
२ पुस, स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली संघ (ईयू) ले सिरियाको दमास्कसमा आफ्नो मिसन पुनः खोल्ने बताएको छ । ईयूका विदेश नीति प्रमुखले शासक बसर अल–असदको पतनपछि सिरियाको नयाँ नेतृत्वसँग ‘रचनात्मक’ वार्ता भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
‘यो धेरै महत्त्वपूर्ण कदम हो, हामी सिरियामा प्रतिनिधिमण्डल पुनः खोल्नेछौँ,’ ईयूका काजा कल्लासले युरोपेली संसद्लाई भनेका छन् ।
सिरियाका लागि ईयूका शीर्ष कूटनीतिज्ञले सोमबार दमास्कसको भ्रमण पनि गरेका थिए । यसलाई कालासले ‘नयाँ नेतृत्व र अन्य विभिन्न समूह, नागरिक समाजसँग पनि रचनात्मक पहिलो सम्पर्क’ भनेका छन् ।
युरोपेली राष्ट्रहरू अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै असद परिवारको पाँच दशक लामो प्रभुत्वको अन्त्यपछि सिरियामा प्रभावका लागि संघर्ष गरिरहेका छन् ।
तर तिनीहरू इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा नयाँ अधिकारीहरूबाट सावधान छन् । एचटीएस अल–कायदामा निहित थियो र केही पश्चिमी सरकारद्वारा ‘आतंकवादी’ संगठनका रूपमा सूचीवद्ध गरिएको छ ।
‘हामी सिरियामा खालीपन छोड्न सक्दैनौँ, ईयू यहाँ उपस्थित हुनुपर्छ’, कालासले भने ।
ईयूले सिरियाका लागि समर्थन बढाउन तयार रहेको तर नयाँ नेताहरूले सम्मान गर्नुपर्ने शर्तहरू राखेको छ । ती शर्तहरूमा अल्पसंख्यकहरूको संरक्षण, समावेशी सङ्क्रमणको निगरानी र उग्रवादको बहिष्कार समावेश छन् ।
कालासले सोमबार इयुले सिरियाको भविष्यमा मस्कोको कुनै स्थान नभएको भन्दै देशमा रूसी सैन्य आधारहरूको उपस्थितिलाई लिएर अधिकार प्राप्त गर्नेहरूलाई पनि दबाब दिने बताएका छन् ।
प्रतिक्रिया 4