+
+

तामाकोशीले आंशिक उत्पादन थाल्यो, उद्योगमा ८ घण्टा लोडसेडिङ यथावत्

४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाले आंशिक उत्पादन थाले पनि विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टाको अघोषित लोडसेडिङ गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते २२:०२

१५ पुस, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आंशिक उत्पादन थालेको छ । तर, उद्योगहरूमा जारी ८ घण्टाको अघोषित लोडसेडिङ यथावत् छ ।

९ पुसदेखि माथिल्लो तामाकोशी आयोजनाबाट १२० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । तर, ४५६ मेगावाटको ‘पिकिङ रन अफ द रिभर’ आयोजना पूर्णक्षमतामा सञ्चालनमा नआउँदा विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टाका दरले विद्युत् कटौती (लोडसेडिङ) गरिरहेको छ ।

सबै उद्योग नभएर केहीमा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोष बताउँछन् ।

‘अहिले ३०० देखि ३५० मेगावाटसम्म विद्युत् अपुग हुँदा त्यही मात्रामा उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको छ’, घोषले अनलाइनखबर सँग भने ।

त्यतिमात्र नभई ट्रान्समिसन लाइनको क्षमताले धान्न नसक्दा विद्युत् प्रसारणमा समस्या भएका क्षेत्रमा विद्युत् कटौती भएको उनले बताए ।

‘इनरुवा–ढल्केबर–चन्द्रनिगाहापुर–पथलैया–हेटौंडा १३२ केभी प्रसारण लाइन २०४२ सालमा बनेको हो, त्यसको क्षमता विस्तार हुनसकेको छैन’ उनले भने, ‘ढल्केबर–हेटौंडा ४०० केभी प्रसारण लाइन स्थानीयको अवरोधका कारण १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन ।’

पूर्वाधार नहुँदा उत्पादन वा आयात पर्याप्त गरे पनि त्यसको वितरणमा समस्या हुने गरेको उनको भनाइ छ ।

प्राधिकरणको तथ्यांक अनुसार अहिले पिक आवरमा करिब २ हजार मेगाावाट विद्युत् माग छ । त्यसमध्ये मुलुकको उत्पादन र आयात समेत गरेर करिब १६०० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।

भारतले पिक आवरमा नेपाललाई विद्युत् निर्यात नगर्ने गरी सम्झौता गरेको छ, त्यसो हुँदा भारतबाट विद्युत् आयात हुन्छ नै भन्ने ग्यारेन्टी नहुँदा उद्योगहरूमा दैनिक साढे ३०० मेगावाट विद्युत् दिन नसकिएको प्राधिकरणका प्रवक्ता घोष बताउँछन् ।

हिउँदको समयमा अझै चार–पाँच वर्ष विद्युत् कटौती हुने अवस्था देखिएको हुँदा उद्योगहरूले त्यही अनुसार जुन बेला विद्युत् पर्याप्त हुन्छ, त्यसबेला हिउँदका लागि समेत उत्पादन गरेर राख्ने गरी योजना बनाउनुपर्ने उनी बताउँछन् ।

प्राधिकरणले अघोषित जथाभावी विद्युत् कटौती गर्दा उत्पादनमै समस्या भएर लागत बढेको उद्योगीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?