
२३ पुस, काठमाडौं । ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टर चलाएको गिरोहले विभिन्न सात वटा देशहरूमा अवैध धन्दा चलाउने गरेको खुलेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार राति छापा मारेर ५३ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा यो गिरोहले अरु सात देशहरूमा पनि यस्तै प्रकृतिको अवैध धन्दा चलाएको खुलेको हो ।
सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार यो गिरोहले यससअघि अन्य सात देशमा समेत यस्तै धन्दा चलाएको र सातदोबाटोमा पनि विगत ९ महिनादेखि कल सेन्टर खोलेर अवैध गतिविधि गरेको छ ।
सातदोबाटोस्थित सुरेन्द्र गोपाल श्रेष्ठको चौथो तलाको घर भाडामा लिएर उनीहरूले विगत ९ महिनादेखि प्रोलिंक टिच सोलुसनको कम्पनीको नाममा कानून विपरितका कामहरू गरेको खुलेको छ । अनलाइन जागिर भन्दै नेपाली युवायुवतीलाई समेत प्रयोग गरेर अवैध सट्टेबाजी गर्ने गराउनेदेखि क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
सीआईबीले छापा मारेर २ भारतीयसहित ५३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये सात जना मुख्य योजनाकार भन्दै उनीहरुविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेका मध्ये अहिले सात जनालाई मात्रै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । जसमा टिम लिडर समेत रहेका भारतीय नागरिक मनिसकुमार झा, टे«निङ म्यानेजर भारतीय नागरिक राहुल मेगोडा, एचआर म्यानेजर आखलढुंगाका मोनी दाहाल, सिन्धुपाल्चोकका सुस्मिता नेपाली, झापाका रोशन बस्नेत, काठमाडौंका आदित्यकुमार सिंह र काभ्रेका सलिन श्रेष्ठ छन् ।
बाँकीलाई भने बोलाएको समयमा उपस्थित हुनेगरी हिरासत बाहिर राखेर अनुसन्धान गरिएको एसपी बोगटीले बताए ।
प्रतिक्रिया 4