१२ पुस, काठमाडौं । एन्फा यू-१६ युथ लिग फुटबल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका लागि राहुल कुमार योन्जनले २ तथा मनिष नेपाली, सौगात कुमार बोम्जन र मिलन बोहराले एक-एक गोल गरे ।
खेलको २२औं मिनेटमा मनिषले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा राहुलले अग्रता दोब्बर पारे ।
राहुलले ७८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्रले ३-० को अग्रता बनायो । सौगात र मिलनले इन्जुरी टाइममा गोल थपेपछि मछिन्द्र फराकिलो अन्तरले विजयी भएको हो ।
जितपछि साविक विजेता मछिन्द्रले ३ अंक जोडेको छ । पहिलो पटक यू१६ लिगमा सहभागि हिमालयन शेर्पाले हारबाट लिग सुरुवात गरेको छ ।
शुक्रबारै भएको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेडले संकटा क्लब विरुदध २-१ को पुनरागमन जित हात पारेको थियो ।
शुक्रबारबाट सुरु भएको यू१६ युथ लिगको खेलहरु अब पुस २१ देखि मात्र सुरु हुने एन्फाले जनाएको छ ।
प्रतिक्रिया 4