+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सूर्यदर्शन सहकारी प्रकरणः इजलास प्रवेश गर्न नपाएपछि अदालतबाहिर पीडितको धर्ना

नेपाली कांग्रेसको कास्की कार्यालयमा सहकारीपीडित र रास्वपा कार्यकर्ता आमनेसामने भएपछि प्रहरीले दुवैपक्षलाई बाहिर निकाल्यो ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ पुष २१ गते १६:३५

२१ पुस, पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुन्न आफूहरूलाई इजलासमा प्रवेश नदिएको भन्दै जाहेरीकर्ता पीडितहरूले विरोध जनाएका छन् ।

रास्वपाका नेता–कार्यकर्ता र कानुन व्यवसायीलाई अदालत प्रवेश दिएको तर जाहेरीकर्ता पीडितलाई प्रवेश नदिएको भन्दै सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ केहीबेर अदालत गेटमै सुतेका थिए ।

थुनछेक बहस सुरु हुनअघि अदालत परिसरमा आए पनि आफूहरूलाई प्रवेश नदिएपछि विरोधस्वरुप गेटमै सुतेको श्रेष्ठले बताए । श्रेष्ठ सुतेपछि अन्य पीडितहरू धर्नामा बसेका थिए ।

त्यसपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएर कोमागाने पार्क पुर्‍याएको थियो । त्यहीबेला रास्वपा समर्थित अनुराधा श्रेष्ठको नेतृत्वमा रास्वपा कार्यकर्तासहितको टोली नेपाली कांग्रेस कास्की कार्यालयमा पुगेको थियो ।

त्यहाँ पार्टी प्रशिक्षण दिइरहेका कांग्रेस महामन्त्री गगन थापासँग सहकारी ठगीमा रविको प्रमाण माग्न भन्दै उनीहरू त्यहाँ पुगेका थिए । यो जानकारी पाएपछि अन्य सहकारी पीडित पनि कांग्रेस पार्टी कार्यालय पुगे । दुवैपक्ष वाद प्रतिवादमा उत्रिएपछि केहीबेर स्थिति असामान्य बनेको थियो । तर, प्रहरीले दुवै पक्षलाई कार्यालयबाट बाहिर निकालेपछि स्थिति थप तनावपूर्ण बन्न पाएन ।

जोशीको थुनछेक बहस जारी
सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरूमध्ये अहिले पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीको थुनछेक बहस चलिरहेको छ । न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस भइरहेको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि, छविलाल, लिला पछाईँसहित जीवीका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, सञ्चालक कृष्णबहादुर गुरुङको थुनछेक बहस भइरहेको छ ।

रवि लामिछानेमाथि सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको थियो ।

रवि संलग्न रहेको गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट पाँच करोड र अन्य सहकारीबाट गरेर ६५ करोड रूपैयाँ गएको देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

रविसहित ६३ जनालाई विपक्षी बनाइएकोमा एकमुष्ठ एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गर्दै पुस ५ र ७ गते कास्की जिल्ला अदालतमा अभियोजन पत्र दर्ता भएको हो ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?