+
+

राजावादीसँग भीम रावल- दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते ९:३६

२१ पुस, विराटनगर । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले इटहरीमा राजावादी पक्षसँग भेटघाट गरेका छन् । इटहरीका विष्णु रिजालको घरमा रावलले शनिबार भेटघाट गरेका हुन् । रिजाल पनि राजावादी भनेर चिनिन्छन् ।

सो छलफलमा रावलले २०६२/६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने एजेन्डा नै नभएको दाबी गरेका छन् ।

२०४७ सालमा संवैधानिक राजतन्त्र उल्लेख रहेको बताउँदै उनले राजाकै अगाडि आफूले मन्त्रीको सपथ गरेको पनि सम्झिए । ‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमालेले पनि मानेको हो, त्यही अन्तरगत म पहिलोचोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो,’ उनले भने, ‘२०६२/६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरुलाई जानकारी गराउँछु, धर्ननिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन ।’

आन्दोलनका क्रममा बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आएको उनले जिकिर गरे । ‘हामीले चाहिँ संगठन गर्ने, अभिव्यक्ति दिने कुरा गर्नुपर्छ, जुन संवैधानिक राजतन्त्र हो त्यही बाटोमा जाऔं भनेर सुरु गरियो,’ उनले भने, ‘जब आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो अनि घुसाउनेहरुले ठयाक्कै आएर छिराए ।’

रावल यत्तिमै रोकिएनन् र भने, ‘अनि त्यो त कस्तो थियो भने कोशी नदी उर्लिएर आइसकेपछि तल केहीले छेक्दैन नि ।’ जनआन्दोलनलाई उनले कोशी उर्लिएको जस्तै संज्ञा दिए ।

रावललाई स्वागत गर्न विमानस्थल पुगेका राजावादीहरू ।

अहिले देशमा भइरहेको विकृति रोक्नका लागि दुई वटा मात्रै उपाय रहेको उनले बताए । आफू राजनीतिशास्त्रको विद्यार्थी भएको र व्यवहारिक कुरा गर्ने बताउँदै रावलले भने, ‘जनताले एकजुट भएर निर्वाचनको माध्ययमबाट पूर्णरुपमा पराजित गर्नुपर्याे । ठूलो मात्रामा अरु मान्छेलाई जिताउनु पर्याे र संविधानदेखि कहाँकहाँ परिवर्तन गर्नुपर्ने हो ।’

यो बाटोबाट मात्रै परिवर्तन गर्ने सम्भावना नरहेको भन्दै उनले जनता पनि परिचालित हुनुपर्ने बताए । हिजो झापामा ‘नेकपा एमाले जिन्दावाद, भोट केमा हलोमा’ भन्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘अब यस्तो स्थितिमा यस्ता खालका चरित्रका पात्रहरुको हातमा यो चिज (सत्ता) भएकाले यसलाई समाप्त गर्नका लागि निर्वाचन प्रणाली एउटा महत्वपूर्ण प्रणाली हो, निर्वाचनको माध्यमबाट मात्रै यो सबै हुन्छ कि हुँदैन मलाई अलिक शंका छ, जनता अलिक परिचालित हुनुपर्ला ।’

शनिबार विराटनगर विमानस्थलमा राजावादी पक्षधरले रावललाई स्वागत गरेका थिए । उनी सुनसरीको भरौलामा आयोजित भेट्रान फुटबल प्रतियोगिता उद्घाटन गर्न आएका थिए । तर, नेकपा एमालेको दबावमा प्रतियोगिता दुई दिन पछि सरेको थियो । त्यसपछि भरौलामा समर्थक भेटघाट गरेर उनी फर्किएका थिए । इटहरीमा उनले विभिन्न पक्षसँग छलफल पनि गरेका थिए ।

एमालेबाट निष्कासनमा परेपछि १७ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वउपप्रधानमन्त्री रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका थिए । उक्त घोषणापछि उनी देश दौडाहामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?