+
+

हाकिमसित जागिर छाड्छु भन्न नसक्दा युवकले काटे आफ्नै औंला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १३:०१

कुनै कुरा अस्वीकार गर्ने वा नो भन्ने कार्य निकै सजिलो लाग्न सक्छ। तर, केही व्यक्तिका लागि भने यस्तो शब्द बोल्ने कुरा जीवनभर आफैंलाई कष्ट दिनेभन्दा कठिन बन्दछ । छिमेकी मुलुक भारतको गुजरातका एक व्यक्तिले आफ्नो जागिर छोड्ने कुरा आफ्नो मालिकलाई भन्न डराउँदा आफ्नै बायाँ हातका चार औंला काटेका छन् ।

मेयर तरपारा नामका ती युवकले हालै आफ्नो जन्म सहर सुरतस्थित प्रहरी कार्यालयमा उपस्थित भएर आफ्नो बायाँ हातका चार औंला हराएको भन्दै अनौठो उजुरी गरे। साथीको घर जाँदै गर्दा मोटरसाइकल चलाइरहेका बेला अचानक चक्कर लागेर सडक छेउमा लडेको र करिब १० मिनेटपछि होसमा आउँदा आफ्नो बायाँ हातका चारवटा औंला काटिएको अवस्थामा पाएको उनको दाबी थियो।

प्रारम्भमा, प्रहरीले उनका औंलाहरु कालो जादुको अनुष्ठानका लागि चोरिएको हुन सक्ने अनुमान गर्‍यो। तर, अनुसन्धानको क्रममा ती युवकको कथा अर्कै भएको खुलासा भयो। अनुसन्धानकर्ताहरूले पीडितले बेहोश भएको दाबी गरेको क्षेत्रमा रहेको सीसीटीभी फुटेज जाँच्न थाले, साथै प्रत्यक्षदर्शीहरूसँग पनि सोधपुछ गरे। त्यसक्रममा धेरै गडबडी देखियो।

मेयर तरपाराले आफ्नो मोटरसाइकल रिङरोड नजिक पार्क गरेर आरामपूर्वक हिंड्दै गएको र घाइते बायाँ हात लिएर फर्किएको देखियो। साथै, कसैले पनि उनलाई सडक छेउमा बेहोस अवस्थामा देखेको थिएन।

त्यसपछि प्रहरीले ती युवासँग कडाइपूर्वक केरकार गरेपछि उनले आफैले आफ्ना औंला काटेको स्वीकार गरे।

उनले नजिकको पसलबाट एउटा धारिलो चक्कु किनेर रातको करिब १० बजेतिर सोही चक्कुले आफ्नो बायाँ हातका चारवटा औंला काटेर त्यसबाट हुने रक्तश्राव रोक्नका लागि डोरीले बाँधेको अनुसन्धानले देखाएको छ । उनले चक्कु तथा काटिएका औंला पनि झोलामा राखेको बताएका छन् । प्रहरीले काटिएका औंला तथा चक्कु राखेको उनको झोला समेत बरामद गरेको छ।

आफ्ना आफन्तको हिराको कम्पनीमा काम गर्न नपरोस् भनेर आफूले उक्त कदम उठाएको मेयर तरपाराले अनुसन्धानकर्ता समक्ष बताएका छन् । हातका औंला नै नभएपछि स्वतः जागिरबाट निकाल्छन् र उक्त कम्पनीमा काम गर्नु पर्दैन भनेर उनले त्यस्तो आत्मघाती कदम चालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?