+
+

दक्षिण एसिया आर्थिक सम्मेलनको निष्कर्षः हरित वित्त दाताको आश्वासनमा सीमित

दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तनका जोखिमहरू, जोखिमसँग सामना गर्नका लागि हरित वित्तको न्यूनताको सामना गरिरहेको निष्कर्ष सम्मेलनले निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते २०:२८

२८ मंसिर, काठमाडौं। काठमाडौंमा ३ दिनसम्म चलेको १५औं दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ ले हरित वित्त विकसित मुलुक र दातृ निकायको आश्वासनमा मात्रै सीमित भएको निष्कर्ष निकालेको छ ।

बुधबार काठमाडौंमा सुरु भएको सम्मेलन शुक्रबार सम्पन्न भएको हो । दक्षिण एसियाली मुलुकहरू तथा बाहिरका प्रख्यात अर्थशास्त्रीहरू नीति-निर्माता तथा नागरिक समाजका अगुवाहरूले सम्मेलनभर ‘अनलिसिङ एन इक्विटेबल ग्रीन ट्रान्सफर्मेसन इन साउथ एसिया (दक्षिण एसियामा समतामूलक हरित रूपान्तरणको उजागर) भन्ने मूल विषयवस्तुमा केन्द्रित रहेर छलफल गरेका थिए ।

दक्षिण एसियामा दिगो र समावेशी विकास अघि बढाउन सम्मेलन फलदायी भएको आयोजक साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भोयरोमेन्ट (सावती)ले जनाएको छ ।

दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तनका जोखिमहरू, जोखिमसँग सामना गर्नका लागि हरित वित्तको न्यूनताको सामना गरिरहेको निष्कर्ष सम्मेलनले निकालेको छ ।

‘औद्योगिक र व्यापार नीतिसँग जलवायु प्रतिकार्यको सामञ्जस्यता तथा बढ्दो भूराजनीतिक द्वन्द्वका साथै जलवायु परिवर्तनका कारण सिर्जित असमानताका बारेमा सरोकार राख्दछन् र यस क्षेत्रमा समतामूलक हरित रूपान्तरण उजातर गर्न सकिनेमा विश्वस्त छन्,’ सम्मेलनको निष्कर्ष छ ।

सम्मेलनका महत्वपूर्ण सत्रहरुमा जलवायु परिवर्तनका असरसँग जुझ्नका लागि हरित वित्त अत्यावश्यक रहेको र यो दलित, महिला तथा आदिवासी समेतका लागि समतामूलक हुनुपर्नेमा जोड दिइएको थियो । तर अत्यावश्यक ठाउँमा हरित वित्त पुग्न नसकेको सहभागीहरूको धारणा थियो । विश्व व्यापारका दिगो मापदण्ड, औद्योगिक नीतिमा पुनरावलोकन तथा दिगोपनामा आधारित मापदण्ड तयार गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

सम्मेलनको समापन सत्रलाई सम्बोधन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा जलवायु परिवर्तनजन्य जोखिमहरू बढ्दै गएको र यसले क्षति र असमानता बढाउँदै लगेको बताए ।

साना तथा मझौला उद्यमको हरित रूपान्तरणतर्फको संक्रमण र ठूला हरित पूर्वाधार विकासको आवश्यकतालाई उनले औल्याए । नेपालले जलिवद्युत ऊर्जाका क्षेत्रमा उत्साहपूर्ण काम गरेको बताउँदै उनले ऊर्जालगायत हरित क्षेत्रमा वित्तीय क्षेत्रको लगानी परिचालनका लागि ग्रीन ट्याक्सोनोमी जारी गरिसकेको जानकारी पनि दिएका थिए ।

सम्मेलनको उद्‍घाटनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले क्षेत्रीय चुनौतीहरूलाई संवाद सहकार्य र कार्यमूलक उपायहरूद्वारा समाधान खोजिने बताएका थिए । बंगलादेशको वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री सेयदा रिजवान हसनले क्षेत्रीय मुद्दाहरूमा सहकार्यमा जोड दिदैं क्षेत्रीय ग्रीड स्थापनामार्फत जलविद्युत व्यापारलाई सहजीकरण गरी जलविद्युत व्यापारलाई सहजीकरणमार्फत हरित रूपान्तरण गर्न सकिने धारणा राखेकी थिइन् ।

सस्टेनेबल डेभलपममेन्ट पोलिसी इन्स्टीच्यूट पाकिस्तानका कार्यकारी निर्देशक अविद कुयम सुलेरीले दक्षिण एसिया आर्थिक सम्मेलन नीतिगत विषयहरूमा छलफल गर्न महत्वपूर्ण मञ्च रहेको बताए ।

विशेष मन्तव्य राख्दै सेन्टर फर पोलिसी डायलग बंगलादेशका अध्यक्ष डा. रेहमान सोभानले आर्थिक एकताको मुख्य पक्ष मूख्य श्रृंखला विस्तारमा दक्षिण एसियाली मुलुकहरूले काम गर्न नसकेकाका कारण क्षेत्रीय आर्थिक संयोजन (एकीकरण) कमजोर भएको बताए ।

दक्षिण एसियाली मुलुकहरूमा आर्थिक एकीकरणका पहलहरू अत्यन्त सुस्त भएको उनको भनाइ थियो । हरित मूल्य श्रृंखला पनि यस अघि नै निर्माण भएका मूल्य श्रृंखलाहरूकै हिस्सा भएको भन्दै डा. रेहमानले यसलाई नेतृत्व गर्ने संस्थाको अभावमा हरित मूल्य श्रृंखला विकास पनि असहज रहेको टिप्पणी गरे ।

सावतीका अध्यक्ष डा. रत्‍नाकर अधिकारीले क्षेत्रीय पहलले सहकार्य र सहयोग हरित रूपान्तरणमा बहुआयमिक प्रभाव सिर्जना गर्ने बताए । सावतीका चेयर इमिरेटस डा. पोषराज पाण्डेले विश्वव्यापी मूल्य श्रृंखलामा दक्षिण एसियाको सम्भाव्यतालाई उजागर गर्न सहयोगी नीतिहरू, प्रोत्साहन, साझेदारी अनुसन्धान र विकास तथा क्षेत्रीय सहकार्यमा जोड दिए ।

सम्मेलनमा १६ सत्रहरू सञ्चालन भएका थिए । दक्षिण एसिया आर्थिक सम्मेलन सन् २००८ देखि आयोजना गर्न शुरु गरिएको हो, जसले दक्षिण एसियामा विकासका चुनौतीहरूका विषयमा छलफल गर्ने मञ्चका रूपमा स्थापित भएको छ । वार्षिक रूपमा दक्षिण एसियाली देशहरूमा पालैपालो आयोजना गरिने यो सम्मेलनले यस क्षेत्रभित्र र बाहिरका प्रख्यात अर्थशास्त्रीहरू नीतिनिर्माता तथा नागरिक समाजका अगुवाहरूलाई सामेल गराउँदै आएको छ ।

नेपालमा साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड एन्भायरोमेन्ट (सावती), बंगलादेशमा सेन्टर फर पोलीसी डायलग, भारतमा रिसर्च एन्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रिज, पाकिस्तानमा सस्टेनेबल डेभलपममेन्ट पोलिसी इन्स्टिच्यूट र श्रीलंकामा इन्स्टिच्यूट अफ पोलीसी डायलगले पालैपालो सम्मेलन आयोजना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?