
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएकै समयमा आयोजना गर्न पार्टी नेतृत्वलाई दबाब दिन पार्टीका युवाहरूले सम्पर्क कार्यालय खोल्ने भएका छन् ।
नेता डा.शेखर कोइराला निकट युवा उमेर समूहका नेताहरूले अनामनगरमा बिहीबारबाट सञ्चालन गर्नेगरी सम्पर्क कार्यालय सुरु गर्न लागेका हुन् । केन्द्रीय समितिमा नरहेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, रञ्जित कर्ण, केशव सिंह, गोमा केसी, मेदिनी सिटौला, भुपेन्द्रजंग शाही, टेकराज पौडेल लगायतको अगुवाईमा सम्पर्क कार्यालय सुरु गर्न लागिएको नेता गुरुराज घिमिरेले जानकारी दिए ।
घिमिरेले महाधिवेशन लक्षित सम्पर्क कार्यालय सुरु गर्न लागिएको जानकारी दिए । ‘महाधिवेशन अबको एक वर्षभित्र हुनुपर्छ तर, त्यसको पूर्व आधार नै तयार भएन,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘महाधिवेशनको प्रक्रिया सुरु गर्न दबाब दिने उद्देश्यले कार्यालय सञ्चालन गर्न लागेका हौं ।’
कार्यालय मार्फत् शेखर कोइराला र गगन थापालाई एकै ठाउँमा ल्याउन दबाब पनि सिर्जना गर्ने घिमिरेले बताए । ‘१४ औँ महाधिवेशनमा एकताबद्ध हुन नसक्दा नेतृत्व गुमायौं । १५ औँ महाधिवेशनमा जसलाई अघि सारेपनि एकताबद्ध भएर सानुपर्छ,’ घिमिरेले भने, ‘समूहको छलफल पनि कार्यालय मार्फत् चलाउँछौं ।’
प्रतिक्रिया 4