविले अदालतमा देखाए । प्रतिशोधको भावनाले आफूलाई ज्यादती गरिएको, परिवारमाथि पनि तनाव दिइएको रविले बताएका थिए ।

आफूले सहकारीको रकम हिनामिना नगरेको र अरुले गरेको गल्तीको भागीदार आफूलाई बनाइएको उनको भनाइ थियो । अहिलेसम्मको अनुसन्धानले नयाँ कुनै तथ्य नदेखाएको भन्दै आफूलाई गलाउनकै लागि देशैभरि डुलाउने, दुःख दिने काम भइरहेको इजलासमा रविले भनेका छन् ।

पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका छविलाल जोशीले आफूहरूलाई म्याद थप्दै हिरासतमै राख्नेमात्र भएको बताउँदै सरकारको असक्षमतामाथि प्रश्न उठाएका थिए । सरकारले जिबी राईलाई समातेर ल्याउने र ती सहकारी पीडितलाई न्यान दिन नसक्ने तर आफूहरूलाई थुनिराख्ने काम भएको उनको भनाइ थियो ।

जिबीसँग जोडिएकै कारण आफूलाई थुनिएको आरोप लिला पछाइको थियो । ‘सहकारीको रकम हिनामिनामा म कहीँ जोडिएको छैन । जिबीसँग मेरो व्यक्तिगत सम्बन्ध हो । जिबीलाई समातेर ल्याए, सबै थाहा भइहाल्छ,’ लिलाले इजलासमा भनको भनाइ उद्धृत गर्दै अधिवक्ता युवराज पराजुलीले बताए ।

अर्का नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनालको अवस्थाबारे पनि न्यायाधीश चासो राखे तर उनी भने बोलेनन् ।

जाहेरीवालाका तर्फबाट बहस गर्दै अधिवक्ता पराजुलीले मानव अधिकारको उल्लंघन रविका हकमा मात्र नभएको, रकम हिनामिना हुँदा धेरैको ज्यानै गएको, कतिको घरबाट बिग्रिएको, कति डिप्रेसनमा गएकाले हजारौं सहकारी पीडितको पनि मानव अधिकार उल्लंघन भएको बताएका थिए ।

जाहेरवाला कृष्ण जैसीले हजारौं रवि गृहमन्त्री हुँदा आफूहरूको निवेदनसमेत प्रहरीले नलिएकाले रविलाई हिरासतमै राखेर अनुसन्धान हुनुपर्ने बताएका थिए । त्यसलगत्तै रविले सहकारी पीडितप्रति आक्रोस पोखेका थिए । केही सहकारी अभियान्ताले राजनीतिक दलको आडमा आफूलाई सिध्याउन खोजेको भन्दै आक्रोस पोखेका थिए ।

सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले विभिन्न व्यक्तिका बयान, प्राप्त कागजात, प्रमाणका हिसाबले पनि रविलाई अझै हिरासतमै राखेर अनुसन्धान हुनुपर्ने देखिएको बताएका थिए ।

केही प्रमाण पुष्टि भएर आउने क्रममै रहेकाले म्याद थप्न माग गरेका थिए ।

गत कात्तिक २ गते रविलाई काठमाडौं पार्टी कार्यालयबाटै पक्राउ गरी पोखरा ल्याइएको हो । रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि छैठौं पटक म्याद थपिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा रविलाई अनुसन्धान भइरहेको छ ।

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको छ ।

समितिकै सिफारिसअनुसार रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा पक्राउ गरी सम्पत्ति अनुसन्धान गरिरहेको छ । पक्राउ पुर्जी जारी भएका पोखरासँगै बुटवल, काठमाडौं र चितवनमा रविको बयान भइसकेको छ भने वीरगन्जमा पनि रवि, छविको पक्राउ पुर्जी भएको छ । अब रविलाई बयान लागि वीरगञ्ज पनि लगिनेछ ।

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ ।

समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीवी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये जीवी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ । झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?