+

अनलाइनखबर ‘एनपीएल टिम अफ दि टुर्नामेन्ट’, को-को परे?

२०८१ पुष  ७ गते १६:३४ २०८१ पुष ७ गते १६:३४
अनलाइनखबर ‘एनपीएल टिम अफ दि टुर्नामेन्ट’, को-को परे?

७ पुस, काठमाडौं । जनकपुर बोल्ट्सले उपाधि जितेपछि नेपाल प्रिमियर लिग (एनपीएल) शनिवार भव्यताका साथ सम्पन्न भएको छ ।

१८ दिनसम्म सञ्चालन भएको लिगमा कुल ३२ खेल भए । झण्डै १४० भन्दा बढी खेलाडी एनपीएलमा सहभागी थिए । त्यसमध्ये अधिकांशले एनपीएलको खेल खेल्ने अवसर पाए । तीमध्ये पनि केही खेलाडीले सानदार प्रदर्शन गरे अनि व्यक्तिगत उत्कृष्ट अवार्डहरु पाए ।

त्यसबाहेक पनि प्रतियोगितामा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । ३२ खेलपछि हरेक पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु समावेश गरेर अनलाइनखबरले एनपीएल टिम अफ दि टुर्नामेन्ट तयार पारेको छ । जसमा ४ विदेशी खेलाडी सहित ११ जनाको टिम तयार पारिएको छ ।

जसमा उपविजेता सुदूरपश्चिमबाट सबैभन्दा धेरै ४ खेलाडी समावेश हुँदा च्याम्पियन जनकपुरबाट ३ खेलाडी छन् । यस्तै तेस्रो भएको कर्णालीबाट १ तथा चौथो भएको चितवनबाट २ खेलाडी छन् भने लिग चरणबाट बाहिरिएको लुम्बिनी लायन्सबाट १ खेलाडी छन् ।

अनलाइनखबर टिम अफ दि टुर्नामेन्ट
ओपनर : लाहिरु मिलान्था (जनकपुर), विनोद भण्डारी (सुदूरपश्चिम)
मिडल अर्डर : रोहित पौडेल (लुम्बिनी लायन्स), दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम), कुशल मल्ल (चितवन)
अलराउण्डर : सैफ अली जैब (सुदूरपश्चिम), जिम्मी नीशम (जनकपुर)
पेसर : स्कट कुगेलेइन (सुदूरपश्चिम) रिजन ढकाल (चितवन राइनोज)
स्पिनर : ललित राजवंशी (जनकपुर) विपिन प्रसाद शर्मा (कर्णाली)
१२औं खेलाडी : सोहेल तनविर

लाहिरु मिलान्था : मिलान्था एनपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले १० खेलमा दुई अर्धशतक सहित कुल २९३ रन बनाए । जनकपुरका सुरूवाती जितहरूमा मिलान्थाले शानदार ब्याटिङ गरेका थिए। त्यसपछिका खेलमा फर्म केही धर्मराए पनि उनले सबैभन्दा महत्वपूर्ण फाइनल खेलमा ८७ रनको शानदार पारी खेल्दै टोलीलाई उपाधि दिलाउने आधार तय गरेका थिए । उनलाई हामीले ओपनरका रूपमा राखेका छौं । उनले वान डाउनमै खेलेमा सेफ जैब ओपनिङको विकल्प हुन सक्छन् ।

विनोद भण्डारी : एनपीएलमा शानदार प्रदर्शन गर्ने नेपाली खेलाडीमध्येका एक हुन् विनोद । उनले सबैजसो खेलमा राम्रो सुरूवात गर्दै टिमलाई ओपनिङमा राम्रो योगदान दिएका छन् । विनोदको किपिङमा पनि राम्रो प्रेजेन्स अफ माइन्ड देखिएको छ । उनले केही महत्वपूर्ण रनआउट र स्टम्पिङ पनि गरेका थिए । उनले ९ खेलमा एक अर्धशतकसहित २३५ रन बनाए । सर्वाधिक रन बनाउने दोस्रो नेपाली खेलाडी हुन् । उनले किपिङ पनि गर्नेछन् ।

रोहित पौडेल : नेपाली राष्ट्रिय टिमका समेत कप्तान रहेका रोहित पौडेलले कप्तानाी गरेको टिम लुम्बिनी लायन्स प्रतियोगिताको पुछारमा रहँदै बाहिरिएपनि रोहितले भने आफ्नो तर्फबाट शानदार प्रदर्शन गरिरहेका थिए । रोहित प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी हुन् । उनले ७ खेलमा २७९ रन बनाएका थिए भने बलिङबाट ८ विकेट पनि लिएका थिए ।

दिपेन्द्रसिंह ऐरी : एनपीएल उपविजेता टिम सुदूरपश्चिम रोयल्सका कप्तान रहेका अलराउण्डर दिपेन्द्रसिंह ऐरीलाई हाम्रो टिम अफ द टुर्नामेन्टको पनि कप्तान राखेका छौं । फाइनलमा चुकेपनि दिपेन्द्र प्रतियोगिताभर ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा शानदार देखिएका थिए । दिपेन्द्रले प्रतियोगितामा ९ खेलमा एक अर्धशतकसहित २२७ रन बनाउँदा ९ विकेट पनि लिएका थिए ।

कुशल मल्ल : एनपीएलमा चौथो स्थान हासिल गरेको टिम चितवन राइनोजको कप्तानी गरेका कुशल प्रतियोगिताकै कान्छो कप्तान समेत हुन् । उनले प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका छन् । उनले ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट पनि लिएका छन् ।

सेफ अली जैब : सेफ जैब एनपीएलको उपविजेता टोली सुदूरपश्चिम रोयल्सका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् भने दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले प्रतियोगितामा ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाए भने १२ विकेट पनि लिए । उनले विनोद भण्डारीसँग मिलेर सुदूरपश्चिमका लागि ओपनिङ गरेपनि उनी यसभन्दा अघि मध्यक्रम ब्याटरका रूपमा खेलेका छन् । उनले एनपीएलकै अनुसार विनोदसँग ओपन गर्दा मिलान्था वान डाउन र त्यसपछि रोहित, दिपेन्द्र र नीशम हुन सक्छन् ।

जिमी नीशम : जिमी नीशम उपाधि विजेता जनकपुर बोल्ट्सका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी थिए । उनले जनकपुरको टप अर्ड ब्याटिङ धर्मराएका बेला मध्यक्रममा डटेर खेल्दै जनकपुरलाई फाइनलमा पुर्‍याउन भूमिका खेलेका थिए । उनी प्रतियोगिताको सबैभन्दा उच्च स्ट्राइक रेटमा ब्याटिङ गर्दा एनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट पनि घोषित भएका थिए । एनपीएलमा उनले ९ खेलमा २४७ रन बनाउँदा ७ विकेट पनि लिए । उनी हाम्रो टिमको अलराउण्डरका रूपमा रहनेछन् ।

स्कट कुग्लेइन : उपविजेता टोली सुदूरपश्चिमका प्रमुख बलर स्कट सर्वाधिक विकेट लिने खेलाडीमा जनकपुरका ललित राजवंशीसँगै संयुक्त रूपमा रहे । पावरप्ले र डेथ ओभरमा राम्रो बलिङ गरेका उनले ९ खेलमा १७ विकेट लिए । उनको बेस्ट बलिङ फिगर ५-१८ रहेको थियो । उनी हाम्रो टिमको मुख्य पेस बलरको रूपमा रहनेछन् ।

रिजन ढकाल : एनपीएलमा चौथो भएको टिम चितवन राइनोजका प्रमुख बलर रिजन ढकाल यस टिमको दोस्रो पेस बलरका रूपमा रहनेछन् । बाँयाहाते बलर रिजनले एनपीएलका ८ खेलमा १३ विकेट लिएका थिए । उनको बेस्ट बलिङ ४ ओभरमा ३-१० थियो । उनले पावरप्ले र डेथ ओभरमा राम्रो इनस्वीङ बलमार्फत ब्याटरहरूलाई दबाबमा राख्ने काम गरेका थिए ।

ललित राजवंशी : एनपीएलको उत्कृष्ट बलर घोषित जनकपुरका ललित सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा सुदूरका स्कट कुग्लेइनसँग संयुक्त रूपमा थिए । उनले १० खेलमा १७ विकेट लिए । ५,३२ को इकोनोमीमा बलिङ गरेका उनले कुल ५ मेडन ओभर पनि राखेका थिए । उनको बेस्ट बलिङ ४ ओभरमा ८ रन दिएर ३ विकेट लिनु थियो ।

विपिन प्रसाद शर्मा : एनपीएलको राइजिङ स्टार अर्थात् उदयीमान खेलाडी १६ वर्षीय विपिन कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी हुन् । उनले प्रतियोगितामा ८ खेलमा १३ विकेट लिँदै कर्णालीको सबैभन्दा धेरै विकेट लिने खेलाडीको रूपमा रहे । उनले ६ भन्दा कमको इकोनोमीमा बलिङ गरेका थिए । उनले जिमी नीशम, मार्टिन गप्टिल, आन्द्रेस गौसजस्ता खेलाडीहरूलाई आउट गरेका थिए ।

१२औं खेलाडी

सोहेल तनविर : चितवन राइनोजका स्टार खेलाडीले प्रतियोगितामा शानदार सुरूवात गरेका थिए । उनले ८ खेलमा १४ विकेट लिँदै सर्वाधिक विकेट लिने तेस्रो खेलाडीका रूपमा रहे । चारजना विदेशी खेलाडी मात्र अट्ने भएकाले उनलाई प्लेइङ ११ मा भने स्थान दिन सकिएन । उनीसँगै चितवनकै रवि बोपारा, जनकपुरका हर्श थाकर र कर्णालीका विलियम बोसिस्टोले पनि राम्रो प्रदर्शन गरेका थिए जो प्रतियोगिताका उत्कृष्ट १५ खेलाडीभित्र अटाएका छन् ।

क्रिकेट एनालिस्ट सम्राट महर्जनको साथमा अनलाइनखबर स्पोर्ट्स टिमले एनपीएलको टिम अफ दि टुर्नामेन्ट तयार गरेको हो । 

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय